Comments Add Comment

‘कामरेडहरु ! मासुभात खाएर स्वयंसेवा हुँदैन !

गोकर्ण विष्ट, सचिव नेकपा एमाले

अबको एक महिना एमालेका नेता कार्यकर्ताले एउटै गीत गाउनेछन्-गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ । यो गीत गाउँदै भूकम्पले तहस-नहस बनाएका गाउँ बस्तीहरुमा एमालेका दश हजार स्वयंसेवकहरु पस्नेछन् । हामीले ८ लाख ध्वस्त घरहरु बनाउछौं भनेर त भन्दैनौं, तर एउटा जिल्लामा कम्तिमा दुई चारवटा गाउँमा अस्थायी घर बनाउनेछौं ।

Kp oli  (1)

अबको एक महिना सिंगो एमाले स्वयंसेवक दलमा परिणत हुनेछ । हामी सबै नेता कार्यकर्ता स्वयंसेवी हुनेछौं । हामीले यो अभियानमा राज्य र जनताबाट केही पनि लिने छैनौं । एमालेले राज्य र जनतालाई सघाउनेछ । हामीले हरेक जिल्लामा सबैभन्दा बढी क्षति भएको, सबैभन्दा गरिव र दलित भएको गाउँ छनौट गरेर कम्तिमा २ वर्ष टिक्नेखालका अस्थायी घर बनाइदिनेछौं ।

प्रत्येक जिल्लामा पार्टीका तर्फबाट सम्बन्धित जिल्ला हेर्ने जिल्ला इन्चार्ज, सम्बन्धित क्षेत्रको सभासद अथवा सभासद नजिकको ठाउँमा सो क्षेत्रको संविधानसभाको उम्मेदवार, जिल्ला पार्टी अध्यक्ष र सम्बन्धित निर्वाचन क्षेत्रीय अध्यक्ष रहेको संयन्त्रले त्यस्तो गाउँको छनोट गर्नेछ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एकसय जनाको टिम हुनेछ । त्यो टिममा इन्जिनियर, ओभरसियर, सब ओभरसियर, स्वास्थ्यकर्मी, तालिमप्राप्त सिकर्मी डकर्मीसहित हुनेछन् । एक सयजनाको टिमलाई १० जनामा विभाजन गरिनेछ । हरेक टिमका कमाण्डर हुनेछन्, कमाण्डरको आदेशअनुसार सबै चल्नुपर्नेछ ।

जेठ १० देखि असार १० गतेसम्म एमालेले राजनीतिक र सांगठानिक काम गर्ने छैन भनेर बुझ्नुस । दिमागमा जनताको सेवा र देशको निर्माण बाहेक अरु केही नराख्नुस् । जहाँ जहाँ जानुहुन्छ, त्यहाँ कुन घर कांग्रेसको कुन एमालेको वा माओवादीको हो भनेर नहेर्नुस् । राजनीतिभन्दा माथि रहेर सबैका लागि सहयोग गर्नुपर्छ । यो बेला राजनीतिक पुर्वाग्रह राख्ने होइन,यसमा कडाइका साथ लाग्नुपर्छ ।

हाम्रा स्वयंसेवकहरु जनताका लागि भार बन्न हुँदैन । आफ्ना लागि खाने खाद्यान्न, बस्ने त्रिपाल, औषधीलगायत सबै सामान आफै लिएर जानुपर्छ । जनताको सियो पनि नलिने र राज्यबाट एक सुका पनि नलिने हाम्रो नीति छ ।

मासुभात खाएर स्वयंसेवा हुँदैन । जनतालाई बोझ हुने गरी केही पनि खाइदिनु हुँदैन, जनताका भत्किएका घरको भग्नावशेष हटाउँदा केही सम्पत्ति वा गहना भेटियो भने तत्कालै बुझाइदिनुपर्छ

जनताको सामाजिक सांस्कृतिक संरचनालाई अत्यन्त सम्मान गर्दै उनीहरुको रुची अनुसार अस्थायी आवास बनाइदिनुस् ।

सम्बन्धित जिल्ला र गाउँको पार्टी कमिटीले त्यहाँको आवश्यकता बुझेर ठाउँ छनोट गर्नेछ । सरकारी कर्मचारी र अन्य दलका कार्यकर्तासँग समेत समन्वय गरेर जनताको सेवा गर्नुपर्छ । जनताका घरमात्र होइन विद्यालय भवनहरु भत्किएका छन् ।

तत्काल बालवालिकालाई विद्यालयमा पठन पाठन गर्ने गरि अस्थायी टहरा बनाउन सघाउनुपर्छ ।

स्वयंसेवकहरु सबैको व्यक्तिगत विवरण केन्द्रमा रहनेछ । उनीहरुले प्रत्येक दिन कार्यक्षेत्रमा हाजिरी गर्नेछन् । हरेक टिमलाई एउटा हाजिरकापी पार्टीले दिनेछ । स्वयंसेवा गर्न जाने कार्यकर्ताका लागि २ छाक खाने व्यवस्था मिलाइनेछ । यो एक महिना खाजा नखाई काम गर्नुपर्नेछ ।

सकेसम्म खाजाको पनि व्यवस्था गर्न कोशिस हुँदैछ, नत्र दुई छाक सामान्य दालभातमात्र खाएर काम गर्नुपर्छ । मासुभात खाएर स्वयंसेवा हुँदैन । जनतालाई बोझ हुने गरी केही पनि खाइदिनु हुँदैन । जनताका भत्किएका घरको भग्नावशेष हटाउँदा केही सम्पत्ति वा गहना भेटियो भने तत्कालै बुझाइदिनुपर्छ ।

एमालेका कार्यकर्ताहरु यो एक महिनामा यसरी खटिने छन् कि उनीहरुले एमालेको इज्जत बढाउनुपर्नेछ । आवश्यक औजारहरु आफूसँगै लिएर जानुपर्छ । जस्तापाताका लागि सरकारले चाँडै व्यवस्था गर्नेछ ।

जनताको सेवा गर्नुस, इतिहासमा तपाईले सधै गर्व गर्नुहुनेछ कि-मैले यो देशलाई बिपत्ति परेका बेला जनताको सेवा गरेको थिएँ । पार्टीले यसबापत तपाईहरुले गर्व गर्ने गरि प्रमाणपत्र दिनेछ । भावी सन्तान दर सन्तानले तपाईप्रति गर्व गर्नेछन् ।

(एमालेका राष्ट्रिय स्वयंसेवकहरुलाई पार्टी सचिव तथा स्वयंसेवक संयोजक गोकर्ण विष्टले दिएको निर्देशन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment