Comments Add Comment

केएफसी र पिज्जा हट तत्काल सञ्चालन गर्न महासंघको आग्रह

५ जेठ, काठमाडौं । मजदूर समस्या देखाउँदै बन्द गरिएको केएफसी रेष्टुरेन्ट र पिज्जा हट तत्काल सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघले देवयानी इन्टरनेशनल नेपाललाई आग्रह गरेको छ ।

देवयानी इन्टरनेशनलले श्रम समस्याको कारण देखाउँदै वैशाख ३० गतेदेखि केएफसी रेष्टुरेन्ट र पिज्जा हट बन्द गरेको छ । कम्पनीले दरबारमार्गमा केएफसी र पिज्जा हट, ब्लूवर्ड मलमा पिएचडी र केएफसी रेष्टुरेन्ट बन्द गरेको हो ।

KFC बहुराष्ट्रिय कम्पनीको शतप्रतिशत लगानीमा सञ्चालित रेष्टुरेन्टहरु आकस्मिक रुपमा बन्द गरिएकोप्रति महासंघले चिन्ता व्यक्त गरेको छ । विनाशकारी भूकम्प र त्यसपश्चात आइरहको ठूला-ठूला पराकम्पनका कारण मुलुक असहज एवं कठिन परिस्थितीमा गुज्रिरहेका बेलामा देवयानीले इन्टरनेशनलले गरेको हठात निर्णय गलत भएको महासंघको ठहर छ ।

भूकम्पले मुलुकको पर्यटन व्यवसायमा प्रतिकुल परिस्थिती सिर्जना भइरहेको बेलामा केएफसी र पिज्जा हटजस्ता अन्तर्राष्ट्रिय स्तरका रेष्टुरेन्टहरु बन्द गरिँदा विश्वभर नेपालको बारेमा थप नकरात्मक सन्देश प्रवाह हुने महासंघको गुनासो छ ।

‘असहज र विषम परिस्थितीमा सबै उद्योग व्यवसाय निर्वाध सञ्चालन गरी सेवा पुर्‍याउनुपर्छ भन्ने हाम्रो मान्यता हो’ महासंघद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको- ‘हामी अत्यावश्य सेवा लगायत जनजीवनमा प्रभाव पार्ने सबै सेवाहरु निर्वाध सुचारु गर्न आहृवान गर्छौ ।’

यस्तो बेलामा व्यवसाय सुचारु गरेर सहयोग गर्नुपर्ने धारणा महासंघको छ । केएफसी र पिज्जा हट बन्द गरिनुको कारण श्रम समस्यामात्र देखाइएपनि विपतको बेलामा देवयानी इन्टरनेशनल भाग्न खोजेको बुझिएको छ ।

होटल रेष्टुराँ सेवामुलक व्यवसाय भएको हुँदा संकटको बेलामा आपसी समझदारी, संयम र सुझवुझका साथ अत्यन्त व्यवहारिक भएर काम गर्नुपर्ने महासंघको भनाई छ । ‘भूकम्पका कारण क्षति पुगेको पर्यटनमा थप क्षति हुने गतिविधि कहीँकतैबाट नहोस भन्ने कुरामा महासंघ अत्यन्त संवेदनशील छ’ विज्ञप्तीमा भनिएको छ ।

महासंघले मुलुकको विद्यमान अवस्था, पर्यटन उद्योगको संवेदनशीलतालाई मनन गरी समस्याहरु तत्काल वार्ता र छलफलका माध्यमबाट टुंगोमा पुर्‍याई सबै रेष्टुरेन्ट सञ्चालन गर्न देवयानी इन्टरनेशनल र सम्बन्धित ट्रेड युनियनहरुसँग आग्रह गरेको छ ।

आवश्यकता परेमा मध्यस्थताको भूमिका निर्वाह गर्न तयार रहेको विश्वास दिलाउँदै महासंघले यो समस्या समधान गर्नका लागि आवश्यक सहयोग गर्न नेपाल सरकारलाई समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment