Comments Add Comment

कृपासुर शेर्पा : भन्सारको सुब्बादेखि मन्त्रीसम्म

८ जेठ, काठमाडौं । करीव एक दशकअघि भन्सारको सुब्बा पदबाट सेवा निवृत्त भएका कृपासुर शेर्पाले राजनीतिमा यति लामो फड्को मारे कि, निर्वाचित सभासद हुँदै पर्यटनमन्त्री बन्न उनले आन्तरिक सांगठनिक राजनीतिक जीवनमा ठूलो त्याग गर्नु परेन ।

kripasur-Sherpa

अशोक राईको नेतृत्वमा एमालेका केही आदिवासी जनजाति नेताहरुले एकल जातीय राज्यको माग गर्दै पार्टी छाड्नु नै कृपासुरलाई एक प्रकारले चिठ्ठा पर्‍यो । उनले एमालेमा जातीय मामिलामा ठूलो विवाद भएका बेला एकल जातीय राज्यको विरोध गर्दै पार्टी नेतृत्वको अडानलाई साथ दिए ।

नेपाल शेर्पा संघको अध्यक्षसमेत भइसकेका कारण उनले बिभिन्न फोरममा एमालेको नीतिको बचाउ गर्दै बोलेपछि एमालेभित्र उनको उचाइ बढ्यो भने पहिचान पक्षधर भनिनेहरुले उनलाई प्रहारको निशाना बनाए ।

भोजपुर क्षेत्र नम्बर १ का प्रभावशाली एमाले नेता तत्कालिन केन्द्रीय सदस्य अजम्बर राई संघीय समाजवादीतिर लागे । यहि मौकामा उनले आफूले सरकारी सेवामा हुँदा कमाएको पहुँच र साधन स्रोतलाई भोजपुरको शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गरे ।

अजम्बर लगायतका नेताहरुले एमाले छाड्नु र कृपासुरले निर्वाचन क्षेत्र केन्दि्रत भएर विकासको काम गर्नुको संयोग उनले एमालेबाट संविधानसभा निर्वाचन ०७० मा टिकट पाए । केपी ओलीको विश्वासपात्र हुनु र जनताबीचमा विकासका काम लिएर जानुनै उनको टिकट पाउने आधार बन्यो ।

संघीय समाजवादीबाट अजम्बर काङमाङले ४ हजार मत काट्दा पनि कृपासुर शेर्पा ११ हजार ४५० मत प्राप्त गरेर सभासद निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका धर्मराज राईले ८ हजार ९७० मत पाएका थिए ।

पहिलोपटक चुनाव लडेर सफलता पाउनु नै कृपासुरको राजनीतिमा ठूलो छलाङ बन्यो । किनकी उनी पार्टीको हैसियतमा जिल्ला अध्यक्ष पनि बन्न सकेका छैनन् ।

जागिरे अवधिमै एमालेमा आबद्ध भए पनि उनको सक्रिय राजनीति भने भोजपुर काठमाडौं सम्पर्क मन्चमा पचासको दशकबाट भएको हो । उनी सम्पर्क मन्चको अध्यक्षसम्म भए ।

भोजपुरको वोखिम निवासी ६४ वर्षीय शेर्पा पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानमा पनि आबद्ध छन् । प्रतिष्ठानको धुम्बाराहीस्थित भवनमा एमाले केन्द्रीय कार्यालय सर्ने तयारी भइरहेका बेला उनी मन्त्री बनेका छन् ।

झलनाथ खनालका स्वकीय सचिव दिपक अमात्यले मन्त्रालय चलाउन नसकेपछि उनको ठाउँमा ओलीका विश्वासपात्र शेर्पालाई पठाउदा एमालेभित्र एकमत देखिएको छैन । उनलाई मन्त्री बनाउन लाग्ने पनि ओली निकटहरु नै थिए ।

पर्यटन क्षेत्रमा क्रियाशिल भएकाले पनि उनका लागि पर्यटन मन्त्रालय नयाँ होइन । सुब्बा भएर सरकारी सेवा गरेका शेर्पाले मन्त्री भएर कस्तो काम गर्छन्, त्यसका लागि केही समय पर्खिनु पर्नेछ ।

यो पनि पढ्नुस्

पर्यटनमन्त्रीमा कृपासुर शेर्पा सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment