Comments Add Comment

कुवेतमा नेपाली चेलीलाई २५ वर्ष जेल

८ जेठ, काठमाडौं । लागुऔषध कारोबार अभियोगमा कुवेतको जेलमा परेकी नवलपरासीकी गोमा दराईलाई आममाफी दिलाउन दूतावासले पहल सुरु गरेको छ ।

गोमा दराई
गोमा दराई

कावासोती नगरपालिका ८ नवलपरासीकी गोमा ०७० असोजमा घरेलु कामदारको रुपमा कुवेत गएकी थिइन् । लागु औषध कारोबारको अभियोगमा पक्राउ परेकी उनलाई एक साताअघि अदालतले २५ वर्ष जेल सजायँ तोकेको हो ।

‘अदालतमा उनले लागुऔषध कारोबार गरेको प्रमाण भन्दै भिडियो डकुमेन्ट देखाइएको थियो । त्यसबारे उनले एस/नो केहि नभनेपछि अदालतले २५ वर्ष जेल सजायँ सुनायो,’ कुबेतस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी गोमा ढकालको भनाइ उद्धृत गर्दै पीएनसीसीका एक कर्मचारीले भने ।

निरक्षर गोमाको सजायँ माफ गरी नेपाल फर्काउन कुटनीतिक पहल सुरु गरिएको छ ।

आफू निर्दोष भएको दाबी

तर एक हप्ता अघि घरमा फोन गरेकी गोमाले आफूले त्यस्तो काम नगरेको बताएकी पारिवारिक स्रोतले जनाएको छ । अदालतमा भने उनी आफूमाथि लागेको अभियोगबारे मौन रहिन् ।

‘मलाई घरबेटीले फसाँयो, यस्तो काम मैले गरेकै होइन,’ गोमाका परिवारका सदस्यले नवलपरासीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका कर्मचारीहरुसँग भनेका थिए ।

गोमा पक्राउ परेको खबर पाएलगत्तै परिवारका सदस्यहरुले नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा सम्पर्क गरी उद्धारको पहल गरिदिन आग्रह गरेका थिए ।

त्यसपछि काठमाडौंस्थित प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले वैदेशिक रोजगार विभाग र कुवेतस्थित नेपाली दूतावासमार्फत् उद्धारको पहल सुरु गरेको थियो । पीएनसीसीले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरुलाई उद्धारको काम गर्दै आएको छ ।

उनको कोठाबाट लागु औषध फेला परेको दाबी गरिएको छ । गोमा लागुऔषध कारोबारमा संलग्न भएको दाबीसहित उनकै घर मालिकले भिडियो दृष्य प्रहरीमा बुझाएका थिए ।

भिडियो पाइसकेपछि प्रहरीले उनको ‘कल डिटेल’ अध्ययन गरेको थियो । एक शंकास्पद बंगलादेशी महिलासँग धेरैपटक फोन सम्पर्क भएको पाइएपछि गोमालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

घर चलाउन गाह्रो भएकोले पैसा कमाउन भन्दै २ छोरा र २ छोरीलाई श्रीमानको जिम्मामा छोडेर गोमा ०७० असोजमा कुवेत गएकी थिइन् ।

यो पनि पढ्नुहोस्

कुवेतमा पक्राउ परेकी गोमाको उद्धारको पहल सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment