Comments Add Comment

ट्रेकिङ लज भत्किएर के भो ? उतापट्टि बाँसको कटेरो छ !

-प्रचण्डमान श्रेष्ठ, पूर्व प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

नेपाली पर्यटन क्षेत्रका विज्ञ मानिन्छन् प्रचण्डमान श्रेष्ठ । यसपालिको भूकम्पले नेपालको पर्यटन व्यवसाय चौपट बनाएको बताइरहँदा श्रेष्ठले भने फेरि पर्यटन व्यवसाय फस्टाउने विश्लेषण गरेका छन् । माओवादी जनयुद्धतामा विदेशी पर्यटकमा भय देखिए पनि अहिले पर्यटन व्यवसायमा सुधार आएको उदानहरण दिँदै श्रेष्ठले यो भूकम्पले पर्यटनलाई केही असर गरे पनि फेरि फस्टाउने दाबी गरे । हिमाली पर्यटनमा परेको असरलाई न्यूनीकरण गर्दै उनले भने- ‘भूकम्पले ट्रेकिङ लज भत्किएर के भयो ? उतापट्टि बाँसको कटेरो छ नि !

Prachanda-Man-Shrestha-(2)

भूकम्पपछि अब नेपाली पर्यटनको भविश्य के हुन्छ ?

पर्यटन निकै गतिशील हुन्छ । पर्यटकलाई कुनै पनि घटनाले लामो समय रोकेर राख्न सक्दैन । १० वर्षे माओवादी सशस्त द्वन्द्वपछि पनि पर्यटकहरु नेपाल भ्रमणमा आएकै हुन् । भूकम्पले नेपाली पर्यटनमा तत्काललाई असर पारे पनि भविश्य सुनौलो नै रहेको छ ।

नेपाली पर्यटनमा भूकम्पले ठूलो क्षति पुर्‍याएकै हो । २/३ वर्ष हामीले घाटा खानै पर्छ । तर, हामी योजनावद्ध रुपमा पर्यटन विकासमा लाग्यौं भने केही वर्षमा नेपालको पर्यटनमा राम्रो सुधार गर्न सकिन्छ । पर्यटन व्यवसायीले नयाँ पर्यटकीय प्रोडक्ट डिजाइन तथा प्याकेज गर्ने, नेपाल टुरिज्म बोर्डले बजारीकरण गर्ने र सरकारले पुनर्ताजगी गर्नुपर्छ ।

भूकम्पपछि संसारभरका मिडियामा नेपाल छाएको छ । नेपालप्रति विदेशीको साहानुभूति छ । अहिले त्यो सहानुभूति राहतमा मात्रै सीमित छ, अब हामीले त्यो साहानुभूतिलाई पर्यटकीय आकर्षणमा बदल्न सक्ने प्याकेज तथा कार्यक्रम बनाउनुपर्छ ।

भूकम्पले राजधानीका सम्पदा, हिमाली तथा पहाडी भेगका टे्रेकिङ रुटहरु भत्काउँदा तत्काल केही असर परेको छ । नेपालमा आपसी सहकार्य गरेर योजना बनाउने तथा कार्यान्वयन गर्ने क्षमता निकै कमजोर भएको हुँदा सायद १/२ वर्षमै गर्न सकिने कुरालाई ३/४ वर्ष लाग्न सक्छ ।

भूकम्पले काठमाडौं, लाङटाङ, मनास्लुसहित धेरै पर्यटकीय गन्तव्यमा क्षति भएको छ । यी क्षेत्रको पुनर्निर्माणमा लाग्ने कि नयाँ गन्तव्य बनाउने ?

नेपालीका लागि ट्रेल बनाइएको होइन, त्यहाँ रहेको बस्तीले प्रयोग गर्दा ट्रेल आफै बन्न गएको हो । नेपालमा पदयात्रा गर्न आउनेहरु पनि नेपाली जहाँ हिँड्छन, त्यहीँ जाने हो । एक ठाउँमा पहिरो गएर ट्रेल बन्द भयो भने अर्को ठाउँमा बन्दै जान्छ । यो बनाउन धेरै समय लाग्दैन, एक महिनाभित्रमै बनाउन सकिन्छ ।

पहिरोले ट्रेलमा समस्या पारेको छैन, पारेको छ त्यहाँका गाउँबस्तीमा । पछिल्लो क्याम्प ट्रेकिङको सट्टामा भिलेज लज बेस्ड ट्रेकिङ सुरु भएको थियो । गाउँ नै नभएपछि त लज नै भएन ।

अब भत्किएको गाउँ पुर्नस्थापित नहुँदासम्म पहिलाकै टेन्टेड क्याम्प ट्रेकिङ पुनः सुरु गर्नुपर्ने देखिन्छ । हामी मानव बसोबास नभएका ठाउँमा पनि पर्यटन चलाउन सक्षम छौं । यही कारण अहिलेको घटनाले पदयात्रा पर्यटनमा कुनै असर पार्दैन ।

तर, यसलाई बजारमा कसरी प्रस्तुत गर्ने कुरा मुख्य हुन आउँछ । अहिले यी क्षेत्रमा जानै नसकिने भनेर प्रचार भएको छ । सिमित मार्केट भएको हुँदा केही बजारमा तत्कालै यथार्थ कुरा जानकारी गराउनुपर्‍यो । भूकम्पपछि यसरी व्यवस्थापन गरेका छौं, हेर्नलायक कुनै पनि कुरा बिगि्रएको छैन भनेर विदेशीलाई विश्वस्त बनाउँदै जानुपर्‍यो ।

नेपालको भू-धरातलीय आकर्षणले गर्दा पदयात्रा महत्वपूर्ण प्रोडक्टका रुपमा रहँदै आएको छ । भु-धरातलीय सुन्दरता भएका कतिपय गाउँहरु ध्वस्त भएका छन्, कतिपय पदयात्रा ध्वस्त भएका छन् । नेपाल सधैं भूक्षय भइरहने मुलुक हो । विगतका वर्षहरुमा वषर्ामा भूक्षय हुन्थ्यो, अहिले पदयात्राकै सिजनमा भयो, यत्ति फरक हो ।

Prachanda-Man-Shrestha-1

गत वर्ष सगरमाथा आरोहण गर्ने बेलामा हिमपहिरो गएर २२ जनाले ज्यान गुमाउनुपर्‍यो, यस वर्ष भूकम्प गएर १८ जनाले ज्यान गुमाए । पछिल्लो समय पर्वतीय पर्यटन संकटमा पर्न थालेको हो ?

हिमाल आरोहण यसै पनि उच्च जोखिम भएको साहसिक गतिविधि हो । यदि उच्च जोखिम नहुँदो हो त सबैजना सगरमाथा आरोहण गर्ने थिए । हिमाल आरोहण उच्च जोखिम भएकै कारण विश्वभरका आरोहीहरु लखौं रुपैयाँ खर्चेर नेपाल आउने गर्छन् ।

हिमाल आरोहण उच्च जोखिम भए पनि आवश्यकता परेको बेलामा ब्याकअप सुविधा त दिनुपर्‍यो नि । १९५० को दशकदेखि हामीले पर्वतारोहणलाई नीच प्रोडक्टका रुपमा बजारीकरण गर्दै आएका छौं ।

साहसिक पर्यटकीय प्रोडक्टकारुपमा बिक्री गर्दा परेको खण्डमा तत्काल उद्दार हुन्छ है भन्ने सन्देश दिनुपर्छ । आरोहणका क्रममा हिमपात भएमा आरोहीको सूचना लिने, उनीहरुलाई उद्धार गरेर सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउनुपर्छ ।

विगत ३/४ वर्षदेखि पर्वतीय पर्यटनमा प्रश्नचिन्ह खडा हुँदै आइरहेको छ । यदी हामीले यस्ता सुविधाहरु उपलब्ध गराउन सकेनौं भने प्रश्न गर्ने ठाउँ आउँछ ।

पर्यटन विभागले विदेशीका लागि प्रतिवन्ध लगाइएका पदयात्रा मार्ग खोल्ने तयारी गरिरहेको छ । व्यवसायीले पनि नयाँ पदयात्रा गन्तव्य खोल्नुपर्ने बताउँदै आएका छन् । नयाँ गन्तव्यले पदयात्रा पर्यटनमा सुधार ल्याउने देख्नुहुन्छ ?

नेपालको सबैभन्दा चर्चित पदयात्रा अन्नपूर्ण सर्किट हो । त्यसपछि सगरमाथा क्षेत्र अगाडि आउँछ । अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने ६० प्रतिशत बढी हुन्छन् भने २० प्रतिशत भन्दा बढी सगरमाथा क्षेत्रमा पुग्छन् ।

मनास्लु, लाङटाङ र कञ्चनजंगा क्षेत्रमा पदयात्रा गर्ने विदेशीको संख्या निकै कम हुने गर्छ । लाङटाङ क्षेत्र राजधानीबाट नजिक भएकै कारण चर्चामा आएको हो ।

पदयात्रा गर्ने प्रख्यात गन्तव्यहरुमा भूकम्पले कुनै पनि असर पारेको छैन । केही असर परेको भए तत्कालै पुनर्निर्माण गर्न सकिन्छ ।

यदि सरकारले दरिलो नीति बनाएर निषेधित क्षेत्रहरु खुल्ला गरेमा राम्रो पर्यटक भित्राउन सकिन्छ । किनभने जो कोहीलाई पनि निषेधित क्षेत्रमा जान मन लाग्छ

अझै पनि केही क्षेत्र विदेशीका लागि निषेधित छन् । ती क्षेत्रबाहेक अन्य क्षेत्रमा जान कुनै रोकावट छैन । पदयात्राका लागि केही क्षेत्र किन चर्चित भए, अरु किन हुन सकेनन् ? चर्चित नभएका गन्तव्य पनि त्यत्तिकै आकर्षण छन् ।

अरु क्षेत्र चर्चित हुन नसक्नुमा जोखिम, लागत र समयसमेत बढी लाग्ने भएर हो । पदयात्रा व्यवसायीले जहाँ कम जोखिम हुन्छ, र बढी आम्दानी हुन्छ ती क्षेत्रहरु पर्यटकलाई बेच्छन् ।

हुम्ला र रारामा कम जोखिम भए पनि पर्यटक किन पुग्दैनन् ? कुनै पनि ठाउँको हामीले विकास गर्न चाहेर मात्रै हुँदैन । यस्ता गन्तव्यरुमा त्यहाँको समुदायदेखि आवश्यक पूर्वाधारलगायतका सुविधाहरु उपलब्ध हुँदै गएपछि व्यवसायीले पर्यटकलाई बिक्री गर्छन् । विदेशमा जस्तो सबै सेवा सुविधा उपलब्ध गराएर पर्यटक लैजाने हाम्रो क्षमता छैन ।

नेपालमा सम्बन्धित गन्तव्यको समुदाय आफै सहभागी भएर प्रचार-प्रसार गरी पर्यटक लैजाने र ती पर्यटकले फर्किएर गएपछि गरेको कुराकानीमा आधारमा अर्को पर्यटक आउने भइरहेको छ । यही कारण नेपालका अन्य गन्तव्यहरु पछाडि पर्न गएका हुन् ।

अर्को कुरा, विदेशीलाई निषेधित गरिएका पदयात्रा खोल्ने कुरा । यदि सरकारले दरिलो नीति बनाएर निषेधित क्षेत्रहरु खुल्ला गरेमा राम्रो पर्यटक भित्राउन सकिन्छ । किनभने जो कोहीलाई पनि निषेधित क्षेत्रमा जान मन लाग्छ ।

अबका पर्यटकीय प्रोडक्ट के-के हुन सक्छन् ?

अहिलेसम्म हिमाल आरोहण, ट्रेकिङ, काठमाडौं, पोखरा र चितवनको साइड सिन हेर्ने भन्दा अरु केही छैन । नेपालको ग्रामीण क्षेत्रमा विविधता रहेको छ । हामीले अब गाउँ पर्यटनमा जोड दिनुपर्छ । हामीले होम स्टेलाई पनि जोड दिनुपर्छ ।

हामीले भूकम्प गएपछि नयाँ गन्तव्य खोज्ने भन्ने हुँदैन । त्यही क्षेत्रको पुनर्निर्माण गरेर त्यहीँ पर्यटक लैजाने हो । सकेसम्म विदेशीलाई त्यहाँको पुनर्निर्माणमै सहभागी गराउनुपर्छ । पर्यटक आएपछि अरु पनि ठाउँ छन् भनेर देखाउन छुट्टै हो, पुराना गन्तव्य छाडेर नयाँ खोज्ने भन्ने हुँदैन ।

नेपालको समग्र पर्यटनमा भूकम्पले केही फरक पार्दैन । यहाँ आउने अधिकांश पर्यटक साहसिक पर्यटन र प्रकृतिमा रमाउन आउने हुन्

प्राकृतिक पर्यटनमा खासै ठूलो क्षति नभए पनि सांस्कृतिक पर्यटनमा ठूलो क्षति भएको छ नि ? भूकम्पले ध्वस्त सम्पदा तत्काल पुनर्निर्माण पनि सम्भव छैन….

अब हामीले भत्किएका सम्पदा पर्यटकलाई फरक तरिकाले बिक्री गर्नुपर्छ । धरहराको डकुमेन्ट्री बनाएर प्रस्तुत गर्न सकिन्छ । पहिला यस्तो थियो, यति मान्छे धरहरामा आउँथे, भूकम्पमा यसरी ढल्यो, कति मान्छे मरे भनेर देखाउने हो भने पर्यटकले आकर्षक मानेर हेर्छन् ।

अन्य सम्पदाहरुको हिसाबमा पनि यही शैली अपनाउन सकिन्छ । गाइडले पहिला यति सालमा बनाएको भनेर जानकारी गराउँथे । अब त्यो जानकारीको साथै यो सम्पदा यस्तो थियो, यति मान्छे हेर्न आउँथे भनेर पनि जानकारी गराउनुपर्ने भयो । पर्यटकलाई रोचक ढंगले प्रस्तुती दिने हो भने लामो समय सुनेर बसिदिन्छ ।

भूकम्पपछि विश्वभर नेपाल भत्किएको मात्रै देखाइएको छ, यस्तो बेलामा विदेशी नागरिकको विश्वास कसरी जित्न सकिएला ?

भूकम्पले नेपाल धेरै भत्किएको छ, त्यसलाई नकार्न सकिँदैन । भत्किएपछि पुनर्निर्माण पनि त सुरु हुन्छ । पुनर्निर्माणमा नेपाली त सहभागी हुन्छन नै । त्यो ठाउँमा विदेशीलाई पनि सहभागी गराउन सकेमा उनीहरुको नेपालप्रतिको माया झनै बढ्ने थियो ।

अहिले विश्वले साहानुभूति देखाइरहेको छ । यसैको फाइदा उठाउँदै हामीले पुनर्निर्माणमा आउन आग्रह गर्न सक्छौं । फेरि सधैं सहानुभूति त पाइँदैन ।

कतिपयले भौतिकरुपमा सहयोग गर्न सक्छन्, कतिपयले खाइदिएर पनि त सहयोग गर्न सक्छ नि । उसले स्कुल पढाउन आए पनि पर्यटन भयो, पुनर्निर्माण्मा आए पनि पर्यटन भयो, घुम्न आए पनि पर्यटन नै भयो ।

द्वन्द्वका बेलामा सबै मुलुकको ट्राभल एडभाइजरीमा नेपाल नकारात्मक सूचीमा थियो, सन् २००७ सातमा सबै शक्ति एक भए भनेपछि पर्यटकको आकर्षण त बढिहाल्यो नि । त्यतिबेला २ वर्षमा ३०/४० वटा पत्रकार सम्मेलन गरेका थियौं । त्यति प्रयासले नै पर्यटक बढाउन सफल भयौं ।

भूकम्पको एउटैमात्र सकरात्मक पक्ष नेपाल भन्ने देश छ है भनेर विश्भर फैलियो । नेपाल साहसिक गतिविधि तथा प्रकृतिमा रमाउन चाहनेहरु आउने मुलुक भएको हुँदा विशिष्ट सुविधा खोज्नेले छन्ने गन्तव्य होइन । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल यसै पनि सुविधा कम भएको मुलुकमा पर्छ ।

भनेपछि अब नेपालको पर्यटन क्षेत्रमा तत्कालै पुनरुत्थान सम्भव छ ?

अवश्य पनि । नेपाल विशिष्ट सुविधा खोजेर आउने गन्तव्य नभएको हुँदा पर्यटन पुनरुत्थान गर्न निकै सजिलो छ । भूकम्पले क्षति पुर्‍याएका ठाउँमा तारे होटल त एउटै थिएनन । ४० प्रतिशत भन्दा बढी पर्यटक त पाँचतारे होटल नै नभएको ठाउँमा जाने गर्छन् ।

भूकम्पले ट्रेकिङ लज भत्किएर के भयो र ? उतापट्टि बाँसको कटेरो बनेकै छ । त्यो पनि नभए टेन्ट टाँगेर पनि पर्यटकलाई सुविधा उपलब्ध गराउन नेपाली सक्षम छन् । भूकम्पले भत्कियो, खत्तम भयो भन्ने कुरा कहाँ लागू हुन्छ विकशित मुलुकमा । विकशित राष्ट्रका गन्तव्यस्थल जहाँ रिसोर्टहरु बनाइएको हुन्छ, त्यो रिसोर्टको सुविधा लिन र मनोरञ्जन गर्न आउनेहरु त्यो रिसोर्ट भत्कियो भने त्यहाँ जाँदैन किनभने तुरुन्त रिसोर्ट त बन्दैन ।

नेपालमा पनि नगरकोटमा गएर बस्नेहरुका लागि रिसोर्ट भत्कियो, अब किन जाने भन्ने हुन सक्छ । नेपालको समग्र पर्यटनमा भूकम्पले केही फरक पार्दैन । यहाँ आउने अधिकांश पर्यटक साहसिक पर्यटन र प्रकृतिमा रमाउन आउने हुन् ।

सेप्टेम्बरबाट सुरु हुने पर्यटकीय सिजन आउन तीन महिनामात्र बाँकी छ । उक्त सिजनका लागि भएका बुकिङ अहिलेदेखि नै धमाधम रद्द भइरहेको व्यवसायीको भनाइ छ । अब सेप्टेम्बरको सिजनबाट कसरी लाभ लिन सकिएला ?

पर्यटन पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रको संलग्नतामा समिति गठन भएको छ । छोटो समय भएको हुँदा नेपालमा धेरै पर्यटक आउने ५/७ वटा मुलुकमा गएर पत्रकार सम्मेलन गरेर विश्वासमा लिने काम गर्नुपर्छ । यहाँको आधिकारिक मान्छेले गएर भनिदियो भने त्यहाँको अपरेटरलाई पनि सजिलो हुन्छ ।

नेपालको यथार्थता जानकारी दियो भने उनीहरु कन्मिन्स पनि हुन्छन् । भूकम्प लडाइँ जस्तो होइन । एकपटक आएपछि अर्को पटक आउँछ, आउँदैन थाहा हुँदैन । नेपालमा पर्यटक भित्राउने एकमात्र विमानस्थल भत्किएको छैन । यसमा हामी लक्की हौं भन्नुपर्छ ।

मानिसमा भूकम्पको डर र त्रास कायम भएको हुँदा उनीहरुलाई कन्भिन्स गर्न पहिलाभन्दा अलि बढी कसरत गर्नुपर्ने देखिन्छ । सरकारको नीतिगत संरचनामा, बोर्डको बजारीकरणमा, स्वदेशी विदेशी अपरेटर्सबीचमा सहकार्य भयो भने पर्यटक आकर्षित गर्न सकिन्छ ।

पर्यटक आकर्षित गर्न सरकार र निजी क्षेत्रले कस्ता-कस्ता प्याकेजहरु ल्याउनु जरुरी देखिन्छ ?

हाम्रा ट्राभल तथा टुर एजेन्सीले विदेशमा अफिस खोल्न सक्ने अवस्था छैन र सरकारले पनि स्वीकृति दिँदैन । विदेशमा बसेर संसारका गन्तव्यहरु बेचिरहेको टुर अपरेटर्ससँग नेपाली कम्पनीले सम्बन्ध राख्नुपर्छ ।

नेपाली स्टेक होल्डर्सहरुले अन्तर्राष्ट्रिय बजारमा ढाँट्नु हुँदैन । यथार्थ कुरा बताएर पर्यटक आकर्षित गर्नेतर्फ नै लाग्नुपर्छ । नेपालमा हवाइ तथा सडक यातायातमा भूकम्पले क्षति पुर्‍याएको छैन ।

सरकारले एक वर्षसम्म लागि नेपाल भ्रमणमा आउने पर्यटकलाई भिषा निःशुल्क गरिदिनुपर्छ । त्यस्तै, विभिन्न गन्तव्यमा जाँदा लिइने टिम्स लगायतको रोयल्टी पनि छुट दिएर पर्यटक आकषिर्त गर्न सक्छ ।

नेपाल एयरलाइन्सले पनि थाइल्यान्डका लागि दुई टिकट खरिद गर्दा एउटा टिकट सित्तैमा दिने घोषणा गरेको छ । विदेशी एयरलाइन्सहरुले त यसो किन गर्लान र ? उनीहरुले नाफा भए नेपाल उडाउँछ, नभए अर्को गन्तव्यमा जान्छ । तर, हामीले नेपाल विपत्तिमा परेको बेलामा केही न केही स्किम घोषणा गर भनेर त भन्न सकिन्छ नि ।

ट्राभल, टुर तथा टे्रकिङ एजेन्सी र होटलहरु के-कतीछिुट तथा अन्य सुविधाहरु उपलब्ध गराउन सक्छन, त्यो गर्नुपर्छ । मलाई के लाग्छ भने पर्यटकले कहिल्यै पनि मूल्यप्रति नेपाललाई शंका गरेका छैनन् । अहिले पनि नेपालको मूल्य घटी छ । पर्यटकले खोज्ने सुरक्षा हो ।

नेपालले कुन-कुन मुलुकलाई प्राथमिकतामा राख्नु पर्ला ?

नेपाल घुम्न आउने पर्यटकलाई हामीले तीनवटा समूहमा विभाजन गरेका छौं । परम्परागत बजारमा युरोप, उत्तर अमेरिका, जापान र अष्ट्रेलिया एउटा समूह भयो । यो समूहमा करिव-करिव ५० प्रतिशत मार्केट शेयर रहेको छ ।

दोस्रो बजार भनेको चीन र भारत हुन् । साहनुभूतिलाई क्याच गर्न यी मुलुकमा सबैभन्दा बढी जोड दिनुपर्छ । तेस्रो बजारमा मध्यपूर्व, दक्षिण कोरिया, दक्षिण एशियाली मुलुक, सिंगापुर, मलेसिया, थाइल्यान्ड लगायत हुन् ।

नयाँ बजारमा जाने बेला अहिले छैन, हामीले अहिले भइरहेको बजारलाई छुट्न नदिने, त्यसमा ५/१० प्रतिशत पर्यटक भित्राउने हो ।

प्रस्तुती- नविन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment