Comments Add Comment

भूकम्पपछि ‘माउन्टेन फ्लाइट’ शून्य, विस्तारै सुधार आउने अपेक्षा

Simrik-Airlines

६ जेठ, काठमाडौं । नेपालका साहसिक गतिविधिहरुमध्ये माउन्टेन फ्लाइट सर्वाधिक आकर्षण बनेको थियो । दैनिक हजारौं विदेशी पर्यटक माउन्टेन फ्लाइट मार्फत सेताम्य गगनचुम्बी हिमालहरु हेरेर रमाउने गर्थे ।

दूर्भाग्य भन्नुपर्छ, वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि माउन्टेन फ्लाइट शून्यमा झरेको छ । दैनिक दर्जनको हाराहारीमा माउन्टेन फ्लाइट हुनुपर्नेमा २५ दिनको अवधिमा जम्मा ७ वटामात्र फ्लाइट भएका छन् ।

‘भूकम्पपछि पर्यटक नहुँदा माउन्टेन फ्लाइट बन्दजस्तै भएको छ’ सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले अनलाइनखबरसँग भने- ‘अहिलेसम्म सिम्रिकले ४ वटामात्र फ्लाइट गरेको छ ।’

पर्यटकीय सिजनको उत्तरार्ध मानिने यो बेलामा सिम्रिक, यति र बुद्ध एयरले दैनिक ३/४ वटासम्म माउन्टेन फ्लाइट हुनुपर्ने थियो । भूकम्पपछि अहिलेसम्म बुद्धले २, यतिले १ र सिम्रिकले ४ वटा माउन्टेन फ्लाइट गरेको बुद्ध एयरका बरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले बताए ।

सिजनमा यी एयरलाइन्सले दैनिक ७ वटासम्म माउन्टेन फ्लाइट गर्थे । दैनिक एउटा माउन्टेन फ्लाइट गराउँदै आएको सौर्य एयरको भने भूकम्पछि एउटा पनि माउन्टेन फ्लाइट नभएको कम्पनीका बिनोद गिरीले जानकारी दिए ।

माउन्टेन फ्लाइटका अधिकांश ग्राहक विदेशी पर्यटक हुने गर्छन् । माउन्टेन फ्लाइटमा जाने ८० प्रतिशत तेस्रो मुलुकका हुन्छन्, भने २० प्रतिशत भारतीय हुने गरेका छन्’ सिम्रिकका बजार प्रबन्धक थापाले भने- ‘नेपाली भने कहिलेकाहीँ फाट्टफुट्टमात्र आउने गर्छन् ।’

भूकम्पछि नेपाल भ्रमणमा आइसकेको पर्यटकले भ्रमण छोट्यार फर्किर्एका छन भने आउने तरखरमा रहेकाहरुले भ्रमण रद्द गरेका छन् । अहिले भूकम्प पीडितको उद्दार तथा राहतमा आउने विदेशी टोली र पत्रकार बाहेक भ्रमणमा आउनेहरु नगन्य मात्रामा छन् ।

Buddha-Air

भूकम्पले अहिलेको सिजनमात्र नभई सेप्टेम्बरबाट सुरु हुने सिजनलाई समेत प्रभावित बनाएको छ । सेप्टेम्बरका लागि बुक गरिएको होटलका रुम र हवाई टिकटहरु धमाधम रद्द भइरहेको व्यवसायी बताउँछन् ।

एयरलाइन्स कम्पनीहरुले सेप्टेम्बर महिनादेखि माउन्टेन फ्लाइटमा सुधार हुने विश्वास लिका छन् । तर, भूकम्पले पर्यटन क्षेत्रमा दीर्घकालिन असर पार्ने स्पष्ट देखिएको छ ।

माउन्टेन फ्लाइट लोकल एयरलाइन्स कम्पनीहरुका लागि राम्रो कमाई हुने ठाउँ हो । तर, पर्यटक नहुँदा यस वर्ष एयरलाइन्स कम्पनीको ठूलो आम्दानी गुम्ने निश्चित देखिएको छ ।

एक/डेढ घण्टाको माउन्टेन फ्लाइटमा एयरलाइन्स कम्पनीहरुले प्रतिव्यक्ति १० देखि १२ हजार रुपैयाँसम्म लिने गर्थे । अधिकांश फ्लाइटहरु फुल हुने गरेको व्यवसायी बताउँछन् ।

माउन्टेन फ्लाइटपछि सबैभन्दा बढी कमाई हुने पोखरा, लुक्ला, जोमसोममा हुने उडानमा हो । पर्यटक नभएपछि एयरलाइन्सहरुले यी ठाउँमा पनि उडान कटौती गरिसकेका छन् । पर्यटक बोकेर राम्रो कमाइ हुने गरेकोमा यस वर्ष त्यसबाट पनि बञ्चित हुनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment