Comments Add Comment

स्कुलमा मोबाइल फोन बन्देजः यसकारण अनिवार्य

mobile phoneविद्यार्थीहरुलाई स्कुलमा मोबाइल फोन बोक्न दिनु वा नदिनु कुन उपयुक्त होला ? धेरैको मत हुन्छ दिनु हुँदैन भन्ने । किशोरावस्थाका विद्यार्थीहरुलाई विद्यालयमै मोबाइल फोन बोक्न दिँदा उनीहरुको ध्यान पढाइप्रति भन्दा पनि मोबाइलप्रति नै केन्दि्रत हुने र फोन र इन्टरनेटमार्फत गलत क्रियाकलापतर्फ समेत लाग्ने भय अभिभावक तथा शिक्षकहरुमा रहने गरेको छ । धेरैको अनुभवले पनि यो देखाएकै हो । तर पछिल्लो पटक यस विषयमा एक अनुसन्धान नै भएको छ र उक्त अनुसन्धानले मोबाइल फोनलाई स्कुलमा किन प्रतिबन्ध लगाउनुपर्छ ? भन्ने कुराको दहि्रलो तर्क पेश गरेको छ ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सास र लुसियाना स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार विद्यार्थीहरुलाई स्कुलमा मोबाइल फोन बोक्नमा प्रतिबन्ध लगाउनु भनेको वर्षमा थप ५ दिन पढाइ हुनु सरह हो । अर्थात् विद्यार्थीहरुले स्कुलमा मोबाइल फोन चलाउँदा एक शैक्षिक सत्रमा पूरै ५ दिन मोबाइल फोनमा बिताउने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार स्कुलमा विद्यार्थीलाई मोबाइल फोन बोक्न दिनु भनेको उनीहरुको ध्यान भंग गराउनु तथा पढाइमा अवरोध पूराउनु हो ।

स्कुलमा मोबाइल फोनमा प्रतिबन्ध लगाउँदा विद्यार्थीहरुको परीक्षाफलमा पनि सुधार हुने गरेको शोधकर्ताहरुको निष्कर्ष रहेको छ ।

नयाँ प्रविधिले व्यक्तिको उत्पादकत्व तथा कार्यसम्पादनस्तरमा वृद्धि गर्ने सामान्य सोँचाइ हुने गरेको भएपनि सबै अवस्थामा त्यस्तो नहुने शोधकर्ता रिचार्ड मर्फी बताउँछन् ।

उनका अनुसार जब प्रविधिहरु बहुउद्धेश्यीय हुन्छन्, जस्तै मोबाइल फोन, तब ती ध्यान भंग गर्ने तथा अवरोध सिर्जना गर्ने खालका हुन्छन् ।

शोधकर्ताहरुले बेलायतका मुख्य चार सहरका ९१ वटा स्कुलमा अध्ययन गरेका हुन् । मोबाइल फोनको प्रयोग सम्बन्धि कडा नियम लागु गर्नु अघि र पछि विद्यार्थीमा परेको प्रभावका विषयमा विश्लेषण गरिएको थियो ।

सन् २००१ देखि २०१३ सम्म गरिएको अध्ययनका क्रममा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउँदा विद्यार्थीहरुको परीक्षाको अंकमा औषतमा ६.४१ प्रतिशतले वृद्धि भएको पाइयो ।

मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउँदा विद्यार्थीहरुले माध्यमिक तहको परीक्षा उत्तीर्ण गर्ने सम्भावना २ प्रतिशतले बढ्ने गरेको देखिएको छ ।

शोधकर्ताहरुका अनुसार विद्यार्थीहरुलाई स्कुलमा मोबाइल फोनमा बन्देज लगाउँदा हरेक हप्तामा उनीहरुको पढाइ समय झण्डै एक घण्टाले बढ्दछ । त्यस अनुसार उनीहरुले वर्षमा थप ५ दिन पढ्ने समय बँचाउन सक्छन् । स्कुलहरुले विद्यार्थीहरुलाई मोबाइल फोनमा बन्देज लगाउनु भनेको हरेक शैक्षिक सत्रमा थप पाँच दिन कक्षा संचालन गर्नु सरह रहेको शोधकर्ता बताउँछन् ।

यद्यपि मोबाइल फोनमा लगाइने प्रतिबन्ध उच्च क्षमतायुक्त विद्यार्थीका लागि भने खासै अर्थपूर्ण नहुने देखिएको छ । कक्षामा पढाइमा अब्बल दर्जाका विद्यार्थीहरुमा आत्मसंयम् बढि हुने र उनीहरुले मोबाइलफोन आफै पनि बढि नखेलाउने हुँदा प्रतिबन्धले उनीहरुमा कुनै प्रभाव नपार्ने शोधकर्ताहरु बताउँछन् । तर मध्यम तथा न्युन स्तरको पढाइ तथा सिकाइ क्षमता भएका विद्यार्थीहरुका लागि भने मोबाइलमा गरिने बन्देज निकै अर्थपूर्ण हुने र यसले उनीहरुको सिकाइ तथा बुझाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

स्मरण रहोस् सन् २०१२ कै तथ्यांक अनुसार बेलायतका ९० प्रतिशत भन्दा बढि किशोर किशोरीहरुसँग मोबाइल फोन रहेको छ । त्यस्तै ७३ प्रतिशत अमेरिकी किशोर किशोरीहरु मोबाइल फोन बोक्दछन् । -डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment