Comments Add Comment

एमालेले जनतालाई छानो र मानो दिन्छ : ओली

Kp oli  (1)

७ जेठ, काठमाडौं । करीव ३२ डिग्री सेल्सियस तापक्रममा जस्तापाताको हलमुनि तरतरी पसीना चुहाउँदै एमाले अध्यक्ष केपी ओलीले सयौं कार्यकर्तालाई उत्साहित पार्दै भने-भूकम्प पीडित जनतालाई छानो र मानो एमालेले दिन्छ ।

भूकम्प अति प्रभावित १७ जिल्लाका ध्वस्त घर तथा स्कूलहरु निर्माणका लागि एमालेले तयार पारेका १० हजार तालिम प्राप्त स्वयंसेवकहरुलाई ओलीले पार्टीको तर्फबाट निर्देशन दिँदै थिए ।

उनले अबको एक महिना दिमागबाट राजनीति र संगठनको स्वार्थ हटाउन निर्देशन दिँदै ओलीले एमाले कार्यकर्तालाई भने-राजनीति त हामीले जितिसकेका छौं, अब एमालेले यो देश कसरी बनाउन सक्छ भनेर दुनियाँलाई देखाउनुछ । तपाईहरु जनतालाई छानो दिएर आउनुस् ।

ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा ओलीले प्रचार-प्रसार गर्दै सेल्फी खिच्न र फेसबुकमा फोटो राख्नका लागि मात्र एमालेका स्वयंसेवकले काम नगर्ने प्रष्ट पारे । ‘जनताको मनबाट त्रास हटाउनुस, छानो र मानोका लागि काम गर्नुस, प्रचार जनताले नै गर्छन्’ ओलीले भने ‘पहिलो प्राथमिकता भनेको खुला आकाशबाट जनतालाई छानोमुनि ल्याउने हो ।’

उनले एमालेका स्वयंसेवकलाई चिनियाँ जनमुक्ति सेनाजस्तै बहादुर र पौरखी हुन सुझाव दिए । ‘चिनियाँ सेनाले ठूला ठूला बाढीका बेला मानव साङ्लो बनाएर जनताको उद्दार गर्छन्, बाढी नै छेक्ने ताकत राख्छन्, तपाईहरु पनि त्यस्तै हुने कोशिस गर्नुस्’ ओलीले भने ‘तर वीरताका नाममा दुस्साहसी नबन्नुस् ।’

Kp oli  (2)

अध्यक्ष ओलीले आफू पनि स्वयंसेवी अभियानमा सामेल भइसकेको भन्दै देश बनाउने पार्टी एमाले हो भन्ने पुष्टि गर्ने चुनौती आएको बताए । ओलीले भने-‘जेठ १० गतेपछि देशले थाहा पाउनेछ, एमालेले मुलुक कसरी बनाउँछ भनेर ।’

उनले जनतामा भूकम्पपछि थुप्रिएको भय र त्रास हटाउने तथा बालवालिकाहरुलाई सहज वातावरण दिलाउने काममा पनि एमालेका स्वयंसेवक लाग्नुपर्ने बताए । ‘जनताका भत्केका घर पुननिर्माण गर्नेमात्र होइन, भत्किएका मनलाई ठीक ठाउँमा ल्याउने दायित्व पनि हाम्रो हो’-उनले भने ।

सोही कार्यक्रममा अध्यक्ष ओलीले एमालेका १० हजार स्वयंवेवकका लागि तयार पारिएको पोशाक, अस्थायी घर टहरा निर्माण गर्ने औजार र स्वास्थ्य सामाग्री स्वयंसेवकका संयोजक गोकर्ण विष्टलाई हस्तान्तरण गरेका थिए ।

ओलीले विष्टलाई घर टहरा निर्माण स्थलमा लगाइने हेलमेट लगाइदिँदै अबको एक महिना देश पुन:निर्माणमा लाग्न आग्रह गरे । एमालेका स्वयंसेवकहरु जेठ १० गते कार्यक्षेत्रमा प्रस्थान गर्ने सचिव योगेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment