Comments Add Comment

अब आँशु होइन पसीना बगाउने कुरा गरौं

मात्रिका पौडेल

हामी नुवाकोटको विकट थप्रेक गाउँ पुग्दा त्यहाँका बासिन्दा मकै गोड्ने मेलो छाडेर कुनै संस्थाले सडक पुग्ने डाँडासम्म ल्याइदिएको एक बोरा चामल वा चाउचाउ लिन बिहानैदेखि ढुकेर बसेका थिए । भत्किएका घरका भग्नावशेष खोतल्दा खोतल्दै सित्तैमा एक बोरा चामल पाइन्छ भने किन छाड्ने भनेर धेरै स्थानीय त्यहाँ पुगेको पाइयो ।

Matrika-Poudelभूकम्पले विनाशलीला मच्चाउन थालेको करीव एक महिना पुग्न लाग्दा गाउँ गाउँमा राहत सामाग्री बोकेर भिन्नि संघ,संस्था र व्यक्तिहरु जाने क्रम बाक्लिएको छ ।

एक बोरा चामलका लागि मान्छेहरु खेतबारीको मेलो छाडेर राहत वितरण केन्द्रसम्म पुग्ने गरेका छन् । यसले उनीहरुलाई परनिर्भर बनाउने चिन्ता पनि छाउन थालेको छ ।

एक बोरा चामल कि एक मुरी धान ?

अब सबैका पहल भूकम्प पीडित जनतालाई पूर्ववत जीवनमा फर्काउने र साहस भर्नेतर्फ केन्द्रित हुन जरुरी देखिएको छ । एक बोरा चामलका लागि आशे बनाउने भन्दा एक मूरी चामलको धान फलाउने काममा फर्काउनु पर्नेछ । भूकम्पबाट घरबार ध्वस्त भएको र केही सोच्न नसकेका बेला एक बोरा चामल र एउटा त्रिपालले अवश्य पनि ठूलो राहत दिनेथियो ।

तर, अब त्रिपाल होइन जस्तापाता र बाँसका मान्द्राको जोरजाम गर्नतर्फ उनीहरुलाई अभिप्रेरित गर्नुपर्ने देखिन्छ भने सित्तैमा पाइने एक बोरा चामल लिन धाउनुको साटो गरीखाने पाखुरालाई आफ्नै खेत खलियानमा लगाउन आवश्यक देखिएको छ ।

पाखामा पसीना बगाउँ

यसबीचमा नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ध्वस्त बस्तीहरुमा पुगेर त्यहाँका पीडितसँग प्रत्यक्ष अन्तरक्रिया गरेपछि मैले निष्कर्ष निकालेँ-अब पीडितलाई आस होइन, साहस दिन जरुरी छ ।

नेपालीको पहिचान जस्तासुकै विपत्ति र कठिनाइहरुलाई पनि सामना गर्दै पसीना बगाएर दुई छाक खाने नै हो । अब बिस्तारै पीडाको घाउमा मल्हमपट्टी लगाउँदै पाखा पखेरामा पसीना बगाउन प्रेरित गर्नु राज्य र स्वयंसेवी संस्था तथा व्यक्तिहरुको दायित्व हो ।

घर खोतल्ने कि सुर्का खोस्रिने ?

Nuwakot

भूकम्पले घर भत्काए पनि नेपालीपन भत्काएका छैन । घरले अन्नपात पुरे पनि खेतबारीमा लगाइएको बाली बाँकी छ । हजारौं जन आफ्नै आँखा अगाडि ढले पनि आत्मविश्वास ढलेको छैन । भत्किएका घर फेरि नयाँ ढंगले बनाउन प्रेरित गर्नु परेको छ ।

पूरिएको अन्न खोतल्न होइन नयाँ अन्न उत्पादनका लागि आफ्नै सुर्कासुर्की खोस्रिनु परेको छ । मर्ने त मरिहाले, बाँच्नेहरुको लागि जिउनु परेको छ । यसका लागि अब पीडितका आँगनमा राहत र साहससँगै लैजानु उपयुक्त हुनेछ ।

गाउँबस्तिनै सखाप भएका र पहिरोमा पुरिएका बाहेक अन्य गाउँहरुमा घर भत्किए पनि मान्छेहरु गोठ हालेर बस्न थालि सकेका छन् । घरभित्रको अन्न पुरिए पनि खेतबारीमा जौ, गहुँ र वा पाकिसकेका छन् । आलु खन्ने बेला भएका छन् । कतिपय फाँटहरुमा वर्षे धान लहलहाएका छन् भने साता पन्ध्र दिनमा मकै भाँच्ने बेला हुन्छन् ।

अन्न पाकिसक्यो चिन्ता नगरौं

ganhu bali-bhaktpur

वास्तवमा निर्वाहमूखी कृषि प्रणालीको फाइदा अहिले देखियो-खानै नपाएर भूकम्प पीडितहरु मरिहाल्ने अवस्था छैन । हरेकका खेतबारीमा केही न केही अन्न बाली लगाइएको छ । कतिपय अब पाक्ने बेला भएका छन् भने कतिपय केही महिनाभित्र पाक्छन् ।

अहिले राज्यसँग रहेको र बाह्य सहयोगमा प्राप्त भएको खाद्यान्नलाई व्यवस्थित ढंगले अति आवश्यक परिवारलाई मात्र बाँड्ने हो भने भूकम्प प्रभावित जिल्लामा भोकमरी हुने छैन । निर्वाहमुखी कृषि र पशुपालनको फाइदा नै भन्नुपर्छ आज घर भत्किए पनि धेरैका भैँसी र गाई बाँध्ने गोठ भत्किएका छैनन् ।

राहत बाध्यता कि अधिकार ?

ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाको एउटा भनाइ निकै मर्मश्पर्शी छ । उनी भन्छन्-सित्तैमा खान बस्न पाइन्छ भनेपछि काम छाडेर मान्छेहरु राहतको पछि दौडिने खतरा छ । यसले गरीखाने आत्मनिर्भर मान्छेहरुलाई परनिर्भर बनाउने खतरा छ ।

(सिडियो सा’बको प्रश्न : घर नभत्केकालाई राज्यले कति दिन पाल्ने ?)

वास्तवमै राहतलाई बिपत्तिको बाध्यता भन्दा पनि अधिकार बनाउन थालियो भने त्यो खतरनाक हुन सक्छ । कतिपय गाउँमा मैलेनै देखेको छु, राहतमा पाएको त्रिपालले गाईगोठ र घाँस छोपेर राखिएको छ । पहुँच हुनेले जति सक्यो, त्यति लिने लहडले गर्दा पहुँच नहुने र आवाजविहीनहरु पीडित छन् । यसरी त ३ करोड त्रिपाल बाँडे पनि पुग्दैन ।

सरकारले दिएको जति पनि खाने ?

Rice

कतिपय गाउँ ठाउँमा घर सग्लो रहेका र कुनै क्षति नभोगेकाहरु पनि राहतको लागि पाखुरा सुर्किन थालेका छन् । मैले मेरै आँखा अगाडि रामेछापको एउटा गाउँ यस्तो दृष्य पनि देखियो । एकजना सज्जन जसको कुनै क्षति भएको छैन, उनी नै सबैभन्दा अग्रपंक्तिमा उफ्रिँदै थिए-सरकारले पठाएको राहत हो, सबैले बाँडेर खानुपर्छ, लौ त हामीलाई नदिई लैजाऊ त ?

यस्ता धेरै दृष्य पनि देखिए, जहाँ घरबार, अन्नपात र परिवारका सदस्य गुमाउनेहरु राहतका लागि जानै नसक्ने वा नपाउने तर केही नगुमाएकाहरुले राहतको खात लगाएर घरमा सुतेका छन् । बोल्नेको पीठो बिक्ने र पाखुरा सुर्किनेले भण्डारबाट झिक्ने हाम्रो जस्तो समाजमा वास्तविक पीडितले राहत पाएनन् भनेर सरकार वा दलहरुलाई गालि गर्नुको पनि कुनै अर्थ छैन ।

अनिकाल लाग्नेको लगत निकालौं

त्यसैले अब हरेक गाउँका खानै नपुग्ने र नसक्नेहरुको लगत गाविस सचिवमार्फत लिएर तिनीहरु आफैंले पाउने गरी खाद्यान्न लगायतका सहयोग दिने र जसलाई खानको समस्या छैन, त्यस्तालाई घर पुर्निर्माणमा सघाउने नीति चाहियो । भत्किएका घरहरु बनाउने र खेतबारीमा फर्काउने कार्यक्रम लिएर राजनीतिक दल तथा गैरसरकारी संघ संस्थाहरु जानुपर्‍यो ।

जुन जुन गाउँ बस्तीहरु बस्न अयोग्य भएका छन्, ती बस्तिका जनताको इच्छा र चाहना अनुसार पुनर्वासको व्यवस्था गर्न अत्यन्त जरुरी छ । एउटा सामाजिक संरचनाभित्र पुस्तौंदेखि बसेका मान्छेलाई उनीहरुको इच्छा विपरीत अन्यत्र लाने कुरा वैज्ञानिक हुँदैन ।

सकेसम्म त्यहीँ गाविस वा छिमेकका समान सामाजिक संरचना र आफन्तहरु भएका ठाउँमा व्यवस्था गर्नुपर्छ । त्यो पनि सम्भव नभएमात्र तेस्रो स्थानमा लैजाने विकल्प उपयुक्त हुन सक्छ । अब भूकम्पको पीडालाई भूल्दै पीडितहरुलाई आश होइन साहस भरौं । हात जोड्ने होइन, पाखुरी बजार्ने हिम्मत भरौं । आँशु होइन पसीना बगाउने कुरामात्र गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment