Comments Add Comment

घर खोस्रेर जिउँदै मान्छे निकाल्दा यस्तो देखियो

लक्ष्मणबहादुर बस्नेत, सशस्त्र प्रहरी इन्स्पेक्टर

भूकम्प गएको दिन साँझबाट नै हामी उद्धारमा खटिएका थियौं । गोंगबुको होटल हिलटन, न्यू स्टार गेष्ट हाउस, भुमेश्वरी अर्जुन पाहुनाघरसति चारवटा गेष्ट हाउस थिए । तीनवटा सात/ सात तलाका भवन भत्किएका थिए ।

Laxman Bahadur Basnet AFP

  • उद्धारमा सक्रिय लक्ष्मणबहादुर बस्नेत

जोस केसीको उद्धार

एउटाको तल्लो तलामा सपिङ कम्प्लेक्स रहेछ । मलाई लाग्छ त्यो भुमेश्वरीको भवन हुनुपर्छ । त्यसको तल्लो तलामा मानिस रहेको आशंका भएपछि हामी तत्कालै खटियौं । हामीले रातभरि ढलान काट्यौं । राति एप्रोच केही हदसम्म भयो । पानी परेको थियो । भोलिपल्ट म ६ बजे छिरेँ । त्योभित्र पुगेपछि मैले व्यक्तिको अनुहार देखेँ । ठाउँ एकदमै साँघुरो थियो । एकातिर शौचालयको भित्ता थियो भने अर्कोतिर भर्‍याङ झरेको थियो । बीचमा प्लाइसहित भाँचिएको थियो ।

त्यो ठाउँ निकै साँघुरो भएकाले म क्रल गर्दै त्यहाँसम्म पुगेँ । मैले पानीको बोतल उनी भए ठाउँमा पुर्‍याएँ । उनले जाडो भइरहेको छ भने । अर्को भत्किएको घरमा खसेको टाबेल पुर्‍याएँ । उनको खुट्टा पुरिएको अवस्था थियो । मैले दुबै खुट्टा र हातका औंलाहरु चलाउनुस् भने । उनले चल्छ भने । तर, खुट्टामा धेरै दुःखाइ भइरहेको छ । सक्नुहुन्छ, झिक्नुस् । होइन भने खुट्टा काटेर भए पनि बचाउनुस् भने । मैले तपाई आत्तिनु पर्दैन, हामी केहीछिनमा नै निकाल्छौं भनें ।

तर, समस्या के थियो भने हामीले केही बाधाहरु काट्दा भत्किएर झर्ने खतरा थियो । बिहान दुई/तीन काम गरिसकेका थियौं । म उल्टो क्रल गरेर पछाडि आइरहेको बेला एक्कासी पछाडिबाट स्याबास भाइ, ल राम्रो भनेर ढाडमा हान्यो । को रहेछ भनेर हेरेको आईजी साप हुनुहुँदोरहेछ । उहाँ सात तलामुनि आउनुभएको रहेछ ।

म लगभग साढे ३/४ बजेसम्म लागें । छोपिएको भाग देखिसकेको थियो । तर, क्रसिङ सिन्ड्रम देखियो । मैले औंला चलाउन भनेँ । तर, चलेन । तत्काल उपचार आवश्यक देखेपछि टर्किस टीमलाई सहयोग मागेँ । त्यहीँ रहेको चिनियाँ टीमले पनि काम गरिरहेको थियो । त्यो उद्धार रात झण्डै साढे २ बजेमात्र सम्भव भयो ।

ऋषि खनालको उद्धार

Reeshi-khenal-Resque-after-Earth-Quake.

हामी सयपत्री गेष्ट हाउसमा पुग्दा त्यहाँ एउटा फ्रान्सेली टीम पनि थियो । हामीले आवाज दिँदा अंग्रेजीमा बोल्दा लिसन्, लिसन, लिसन् इफ यू क्यान हियर मी कल आउट फर हेल्प अर नक्ड फाइभ टाइम्स अन सोलिड भन्छौं । नेपालीमा सुन्नुस्, सुन्नुस्, सुन्नुस्, हामी उद्धारकर्मी हौं । यदि मेरो आवाज सुन्नुहुन्छ भने सहयोगका लागि आवाज दिनुस्, सन्नुहुन्न भने पाँच पटक ढकढक्याउनुस् भन्छौं । यो भवनको चारै कुनामा बसेर भन्छौं ।

हामीले सपयत्रीमा काम गर्दा पनि पटक-पटक पराकम्पन आएको थियो । तर, हेवी इकुपमेन्ट चलाएकोले हो भन्थेँ ।

हामीले त्यसो भन्दा आवाज आएन । तर, ढकढक गरेको आवाज सुन्यौं । फ्रान्सेली टीमसँग भएको प्रविधिले पनि लाइभ भिक्टिम हुन सक्ने देखायो ।

गेष्ट हाउसका मालिक पनि आउनुभएको थियो । उहाँले दोस्रो तलामा ९ बेड भएको रुम छ, त्यहाँ मानिसहरु थिए भन्नुभयो । त्यो सात तलाको भवन थियो । मैले तत्काल नक्सा बनाएँ । हामी अर्को घरबाट पाँचौं तलामा गयौं । अन्तिममा तेस्रो तलाको झ्याल काटेर छिर्‍यौं । ग्राउण्डमा नक गर्दा नजिकै ढकढक आवाज आयो । हामीले हामी अब यहाँ उद्धार गर्दैछौं । इकुपमेन्टहरु प्रयोग गर्छौ, सर्न सक्नुहुन्छ भने अलिकति सर्नुस् भन्यौं ।

हामीले त्यसको नजिकै ढलान काट्यौं । दिउँसो पीडित भएको ठाउँमा पुर्‍यौं । बीम झरेको थियो । भित्ता भत्किएर शरीरमाथि परेको थियो । एउटा हात भने खुला थियो । एउटा खुट्टा च्यापिएको थियो । खाटको प्लाइले थिचेको रहेछ । ढुंगा भत्किएर त्यही माथि थियो । हामीले त्यो ढुंगा झिक्न नसक्ने भएपछि नजिकै फेरि काट्यौं । त्यसबेलासम्ममा हामीले उनलाई पानी दिइरहेका थियौं ।

हामीले उनको शरीरमाथि रहेको ठूलो ढुंगा झिक्यौं । डाक्टरहरु बोलायौं र अक्सिजन दियौं । हामीले बाहिर ल्याउँदा साढे १० बजिसकेको रहेछ । सबै टीम गएपछि हामी फेरि भित्र गयौं, जहाँबाट ऋषि खनाललाई उद्धार गरिएको थियो, त्यसको नजिकै दुई शव निकाल्यौं ।

पेम्बा लामाको उद्धार

Pemba Lama Rescue at earthquake on 6th day (7)

भत्किएका भवनहरु प्यानकेक भएकाले १६ गतेदेखि नै हिल्टर एरियामा डोजर लागिरहेको थियो । १७ गते अन्तिम डोजर रोकेर सर्च गरेका थियौं । हामीले त्यहाँ पनि हेलिङ मेथर्ड प्रयोग गर्‍यौं । त्यही क्रममा दाइ मलाई बचाउनुस् भन्ने आवाज आयो । खोज्ने क्रममा ग्राउण्ड फ्लोरबाट आएको जस्तो लाग्यो । हामीले त्यहाँ खोस्रिनुपर्ने भयो । त्यस क्रममा तलबाट अवाज आयो ।

त्यहाँ मोटरसाइकलको अगाडिको भाग किचिएको थियो । त्यहाँ काटेर बिम र मोटरसाइलको बीचबाट सानो प्वाल बन्यो र हामी भित्र गयौं । म भित्र पस्ने क्रममा हेलमेट लगाउन मिलेन र फुकालेर गएँ । त्यहाँ भएका सबैले सुरक्षामा ध्यान दिनुस् भन्नुभयो । तर, लगाउन सक्ने अवस्था थिएन । म टाउको घिसारेर उत्तानो परेर, घिस्रिएर भित्र गएँ । कुहिना पनि टेक्न नमिल्ने अवस्था थियो । हातले क्रल गर्दै गएँ । सिसाहरु थिए । मैले पछाडि फालेँ र पछाडि रहेका साथीहरुले त्यसलाई बाहिर लगे ।

आवाज मोटरसाइकल भन्दा पछाडि थियो । काट्न सम्भव भएन । सटर त्यसमाथि खसेकोले मैले त्यसबेलासम्म पनि पेम्बालाई देखेको थिइँन । पछि लाइट लगेर अगाडि फालेपछि भित्र सानो, गोरो अनहार देखेँ । उनले दाइ भने ।

केहीले चेपेको छ भनेर सोधेँ । उसले छैन । तर, हातमा सानो चोट लागेको बतायो । मेरो टाउकोमाथि ठूलो ढुंगा झुण्डिरहेको छ भन्यो । ममाथि सटर थियो । पेम्बा सटरभन्दा भित्र स्ट्रक्चर कोल्याप्स भएको ठाउँमा रहेछ । उसको माथि सिलिङमा डिजाइन गरिएको आर्ट बिजुलीको तारमा झुण्डिरहेको रहेछ । हामीले सटरमा मुभमेन्ट गर्दा त्यो हल्लिँदोरहेछ र पेम्बा एकदमै डराउँदोरहेछ ।

घिस्रिएर पछाडि गएँ र पानी लगेर दिएँ । एकैचोटि धेरै पानी खाँदा चोकिङ भएर स्वास रोकिने र ज्यान जाने खतरा पनि हुन्छ । दुई तीन घुट्का पानी खाएपछि उसले वान्ता गर्‍यो । मलाई डर लाग्यो । उत्तानो परेर सुत्न भनें । केहीबेरमा ठीक भयो ।

मैले रेसिप्रोकेटिङले पछाडिको भाग काटें । हाइड्रोलिक ज्याक लगाएर सटर उचालेँ । सटरलाई पछाडि धकेलेँ । तर, केही झरेर लाग्ला भन्ने डर थियो । कारमा लगाउने हाइड्रोलिक ज्याक मगाएर मैले बाइक र सटरको बीचमा लगाएँ । तर, त्यसले मेरो बाटो नै छेक्यो । खुला देखिन्छ तर, बाहिर जान नसक्ने भएँ । त्यसपछि मैले थप हाइड्रोलिक ज्याक मगाएर दुबैलाई माथि उठाएँ ।

त्यसपछि म थोरै मात्र अगाडि बढेँ । तर, पेम्बा भएको ठाउँमा पुग्न सकिँन । उसलाई केही अगाडि आउन लगाएँ र कल्लरमा समाएर तानेँ । तर, उसको काटो हाइड्रोलिक ज्याकको बेसको नटमा पेम्बाको कान अडि्कयो । मलाई समस्या भयो । फेरि उसलाई पछाडि धकेलेँ । त्यसपछि मोटरसाइकलको पछाडि सामान अड्काउने डण्डी काट्नुपर्ने भयो । हेर्दै नहेरी एक हातले काट्दा समय लाग्यो । त्यसपछि मैले बिस्तारै तानेँ । त्यसबेला फस्न डर एकदमै थियो । हातहरु बाँउडियो । पानी मगाएर खाएँ ।

सटर काटेँ । कपडा मगाएर अघि कान अडि्कएको ठाउँमा राखेँ । ताकि फेरि तान्दा नअडि्कओस् । मेरो पछाडिबाट टीमको साथीले खुट्टा ताने र मैले त्यो बाबुलाई तानेँ । त्यसरी नै मैले बाहिर ल्याएँ ।

बाहिर ल्याउँदा उसको अनुहार एकदमै चेन्ज भयो । रुउँला जस्तो जस्तो गर्‍यो । मैलेभित्र झण्डै ५ घण्टा बिताएँछु, त्यसबेला उ बेलाबेला बेहोसजस्तै पनि हुन्थ्यो । मलाई पनि निकै गाह्रो भयो ।

भित्र गएको बेला फेरि भूकम्प आएको भए …

laxman basnet  (2)

रिक्स थियो । हामीले सपयत्रीमा काम गर्दा पनि पटक-पटक पराकम्पन आएको थियो । तर, हेवी इकुपमेन्ट चलाएकोले हो भन्थेँ । किनभने भूकम्पले कोल्याप्स भएको संरचनाहरु एकखालले सेट भएको हुन्छ र सामान्य कम्पनले तत्काल भत्किँदैन । बरु राम्रो देखिएको ढल्न सक्छ । ठूलो भूकम्प नै गयो भने त जे पनि हुन सक्छ । यो जोखिम त हामीले लिएका हुन्छौं ।

अर्को पछाडि मेरो टोली छ, यदि मलाई केही भइहाल्यो भने मलाई तुरुन्तै उद्धार गर्छ भने विश्वास हो । यो पटक उद्धारका क्रममा संगठन प्रमुख कोषराज वन्त सर आफैं आउनुभएको छ । ल, राम्रो गरेको छस् भनेर धाप मारेपछि टोलीको मनोवल पनि उच्च भएको छ ।

तालिमले पनि हाम्रो आत्मबल बढाएको छ । सशस्त्र प्रहरी बलले कुनैपनि विपदमा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । हामीलाई तालिम गर्दै विपदबारे जानकारी प्राप्त हुनासाथै सिघ्र परिचालित हुन सिकाइएको छ । म सशस्त्र प्रहरी बलमा विपदबारे प्रशिक्षण दिने प्रशिक्षक पनि हुँ ।

मैले मेरा सवै प्रशिक्षार्थीहरुलाई कुनैपनि प्रकृतिको विपद हुनासाथ भएका साधनश्रोतसहित छिटो परिचालित हुने संगठनको नीतिबारे प्रशिक्षण दिएको छु, यसैगरी आफ्नो सुरक्षालाई ध्यानमा राख्दै परिणाम प्राप्त हुने गरी उद्धारमा सक्रिय हुने कलाबारे सिकाएको पनि छु । हामीले सशस्त्र प्रहरी बलको तालिममै यी ज्ञान सिकिसेका छौं र हाम्रा शिक्षार्थीलाई सिकाएका पनि छौं ।

भूकम्पका बेला फिल्डमै गएर गरेको उद्धार भने यो पहिलो हो । र, यस उद्धारमा म मात्रै नभई सशस्त्र प्रहरी बलको सवैजसो जनशक्ति परिचालित रहेको छ । संगठनले हामीलाई लगानी मात्रै गरेन, हाम्रो क्षमता र मनोवल बढाउन स्वदेश तथा विदेशमा विभिन्न प्रकृतिको उन्नत तालिम, पुरस्कारको व्यवस्था गरेको छ । अन्य सुविधा र अवसरहरु पनि प्रसस्त छन् । यो विपदको वेला हामीले संगठनको त्यो लगानीको मूल्य चुकाउनुपर्ने पनि थियो, त्यसलाई मैले ज्यादै चुनौतीको रुपमा लिएको थिए ।

हाम्रो आत्मबल उच्च थियो । र, हामीलाई त पराकम्पन आएको नआएको भन्दा पनि हाम्रो बोस र टीम आएको मात्र थाहा हुन्छ ।

कस्ता घरमा बढी क्षति ?

मैले एनालाइसिस के गरेँ भने भ्यालीमा भएका जति पनि घरहरु पहिला मानिसहरुले आफ्नो आवासीय उद्देश्यका लागि बनाए होलान् एक दुई तला । या बिजनेश प्रपोजका लागि सामान्य बनायो, त्यसपछि आयस्रोत बढ्यो । सायद त्यो रेन्टहरु वा अन्य स्रोतबाट । जमीन छैन बाटोको छेउको जग्गा त्यो सायद तीन आना होस् या चार आना । छिमेकीको प्रतिस्पर्धामा गएर वर्षैपिच्छे तला थप्दै जाने, अनि हरेक तलामा ऊ सचेत हुने । तला थप्दा राम्रो मसला, नेपाली सिमन्ट, हाम्रो नेपाली रड हालेर बनाउनुपर्छ भनेर सोँच्ने तर पहिलो तला कहिले बनेको, कसले बनाएको, कस्तो सामाग्री प्रयोग गरिएको कस्तो स्ट्रक्चर थियो ? त्यो थाहा छैन ।

सातौं तला मजबुत छ, ढलान काट्न हामीलाई तीनघण्टा लागेको छ । पहिलो तला र दोस्रो तलामा गलले ड्वाङ ड्वाङ हान्दा भत्किएको छ । यो भनेको पहिला बनेका संरचनामा तला थप्दै जाँदा घरले चर्चेको जग्गा भन्दा तीन गुणा हाइट हुनुहुँदैन । जुनसुकै कुरा पनि ढल्छ । अब तीन आना जग्गा छ, ९ तलाको घर छ । त्यसमा पहिलो र दोस्रो तला बिजनेस का लागि कसले कसरी बनाएर बेचिदियो थाहा छैन ।

अब बस्नका लागि वा विजनेसका लागि भन्दै थपिदिएपछि स्थिति के हुन्छ ? त्यही भएर, पहिलो, दोस्रो, तेस्रो तला दबेको छ । माथिल्लो तलामा घरबेटी बस्छन् । भूकम्प आउँदा गुरुरु दौडिन्छन् । चिप्स प्रिन्ट, मार्वल सबैको लोड छ, ढलान गह्रौं छ । मात्र केही रडहरु हालिएको छ । त्यो त भ्वाक भ्वाक झरेर प्यासेजमै धेरैको मृत्यु भएको छ । त्यो हिसाबले हेर्दा माथिल्लो तलामा सचेततापूवर्क बस्नु भएको छ, उहाँहरु सुरक्षित हुनुभएको छ । तर, जो दौडेर पाँचौं तला, छैठौं तलाबाट कुद्दै हुनुहुन्छ, उहाँ पहिलो तलासम्म नआइपुग्दै बीचमा फस्नु भएको छ । र, ग्राउण्ड फ्लोर, जहाँ इमरजेन्सी एक्जिट छैन भने दौडेर जाँदा जाँदै घर भत्केको छ ।

ग्राउण्ड फ्लोर र फस्ट फ्लोरमा भएकाहरुको क्षतिको रेट हाइ देखिएको छ । कतिपय घटनाहरु त्यस्तै देखिएका छन्, बारम्बार पराकम्पन जाँदाखेरि छिरेका घटनाहरु छन् । कतिपय ठाउँमा बच्चा गयो भन्दै दौडिँदै माथि बच्चा छ, आमा वा बुवा बाहिर निस्किसकेको मान्छे, भुइँचालो आयो भनेर दौडेर बच्चा लिन जाँदाखेरि त्याहाँनेर खसेर ज्यान गएको छ । धेरैजसो केस एकदमै दुःखदायी छन् । साँघुरो गल्ली छ, निस्किँदा निस्किँदै गल्लीमा ।

न्यू स्टार र हिलटनको पछाडिपट्टकिो गल्लीमा त्यहाँनिर नैकाप-७ का घरधनी उद्धवप्रसाद गौतम भन्ने हुनुहुन्छ, त्यहाँ बस्ने ठाउँ छ, त्यहाँ फसेर मृत्युभएको छ । गल्लीमा भाग्न नसकेर धेरैजसो मान्छेहरु बरण्डाहरुमा फसेका छन् । ६/७ वटा शवहरु एउटै घरको बरण्डामा भेटिएको छ ।

समग्रमा भन्दा धेरै कुराहरुमा मिलेको छैन । निर्माणमा लोड भइहाल्यो । माथिल्लो तलामा जम्मा दुई हजार लिटर र एक हजार लिटरको ट्याङ्की राखिएको छ, तर त्यसलाई अड्याउने स्ल्याब चाँही झण्डै तीनटन, चार टनको बनाइएको छ । त्यो अनावश्यक बोझ माथिल्लो तलामा छ । काठमाडौ भ्यालीमा देखिएको पानीको ट्याङ्की ढलेको छ, त्यो ढलेर कतिलाई लाग्यो मलाई थाहा छैन । त्यहाँको स्ल्याबहरु भत्किएर माथिल्लो तलालाई ड्यामेज गरेको छ । तल्लो तलालाई केही भएको छैन । त्यसलाई नर्मल फलामको हलुका बारहरु बनाएर हलुका गरी राख्ने वा पानीलाई तल्लो तलामा स्टोरेज गर्नुपर्ने ठाउँमा जति हुन्छ, माथिल्लो तलालाई लोड दिँदा भवनहरुमा क्षति पुगेको छ ।

आफ्नो घर केही भएको छैन तर छिमेकीको घर ढल्केर आएको छ । ‘भी’ सेटहरु बनेको छ, उल्टो पनि र सुल्टो पनि । लगभग सबै भागहरु एकातिर त सबै झरर्र झरेको छ ।

(अनलाइनखबरका लागि राजकुमार श्रेष्ठसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment