Comments Add Comment

करिब ३० हजार मानिस राजधानी छाड्ने तयारीमा

Back to home

नारायण पंगेनी/श्रीधर पौडेल

८ जेठ, काठमाडौ । चितवन टाँडीका अरुण चौधरी बिहीबार बिहान डेराका सामानहरु धमाधम बसमा लोड गरिरहेका थिए । काठमाडौंको नयाँ बजारमा डेरा गरी बसेका उनी भूकम्पले भयभित बनाएपछि झिटीगुण्टा कसेरै घर फर्किन लागेका रहेछन् ।

पोको पारेर ल्याइएका डेराका सामानहरु गोंगबु बसपार्क नजिकै बसको छतमा लोड गरिरहेका अरुणका पतिपत्नी भन्दै थिए-‘अब काठमाडौ बस्ने अवस्था नै रहेन ।’

नवयुवक उच्च माविमा भर्ना गरेका आफ्ना छोरालाई उनीहरुले यसअघि नै चितवनमा छाडेर आएका छन् । ‘यहाँको स्कुलमा भर्ना गरिसकेको थिएँ, उनले भने-‘छोराछोरी यहाँ बस्नै डराए, त्यसैले चितवनकै स्कुलमा भर्ना गरिसकेँ, अब हामी पनि उतै जाँदैछौ ।’ गार्मेन्टमा काम गरेर परिवार चलाउँदै आएका उनले गाउँमै गएर केही काम गर्ने बताए ।

थानकोट प्रहरीका अनुसार पछिल्ला केही दिनमा झिटिगुन्टा बोकेर राजधानी छाड्नेहरु बढेका छन् । भूकम्प आएको साता केही दिनका लागि घर जानेहरुको संख्या बढी थियो भने अब डेरासमेत छाडेर बाहिरिने क्रम सुरु भएको छ ।

Back to home (7)

ताहचल क्याम्पसमा पढ्दै गरेकी लमजुङकी पुष्पा दुरा पनि कोठाका सामान सबै उठाएर घरतिर लागेकी छन् । ‘बस्दै आएको घर भूकम्पले चर्किएको छ’ पुष्पाले भनिन्- ‘अर्को ठाउँमा डेरा पाउनै गाह्रो छ, बारम्बार आएको भूकम्पको डर अनि घर परिवारमा पनि चिन्ता छ ।’

डेरामा रहेको सामान घर पुर्याउने र स्थिति सहज हुँदै गयो भने वर्षापछि आएर होस्टेलमै बस्ने गरी फर्कने पुष्पाको सोच छ ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पले त्रास घटेर काठमाडौंको जनजीवन सामान्य हुँदै थियो । तर, वैशाख २९ गते अर्को शक्तिशाली भूकम्प आएपछि मानिसहरु धेरै आत्तिएका छन् । राजधानी छाडेर गएकाहरु नफर्कने मूडमा छन् ।

वैशाख १२ को भूकम्पमा परी घाइते भएका छोरा मौसम सन्त्याललाई लिएर बाग्लुङका मायाप्रसाद सन्त्याल पनि काठमाडौं नफर्किने गरी राजधानीबाट हिँडेका छन् ।

गोंगबु डेरा गरी बस्दै आएका गंगादोभान-६ बाग्लुङका सन्त्यालका १० वर्षीय छोरा मौसमको भूकम्पले भत्काएको पर्खालमा च्यापिएर खुट्टा भाँच्चिएको छ ।

छोराको भाँचिएको खुट्टा जोड्न भनेर गाडिएको किलासमेत निकालिएको छैन । छोराछोरी पढाउनकै लागि काठमाडौमा बस्दै आएका उनले अब नफर्किने गरी घर जान लागेको बताए ।

३० हजार बाहिरिने अनुमान

poeple are going back to home from Kathmandu (21)
भूकम्पपछि स्थायीरुपमा नै काठमाडौं छाड्नेहरुको संख्या ३० हजार आसपास हुने प्रारम्भिक अनुमान गरिएको छ । तर, यसको प्रष्ट तथ्यांक भने अझै आइसकेको छैन ।

खासगरी काठमाडौं छाड्नेहरुमा राजधानीमा बसेर आफ्नो सीप बेच्ने र गुजारा चलाउनेहरु बढी छन् । जागिर र ठूलो लगानी तथा व्यवसाय गर्नेहरुले भने राजधानी छाडेका छैनन् ।

सशस्त्र द्वन्द्वकालमा विस्थापित भएर काठमाडौं आएका मानिसहरुको एउटा जमात थियो । त्यस्तै मधेस आन्दोलनका क्रममा जनकपुर, मलंगवा, राजविराज जस्ता शहरहरुमा उत्पात भएपछि मधेसी तथा पहाडी दुबै समुदायका मानिसहरु पनि काठमाडौं आएका थिए ।

राजधानीमा जसको सानो व्यवसाय थियो र घर भत्कियो, उनीहरुले फेरि व्यवसाय सुरु गर्न तत्काल अर्को स्थल भेट्टाउने सम्भावना छैन । त्यस्ता साना व्यवसायीले बस्नका लागि पनि आफ्नै घर बनाइसकेका छैनन् । त्यसैले गुजारा गर्नका लागि उनीहरु श्रीमती र छोराछोरीसहित झिटीगुण्टा बोकेर बाहिरिएका छन् ।

Back to home (5)

पूर्वअर्थसचिव रामेश्वर खनाल भूकम्पपछि काठमाडौं छाड्नेहरु बसाई सरेर आएको कुल जनसंख्याको २ देखि ३ प्रतिशतसम्म हुन सक्ने प्रारम्भिक अनुमान गर्छन् ।

‘६ हजार यस्ता परिवार राजधानीबाट बाहिर गए भने ३० हजार स्वतः जान्छन् । यो भनेको २ प्रतिशत हो’ खनालले भने-‘यस आधारमा २ देखि ३ प्रतिशत जान्छन् भन्ने अनुमान हो ।’

सरकारी तथ्यांक अनुसार काठमाडौं उपत्यकामा १६ लाख बराइ सरेर आएका मानिसहरु छन्, जो डेरामा बस्छन् । झण्डै २४ लाख रैनाथे छन्, जसमा एक भन्दा बढी घर भएकाहरुलाई पनि गनिन्छ ।

गाउँमै पाइन्छ काम

यसरी काठमाडौं छाड्नेहरुमा दैनिक ज्यालादारी गर्नेहरु पनि छन् । काठमाडौंमा पाइने ज्यालादर र आफ्नो गाउँ ठाउँमै पाउने ज्यालामा अब ठूलो अन्तर छैन । विगतमा गाउँ ठाउँमा गाह्रो थियो । लगानी पनि थिएन र सबै काठमाडौंमा आए । तर, भूकम्पको धक्कासँगै काठमाडौ छाडेको महिना दिन हुन लागि सक्यो । गाउँमा गएपछि बेराजगार भएर के बस्नु भएर उनीहरुले काम सुरु गरिसकेका छन् ।

अब उनीहरु फर्कने  सम्भावना न्यून छ । किनकि आम्दानीमा खासै फरक नभएपछि किन धेरै डेरा भाडा तिरेर बस्ने भन्ने उनीहरुको सोचाइ छ । भूकम्प कहिलेसम्म हो भन्ने अर्को त्रास पनि कायमै छ ।

Back to home (9)

फुटपाथमा पनि समस्या

देशका विभिन्न ठाउँबाट काठमाडौं आएर फुटपाथमा व्यवसाय गर्नेहरुको १८/२० दिन कारोबार भएको छैन । जसको गुजारा हरेक दिन हुने व्यापारले चल्दै आएको थियो, त्यस्ता मान्छेहरुले जहाँ गयो, त्यहीँ व्यवासय सुरु गर्ने सम्भावना बढेको अर्थविदहरु बताउँछन् ।

सीपमूलक काम गर्ने पनि बाहिरिए

काठमाडौंमा आफ्नो सीप बेच्दै आएकाहरु पनि काठमाडौं छाड्ने सूचीमा देखिएका छन् । भारतको विहार, मोतिहारीबाट आएकाहरुदेखि नेपालकै विभिन्न ठाउँबाट आएकाहरुको सीप राजधानीमा राम्रैसँग बिक्ने गरेको थियो । अब उनीहरु उतै गएर काम गर्ने निधोमा पुगेका छन् । किनकि त्यहाँ पनि विकास भइरहेको छ । पहिला थिएन र काठमाडौंमा कामका लागि आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment