Comments Add Comment

पहिचान, साहित्य र दर्शनमा भूइँचालोको असर

Earthquake Victims returning to home 1 (19)

अरुण बराल

उद्योगी एवं विद्वान लेखक अरुणकुमार सुवेदीले रसायनशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी विज्ञानमा विश्वास राख्ने मानिस हुन् । तर, राजनीतिक चिन्तक प्रदीप गिरीलेसमेत पत्याएका सुवेदीको जीवन-दर्शन यतिबेला भूकम्पको धक्कासँगै खल्बलिएको छ ।

डेढ वर्षअघि चाबहिलमा सुवेदीकी जीवन संगिनी गम्भीर दुर्घटनामा परिन् । केही दिन अचेत अवस्थामा रहेकी पत्नीलाई ग्राण्डी अस्पतालले ‘पुनर्जीवन’ दिएको स्मरण गर्दै सुवेदी भन्छन्- ‘त्यो दुर्घटनापछि जीवनलाई हेर्ने मेरो परिभाषा नै बदलियो । म अहिले जुन पलमा बाँचिरहेको छु, मलाई यही मीनेटको जीवनसँग मात्रै भरोसा छ ।’

जीवन संगिनीको दुर्घटनाको पीडादायी क्षणहरु झेलेका सुवेदी जीवनको बदलिएको परिभाषालाई अहिलेको भूकम्पले झन् बलियोसँग पुष्टि गरिदिएको बताउँछन् । उनको बुझाइ छ- ‘जीवन अनिश्चित रहेछ भन्ने मेरो ठहरलाई अहिलेको भूकम्पले झन् दह्रोसँग प्रमाणित गरिदियो ।’

के सुवेदीले भनेजस्तै अहिलेको भूइँचालोले जीवनलाई हेर्ने मानिसहरुको दृष्टिकोणमा फेरबदल ल्याएको हो ? जीवनलाई क्लिष्ट एवं नियमित श्रृंखलामा बुझिरहेका मानिसहरुको सोचाइलाई भूकम्पले चर्काएकै हो त ? यस विषयमा पर्याप्त बहस भएको छैन ।

भूकम्पले फस्टाएको व्यवसाय

चोक र सडकमा धेरै मानिसहरुले भन्ने गरेको सुनिन्छ, भूकम्पले धनी र गरीबलाई एउटै पालमा सुतायो । ठूलो घर बनाएर शान देखाउनेहरुको सेखी झार्‍यो, गरीबलाई हेला गर्ने र निजी स्वार्थमा रम्नेहरुलाई सम्पति केही होइन भन्ने शिक्षा दियो, आदि इत्यादि ।

तर, यस्ता लोकोक्तिलाई चुनौती दिने विभिन्नखाले घटनाहरु भूकम्पको त्रास नसकिँदै समाजमा देखिन थालेका छन् । राहतमा भ्रष्टाचार, चोरी, कालोबजारी, ठगी र थेत्तरोपन मानिसहरुको दिमागबाट हटेकै छैन ।

भूकम्पले जति नै हल्लाए पनि मानिसहरु लोभ लालचबाट मुक्त भएको देखिँदैन । सर्पको मुखमा आधा निलिएको अवस्थामा पनि भ्यागुताले झिँगा खान खोजेजस्तो गरेर मानिसहरु लुट्न र धन कमाउनमै उदत्त देखिएका छन् ।

जीवन जति नै अनिश्चित र सापेक्ष भए पनि मानिसहरु निरपेक्षरुपमा व्यक्तिगत र निजी स्वार्थमा चुर्लुम्म डुबिरहेका छन् । यस्तो लाग्छ, भूकम्प मानिसको दिमागमा आउनुपर्थ्यो , त्यहाँ आएन । कतिपय व्यापारी र गैरसरकारी संस्थाहरु अहिलेको भद्रगोलबाटै कसरी गोल गर्ने भनेर गरीबीको व्यापार व्यवसायमा लागिसकेका छन् ।

Nuwakot-Earthquake--(6)

गाउँका मैलाधैला मान्छेलाई देखाएर शहरका सुकिला-मुकिला मान्छेहरुले धन र प्रतिष्ठा दुबै कमाउने योजना तत्कालै बुनिसकेका छन् । यी परिदृश्यहरुको सामाजिक-दार्शनिक विश्लेषण हुन बाँकी छ ।

तीन पाङ्रे टेम्पो चढेर नयाँ बानेश्वरतिर आइरहेका बेला एकजना वकिलसँग भेट भयो । कुराकानी उही भूकम्पकै त हो, मैले भनें- ‘ भूकम्पको परिणामस्वरुप सबै क्षेत्र चौपट हुने भयो, मिडिया उद्योग पनि भूकम्पको धक्काबाट अछुतो रहेन । आर्थिक क्रियाकलाप ठप्पै हुने पो हो कि ?’

वकिल साहेबले ढुक्क हुँदै भने- ‘हाम्रो पेशालाई त भूकम्पले केही पनि असर गर्दैन बरालजी । कानून व्यवसाय यस्तो पेशा हो, जसलाई भूकम्पले छुँदैन । अब भत्केका घर, भत्काउनुपर्ने घर वा राहतसम्बन्धी विवाद चर्किन्छ र वकिलको पेशा गज्जपले चल्छ ।’

वकिल सा’बको विश्लेषण सुन्दा भूकम्पले घाटा हुने र नाफा हुने दुबै ढोकाहरु खोलेको रहेछ । आखिर घाटा केकेमा भयो र नाफा हुने क्षेत्र के के हो ? विश्लेषकहरुले यसबारे खोजी गर्नुभन्दा पहिले नै सामानका र मनका व्यापारीहरुले यस्ता नाफा हुने ठाउँहरु फेला पारिसकेका छन् । जीवन चाहे सुवेदीले भनेजस्तै अनिश्चित नै किन नहोस् ।

बेरोजगार कवि

चाबहिलस्थित टेलिकमको कार्यालयमा पुगेका बेला एकजना कवि भेटिए । भूकम्पपछिको उनको दिनचर्या अर्कै रहेछ । उनले भने ‘भूकम्पले गर्दा दैनिकी फेरिएको छ । बिहानै बाहिर निस्कियो, चिया पसलमा गएर भूकम्पकै बारेमा विभिन्नखाले गफ दियो, ९ बजेतिर भात पाक्यो होला भन्दै घरमा गयो, अनि भात खाएर फेरि दिनभरि बजारतिर निस्कियो ।’

हुन त दार्शनिक प्लेटोले आदर्श राज्यमा कविहरुलाई देश निकाला गर्नुपर्छ भनेका छन् । प्लेटोले राज्यमा कविहरुको कुनै काम छैन भने पनि आधुनिक राज्यमा कवि एवं साहित्यकारहरुको जगजगी छ । धेरैले कविलाई सुन्न नचाहे पनि उनीहरुले आफूलाई स्रष्टा भन्छन् ।

महाभूकम्पका बेला कवि र साहित्यकारहरुले जनताको पक्षमा केही काम अवश्य गर्न सक्ने थिए/गर्नुपर्ने थियो

यस्तो महाभूकम्प आएका बेला स्रष्टाको काम के हो ? यसबारे कुनै नीति नियम छैनन् कि कविले यही नै काम गर्नुपर्छ । सुरक्षाकर्मीको जिम्मेवारी छ, कर्मचारी र नेताहरुको पनि जिम्मेवारी छ । व्यापारीको काम व्यापार गर्नु र नाफा कमाउनु हो । पत्रकारको काम सूचना सम्प्रेण गर्नु हो । तर, कवि र साहित्यकारहरुको काम के हो ? उनीहरुको दायित्व र भूमिका के हो ? उनीहरुको जिम्मेवारी ठेकिएको छैन ।

तर, महाभूकम्पका बेला कवि र साहित्यकारहरुले जनताको पक्षमा केही काम अवश्य गर्न सक्ने थिए/गर्नुपर्ने थियो । बिहानभरि चियागफ गर्ने र दिनभरि भौतारिने काममा मात्रै कविहरु लागिरहने हो भने अब पाठकहरुले प्रश्न उठाउन सक्छन्, भूकम्पका बेला कविहरु कता गएका थिए ?

उहिले देशमा गन्धर्वहरुको ठूलो मान्यता थियो । लाहुरेको पीडा होस् या अनिकालको बेदना होस्, कविले शब्दमा ढाल्थे, अनि गन्धर्वहरुले सारंगीमा मिसाउँथे । अहिलेका कविहरु शहर केन्द्रित भएका छन्, उनीहरु सिर्जना होइन, चिया गफमा सीमित भएका छन् ।

कविहरु राजनीतिक नेतालाई चोकमा बसेर आलोचना गरिरहेका छन् । तर, भूकम्पले हाम्रो देशका कवि र साहित्यकारमाथि पनि निकै ठूलो प्रश्न उठाइदिएको छ । भनिन्छ, चिन्ताको बोझमा डुबेको मान्छेले कुनै सर्वोत्तम मनोरञ्जनबाट रसस्वादन गर्न सक्दैन । भूकम्पको पीडा र गरीवीले थिचिएका मानिसहरुले कविज्यूको कविता सुनेर भोलि कसरी मनोरञ्जन लेलान् ? त्यसैले कविहरुले यतिबेला भूमिका देखाउन आवश्यक छ ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा राहत संकलन हुन नसकिरहेका बेला कविहरुले कविता र सवाइ मार्फत् पीडितलाई सहयोग गरौं भन्ने सन्देश सहितका साहित्यक कार्यक्रम देशव्यापीरुपमा चलाएर राष्ट्रलाई योगदान किन नगर्ने ? यतिबेला प्रलेससमेत ओछ्यान लगाएर सुतेको छ । भूकम्पले कविहरुलाई अलिकति पनि नहल्लाएको साक्षी हुन् टेलिकममा भेटिएका कवि ।

पहिचानमाथि प्रहार

भूकम्पले राज्य पुनसंरचनाको खाकामाथि नै धक्का दिएको र संघीय राज्यहरु नेपालमा अफापशिद्ध भएको भन्नेजस्ता तर्कहरु सिंहदरबार वरिपरि मसिनो स्वरमा सुन्न थालिएको छ ।

के नेपालको राज्य पुनसंरचना अब एकात्मक प्रकारको हुनुपर्छ भन्ने सन्देश भूकम्पले दिएकै हो त ? संघीयतामै जाने हो भने पनि अब हिमाल-पहाड-तराई जोडेर प्रदेशहरु बनाऊ है भनेर भूकम्पले बताएर गएको हो त ? यी तर्कनाहरु पनि भूकम्पको छालसँगै काठमाडौंमा थालनी भएका छन् । आदिवासी जनजाति अनि दलितका अधिकारहरु कमजोर पार्न थालिएको छ र भूकम्पलाई संघीयताविरोधी, धर्म सापेक्षतावादीहरुले ‘क्यास’ गर्न खोजेको देखिन्छ । यो पनि भूकम्पले सिर्जना गरेको सामाजिक-मानसिक पराकम्पन नै हो ।

भौतिकवाद र विज्ञानमाथि प्रहार

भूकम्पको पीडा कम गर्ने बाहनामा लिभिङ आर्टले चलाएका शिविर हुन् या ईशुले मुक्ति दिनुहुन्छ भनेर गरिएको प्रचार नै किन नहोस्, मानिहरुको भयलाई दोहन गरेर मान्छेलाई अवैज्ञानिक एवं अलौकिक शक्तिको दासमा परिणत गर्ने अभ्यासहरु पनि यही बेलामा भएका छन् ।

च्याउ जसरी उत्रिएका ज्योतिषीहरु र स्वस्ती शान्ति गर्नेहरु सबैले भूकम्पको बाहनामा नेपालीलाई डरपोक र भगवान भरोसामा टिकाउने प्रयत्न गरेका छन् । भूकम्पलाई भँजाएर भौतिकवाद एवं विज्ञानमाथि नै चौतर्फी प्रहार थालिएको छ ।

जीवन अनिश्चित छ, तर निश्चित छ

सुवेदीले भनेजस्तै जीवन अनिश्चित छ । तर, जीवन आकस्मिक मात्रै होइन, निश्चित पनि त छ । वालकृष्ण समले भनेका छन्, जीनव नियमित आकस्मिकता हो ।

हरेक परिघटनाहरु नियमित आकस्मिकता नै हुन् । अहिले देखेको विरुवा २० वर्षपछि परिवर्तन भइसकेको हुन्छ । गति निरपेक्ष हुन्छ, तर सापेक्ष नै सही, स्थिरता पनि त हुन्छ । जीवन र समाज पनि यस्तै हो ।

भूकम्प, प्लेग, सुनामी, ज्वालामुखी जस्ता महाविपत्ति आएकै हुन् । तर, यसो भनेर मानिसलाई प्रकृतिको अनिश्चयको पोेल्टामा हालेर, हात बाँधेर बस्न सकिँदैन ।

यसपालिको भूकम्पले नेपालमा हजारौं मानिसको मृत्यु भयो, हजारौंका आफन्त गुमे । हजारौं घाइते भए । तर, मानव जीवन निरन्तर चल्ने प्रक्रिया हो । र, यो विज्ञानका निश्चित नियमका आधारमा अघि बढ्छ । अहिलेसम्म मानव समुदायले आविस्कार गरेको ज्ञान, विज्ञान र सत्यलाई भूकम्पको बाहनामा अपव्याख्या गरेर प्रकृतिको यो नियमलाई झुक्याउन सकिँदैन ।

भूकम्प आए पनि हामीकहाँ मानिसहरु छन् । उनीहरुको स्वार्थ छ । समाज छ, समाजमा भ्रष्टाचार छ । धनी र गरीबवीच विभेद छ । सक्षम जाति र पिछडिएको जातिवीच असमानता छ । यही कारणले बनाइएको समावेशी कानून पनि छ । यी कुनै पनि मुद्दाहरु भूकम्पले पुरेको छैन । बहुजातीय, बहुसांस्कृतिक एवं बहुधार्मिक नेपाललाई भूइँचालोले एकल जातीय राज्यमा रुपान्तरण गरेको छैन ।

हामीले यो पनि बिर्सन हुँदैन कि मानिससँग सीमितता पनि छ । जस्तो फूल ब्यापारीले त्यसको सौन्दर्य-मूल्यलाई बुझ्दैन, व्यापारिक मूल्यलाई मात्रै बुझ्छ । यो कुनै व्यापारीको कुनै दोष नभएर उसको सीमा हो । व्यापारी हुनुको नाताले उसले सेवा हैन नाफा कमाउँछ, चाहे भूकम्प आओस्, चाहे सुनामी । वकिलको हकमा पनि यही कुरा सत्य हो ।

यी सबै पक्षलाई चटक्कै बिर्सेर जीवनको परिभाषा, समाजको परिभाषा र राज्यको परिभाषालाई भूकम्पसँग दाँज्दै बिद्रूप बनाउन खोज्नु कत्तिको जायज होला ? पक्कै पनि यो बहसको विषय हो ।

10 places that earthquake destroyed

अन्त्यमा, महलवालाहरु पालमा सुत्न आएकोमा वर्ग गर्ने गरीबहरुले एकपटक चिनियाँ साहित्यकार लु सुनको भनाइ स्मरण गर्न आवश्यक छ ।

लुसुनले भनेका छन्- ‘गरीब हुनु यदि सुखको विषय हुन्थ्यो भने गरीबलाई कुनै ठाउँ नै नराखी धनीमानीहरु पहिल्यै सडकमा बोरा ओछ्याएर सुतिसकेका हुने थिए ।’

अब केही समयपछि सबैले जीवनको आकस्मिकता र अनिश्चिततालाई भुल्ने छन् । त्यसपछि पाल र सडकमा गरीबहरुमात्रै बाँकी रहने छन् । समाजमा फेरि दया, सहायता, उद्धार, इत्यादि पदावलीहरु विस्मृतिको गर्भमा लीन हुनेछ र फेरि व्यक्तिगत स्वार्थ, झगडा, लुटपाट र शोषण जरा गाढ्नेछ, अर्को ठूलो भूकम्प नआउञ्जेल ।

आर्यघाटमा पुगेको मलामी एक छिन निस्वार्थी बन्छ । तर, फर्केर गौशाला नकट्दै ऊ पुरानै धरातलमा र्फकन्छ । भूकम्पको धक्का पनि एकैछिन आर्यघाट गएजस्तै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment