Comments Add Comment

काठमाडौंमा तरकारी र फलफूल महंगो, अण्डा सस्तो

नविन अर्याल
८ जेठ, काठमाडौं ।  भूइँचालोसँगै राजधानीमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको हाहाकार हुने धेरैको अनुमान थियो । तर ठूलो संख्यामा मानिसहरु राजधानीबाट बाहिरिएपछि राजधानीमा  अभाव महसुस भएन ।

यसवीचमा राजधानीमा केही सामाग्रीको भाऊ बढेको छ भने केहीको घटेको छ । तातोपानी नाका अवरुद्ध भएको र होलसेल पसलहरु नखुलेका कारण कपडालगायतका केही सामानको ‘स्टक’ सकिन थालेको व्यवसायीले बताएका छन् । भूकम्प गएको करिब एक महिनायता राजधानीमा अत्यावश्यक वस्तुहरुको अवस्था यस्तो देखिएको छ :

market

नयाँ लुगा आएन, कपडाको भाउ यथावत

भूकम्पको प्रभाव काम भइसक्दा पनि राजधानीका फेन्सी पसल सुनसान छन् । अघिल्लो साताको तुलनामा व्यापार बढे पनि भूकम्प अगाडिको तुलनामा ५० प्रतिशत कम रहेको व्यवसायी बताउँछन् ।

अधिकांश फेन्सी पसल अझै बन्द छन् । खुलेका पसलमा पनि नयाँ लुगा भेटिँदैन । अहिले पसलमा स्टक भएका लुगाहरु बिक्री गरिरहेको नयाँ बानेश्वरस्थित एभरेष्ट रेडिमेट फेसन वेयरका सञ्चालक गोपाल खड्काले बताए ।

‘अधिकांश होलसेल पसलहरु न्यूरोडमा छन्, भूकम्पको डरले हामी समान लिन जान पनि डराइरहेका छौं’ खड्काले भने- ‘न्यूरोडका होलसेल पसलमा पनि नयाँ माल आएको छैन, स्टक नै बिक्री भइरहेको छ ।’

न्यूरोडस्थित रञ्जना कम्प्लेक्सका होलसेल व्यापारी राज तिमल्सिनाले भर्खरैमात्र पसल खोलेको बताए । तर, होलसेल पसल खोले पनि रिटेलरहरु समान लिन नआएको उनको गुनासो छ ।

‘डराई-डराई पसल खोलेका छौं, व्यापार २० प्रतिशतमात्रै भइरहेको छ’ तिमल्सिनाले भने- ‘मान्छे न्यूरोड क्षेत्रमा आउन डराइरहेका छन् ।’

pasal haru (7)

बजारमा अझै नयाँ सामान आउन नसकेको जानकारी दिँदै उनले भर्खरै खासाबाट गाडी आउन सुरु भएको बताए । पहिलो चरणमा राहतको सामाग्रीलाई प्राथमिकता दिइने हुँदा यही अवस्थामा तत्कालै नयाँ सामान आउने सम्भवना समेत नरहेको उनको भनाई छ ।

व्यवसायीका अनुसार बजारमा नयाँ समान नआए पनि सामानको भाउ चाहिँ बढेको छैन । विस्तारै नयाँ सामान आउने र व्यापार बढ्ने विश्वासमा छन् व्यवसायीहरु ।

सरकारले तातोपानी नाका र रसुवा नाका सुचारु गरेर चीनबाट सामान आउने वातावरण तयार नगरे लुगाफाटादेखि इलेक्ट्रोनिक्स समानसम्म महंगो हुने व्यवसायी बताउँछन् ।

अण्डा ४ रुपैयाँ सस्तो, मासुको भाउ यथावत

भूकम्पपछि कुखुराको मासु निकै सस्तो भएको थियो । तर, पछिल्ला दिनमा कुखुराको मासुको भाऊ विस्तारै उकालो लागिरहेको व्यवसायी बताउँछन् ।

मासु/अण्डा अघिल्लो शुक्रबार (रूपैयाँमा) यस शुक्रबार (रूपैयाँमा)
खसीको मासु ८२५ ८२५
कुखुराको मासु २६० २४० देखि २५५
अण्डा १२
ताजा माछा २३५ २४५

भूकम्पपछि महामारीको डरले मासुको उपभोग समेत घटेको थियो । सरकारले समेत कतिपय स्थानमा मासु बिक्री वितरण गर्न समेत प्रतिवन्ध लगाएको थियो ।

किलोको २ सय रुपैयाँमा झरेको कुखुराको मासु अहिले साढे २ सय नाघेको छ । व्यवसायीले अघिल्लो शुक्रबार किलोको २६० रुपैयाँमा बिक्री गरेको मासु यो शुक्रबार २ सय ४० देखि २ सय ५५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

साना मासु पसलमा कुखुराको मासु प्रतिकिलो २ सय ४० रुपैयाँ रहेको छ भने बानेश्वरस्थित आइकालुमा २ सय ५५ रुपैयाँ रहेको छ ।

खसीको मासुको मूल्य भने यथावत रहेको छ । अघिल्लो शुक्रबार ८ सय २५ रुपैयाँमा किनबेच भएको खसीको मासु यो शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको व्यवसायीले बताए ।

pasal haru (5)

अण्डाको भाउ भने अप्रत्यासित रुपमा घटेको छ । व्यवसायीले प्रतिगोटा ४ रुपैयाँ घटाएर अण्डा बिक्री गरिरहेका छन् । प्रतिगोटा १२ रुपैयाँमा किनबेच भइरहेको अण्डा अहिले ८ रुपैयाँमा झरेको छ ।

ताजा माछाको भाउ बढेको कालिमाटी तरकारी बजारले जनाएको छ । अघिल्लो हप्ता प्रतिकिलो २ सय ३५ रुपैयाँमा किनबेच भएको ताजा माछा यस हप्ता २ स ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

फलफूलको भाउ बढ्यो

मागको तुलनामा आपूर्ति कम भएपछि बजारमा फलफूलको भाउ बढ्न थालेको छ । भूकम्प आएपछि दुई हप्ताजति फलफूलको भाउ घटे पनि पछिल्ला दिनहरुमा भाउ उकालो लागिरहेको व्यवसायीले बताए ।

फलफुल अघिल्लो शुक्रबार (रूपैयाँमा) यो शुक्रबार (रूपैयाँमा)
स्याउ १६५ १९५
केरा (दर्जन) १०५ १०५
अनार ३०५ २९५
आँप ३०५ ९५
अंगुर १९५ २०५
सुन्तला १३५ १३५
खरबुजा २३ २३
मेवा ५५ ७३
कटहर ४३ ४३

स्रोत : कालिमाटी तरकारी बजार

भूकम्पको त्रासदी कम हुँदै गएपछि व्यापारमा सुधार आइरहेको बुद्धनगरकी फलफूल व्यवसायी सीता थापाले बताइन् । उनका अनुसार पछिल्ला दिनमा फलफूलको भाउ उकालो लागिरहेको छ ।

कालिमाटी तरकारी बजारका अनुसार अघिल्लो हप्ता प्रतिकिलो १ सय ६५ रुपैयाँमा पाइने स्याउ अहिले १ सय ९५ रुपैयाँ पुगेको छ । कतिपय फलफूलको भाउ भने घटेको पनि देखिएको छ ।

शुक्रबार बजारमा आँपको भाउ ह्वात्तै घटेको पाइयो । अघिल्लो हप्ता १ सय ५ रुपैयाँ प्रतिकिलो रहेको आँप ९५ रुपैयाँमा झरेको छ । विस्तारै आँपको सिजन आउन थालेपछि मूल्य घट्न थालेको व्यवसायीको भनाइ छ ।

pasal haru (16)

अंगुर, मेवा, अनार लगायतका फलफुलको भाउ बढेको छ भने सुन्तला, खरबुजा, केरालगायतका फलफूलको भाउ यथावत छ । भूकम्पपछि फलफूलको आपूर्ति केही घटेको हुँदा भाउ अझै बढ्ने व्यवसायीको दाबी छ ।

चीनबाट आउने फलफूल रसुवा र तातोपानी नाका ठप्प भएपछि आउन सकेको छैन । अहिले बजारमा स्वदेशी र भारतीय फलफूलमात्र उपलब्ध छ ।

बढ्न थाल्यो तरकारीको भाउ

तरकारी भूकम्पअघि (रूपैयाँमा) जेठ ८ (रूपैयाँमा)
ठूलो टमाटर ४८ ७५
सानो टमाटर ६५ ७५
रातो आलु २८ २८
सेतो आलु १८ १८
सुकेको प्याज ४३ ४५
गाजर ४३ २८
लोकल काउली २८ २८
स्कुस १८ १४
निउरो ६५ ६३
ब्रोकाउली ४८ ४८
मसरुम १३५ १४५
मटर ५३ ७५
बरेला ४८ ४३
बन्दा २८

स्रोत : कालिमाटी तरकारी बजार

भूकम्पपछि स्वात्तै घटेको तरकारीको भाउ पुनः उकालो लाग्न थालेको छ । वैशाख १२ गते भूकम्प गएपछि त्यसको करिव ३/४ दिन तरकारीको भाउ आकाशिए पनि त्यसयता ओरालो लागिरहेको थियो ।

भूकम्पको डरले राजधानी छाडेर गएका सर्वसाधारण फर्किन थालेका छन् । उपभोक्ताको संख्या बढ्दै जान थालेपछि तरकारीको भाउ पनि बढ्दै गइरहेको व्यवसायी बताउँछन् ।

शुक्रबारको बजार भाउअनुसार कतिपय तरकारी भूकम्प अगाडिभन्दा महंगो छ भने कतिपय सस्तो देखिन्छ । कतिपय तरकारीको भाउ महंगो हुनुमा अफसिजन सुरु हुनु तथा उत्पादन घट्नु रहेको व्यवसायीको भनाइ छ ।

बजारमा टमाटरको भाउ महंगिएको छ । भूकम्प अगाडि ४८ रुपैयाँ रहेको ठूलो टमाटरको मूल्य अहिले ७५ रुपैयाँ पुगेको थियो । यसबीचमा टमाटरको भाउ ४०/४५ रुपैयाँमा झरेको थियो ।

सुकेको प्याज, च्याउ, मटरलगायतका तरकारीको भाउ अहिले बढेको छ । गाजर, स्कुस, बरेला बन्दा लगायतको मूल्य भने भूकम्प अगाडिको तुलनामा कम नै छ । बन्दा बाहेक यी तरकारीको भाउ पनि पछिल्ला दिनमा बढ्दै गइरहेको व्यवसायी बताउँछन् ।

Kalimati-tarkari-bazzar

भूकम्पपछि तरकारी उत्पादनमा निकै कमी आएको छ । कतिपय तरकारी उत्पादन हुने ठाउँहरुमा भूकम्पले ठूलो क्षति पुर्‍याइदिएको छ । कृषकहरु समेत अहिले भूकम्पको त्रासले काममा निस्कन सकिरहेका छैनन् । यही कारण पनि तरकारीको भाउ बढ्न थालेको बताइन्छ ।

ग्यास र पेट्रोल फालाफाल

राजधानीमा पेट्रोलियम पदार्थको खपत ५० प्रतिशतले घटेको छ । भूकम्पपछि ठूलो संख्यामा मानिसहरुले उपत्यका छोडेपछि पेट्रोलियम खपत घटेको हो । पेट्रोलियम पदार्थको खपत घटेपछि बजारमा पनि सहज रुपमा पाइएको छ । राजधानीमा ग्यासको पनि खपट घटेको छ ।

‘पेट्रोलियम पदार्थ सप्लाइमा केही समस्या छैन, देशभर स्टक छ’ निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने- ‘भारतबाट पनि नियमित रुपमा आउने काम भइरहेको छ ।’

देशभर रहेका डिपोमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ रहेको छ । थानकोट डिपोमा मात्र पेट्रोल १७ सय किलोलिटर र डिजेल ८ हजार १ सय लिटर स्टक रहेको निगमले जनाएको छ ।

Nepal-police-Petrol-pump
फाइल तस्वीर ।

थानकोटमा रहेको स्टकले पेट्रोलको माग ५ दिन र डिजेलको माग १५/१६ दिनसम्म धान्नसक्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । बजारमा तेल र ग्यासको अभाव नहुने उनको भनाइ छ ।

‘स्टक पनि राम्रो छ, नियमित रुपमा रक्सौलबाट २५/२६ सय किलोलिटर पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको छ’ प्रवक्ता घिमिरेले भने- ‘त्यसमाथि पेट्रोलियम पदार्थको उपभोग समेत आधा घटेको छ ।’

इन्डियन आयल निगम (आइओसी)ले मागेजति पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको निगमले जनाएको छ । अहिले ग्यासको उपभोग पनि ५० प्रतिशतले घटेको छ ।

मासिक १५ लाखको हाराहारीमा ग्यास खपत हुने गरेकोमा अहिले साढे ७ लाखको हाराहारीमा ग्यास खपत हुने निगमको अनुमान छ । राजधानीबाट झण्डै १० लाख मानिस बाहिरिएपछि ग्यासको खपत हृवात्तै घटेको हो ।

भूकम्पपछि अधिकांश होटल, रेष्टुरेन्ट, होस्टेल, पार्टी प्यालेसहरु बन्द हुँदा ग्यास खपत घट्न गएको निगमका निर्देशक शिताराम पोखरेल बताउँछन् ।

यसवीचमा आयल निगमले आइओसीलाई बुझाउनुपर्ने बक्यौता रकमसमेत तिरिसकेको छ । अब स्वदेशी संस्थाको मात्र ऋणको भार बोकिरहेको निगम प्रवक्ता घिमिरेले बताए ।

निगमले नागरिक लगानी कोषको ८ अर्ब ८५ करोड रुपैयाँ ऋणमध्ये ४ अर्ब तिरिसकेको छ भने कर्मचारी सञ्चय कोषको १० अर्ब ३५ करोड रुपैयाँमध्ये साढे ३ अर्ब रपैयाँ तिरिसकेको घिमिरेको भनाइ छ ।

खाद्यान्नको भाउ यथावत, अभावको संकेत

भूकम्पपछि होलसेल व्यवसायीहरु भागे पनि बजारमा अत्यावश्यक खाद्यवस्तुको मूल्य भने बढेको छैन । तर, होलसेल नखुल्दा केही खाद्यवस्तुको अभाव देखिए पनि अहिलेसम्म स्टकले धानिरहेको व्यवसायी बताउँछन् ।

खाद्यवस्तु भूकम्प अगाडि (रूपैयाँमा) जेठ ८ (रूपैयाँमा)
चामल (२५ किलो) १३००-१८५० सम्म बढेको छैन
दाल (अडर) १८०/८५ बढेको छैन
दाल (मास) १५५/६० बढेको छैन
दाल (मसुरो) १५५ बढेको छैन
चिनी ६५ बढेको छैन
चिउरा ६०/६५ बढेको छैन
आटा ४० बढेको छैन
चना ९५ १००
मटर ६५ बढेको छैन
जिरा ३५० ४००

अहिले खाद्यवस्तु पाइने खुद्रा पसलहरु अधिकांश खुलिसकेका छन् । तर, होलसेल व्यापार गर्दै आएका मारवाडीहरु भने अहिलेसम्म फर्किएका छैनन् ।

यही कारण बजारमा खाद्यवस्तुको अभाव हुने सम्भावना रहेको वुद्धनगरस्थित श्री सञ्जय साई स्टोरका केशव अधिकारी बताउँछन् । भूकम्पपछि चाउचाउ, चिउरा लगायतका जंक फुडको माग बढेपछि अभाव केही अभाव देखिएको छ ।

अहिले बजारमा चिउराको अभाव देखिन्छ । होलसेल बन्द भएर सकिएको समान ल्याउन नपाइएको अधिकारीको भनाइ छ । उनका अनुसार भूकम्पपछि जिराबाहेक अन्य वस्तुहरुको भाउ बढेको छैन ।

pasal haru (13)

तर, होलसेल बजार नखुल्ने र उत्पादन कम हुने अवस्था जारी रहेमा आगामी दिनमा खाद्यवस्तुको भाउ बढ्न सक्ने उनको भनाइ छ । त्यसो त भूकम्पले चिरा पारेको सडक वर्षामा बिग्रियो भने आपूर्ति सहज बनाउन धौ-धौ हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment