Comments Add Comment

ओडारमा बास बसेर किरिया बस्नुपर्ने परम्परा

९ जेठ, धनगढी । ओडारमा बास बसेर किरिया बस्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर डोटी जिल्लाको मान्नाकापडी गाविसका कतिपय क्षेत्रमा ओडारमा किरिया बस्ने अनौठो प्रचलन विद्यमान रहेको छ ।

मान्नाकापडीको मान्ना, बाजवाटा, बुढेटार, चुन्थला, बजाडलगायतका गाउँमा १३ दिनसम्म ओडारमा बसेर किरिया बस्ने परम्परा रहेको स्थानीय शिक्षक प्रकाश चन्दले बताए ।

किरिया बस्नेले अर्को व्यक्तिलाई छुन नमिल्ने र महिलाको नजरसमेत टाढा रहनुपर्ने मान्यताका कारण ओडारमा बसेर किरिया बस्ने परम्परा रहेको बताइएको छ ।

तेह्रौँ दिनमा नुहाई धुवाई र अन्य संस्कार गरी पीपल छोएर शुद्ध भई किरिया बस्नेले ओडारको बास छाड्ने गरेको शिक्षक चन्दले बताए ।
शान्त र एकान्त ठाउँमा एकाग्र मनले किरिया बस्दा अन्तिम संस्कार गरिएको पितृको आत्माको उद्धार एवम् चिरशान्ति हुने जनविश्वास रहिआएको छ । “मृत आत्माको चिरशान्ति र अग्रगामी निकासका लागि एकाग्र मनले शान्त ठाउँमा किरिया बस्नुपर्ने हिन्दू धर्मको मान्यता रहेको छ” ज्योतिष मनिराज जोशीले भने  “ओडारमा बास बसेर किरिया बस्ने परम्परा भने अनौठो नै हो ।”

पुत्र भएर जन्मिने छोराका लागि जीवनमा सबैभन्दा ठूलो कर्म धर्म नै मृत आत्माको चिरशान्तिका लागि किरिया बस्नुरहेको जोशीले बताए ।

किरिया बस्नका लागि मान्नाकापडी गाविसका विभिन्न ठाउँमा जताततै ओडार रहेका छन् । किरिया बस्नेको किरिया अवधिभर गाउँका छरछिमेकी पुरुषले आलोपालो कुरुवाको रुपमा रेखदेख गर्ने गर्दछन् । कुरुवा बस्नका लागि ओडार अगाडि स्याउला र घाँसपातले अस्थायी खालको टहरो बनाउने गरिन्छ ।

किरिया बस्नेले अन्य व्यक्तिलाई नछोएर दिनमा एक छाँक खाना आफैँ पकाएर खाने चलन रहेको छ ।

मान्नाकापडी क्षेत्रबाट दलित समुदायमा भने किरिया बस्ने परम्परा केही फरक ढङ्गको छ । दलित जातिमा कसैको मृत्यु भएमा किरिया बस्नुपर्नेले तीन दिन किरिया बसेर चोखिने चलन रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment