Comments Add Comment

सुख्खा पहिरोको जोखिममा रहेका म्याग्दीका २६ परिवारलाई सुरक्षित ठाउँमा सारियो

९ जेठ, काठमाडाैं । वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण पहाड भत्किएर पहिरोको जोखिममा परेको बैसरीका २६ घरधुरीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

कालीगण्डकी नदी पारी राम्चे गाविस–९ स्थित काफलडाँडाको भिर भत्किँदा जोखिममा परेका भगवती–२ बैसरी र राम्चे–९ को बस्तीलाई खाली बनाई सुरक्षित ठाउँमा सारिएको हो । शुक्रबार बिहान साढे चार बजेदेखि काफलडाँडाको भिरबाट निरन्तर सुख्खा पहिरो खसिरहेको छ ।

पहिरोले बैसरीमा पाँच वटा घर भत्काएर क्षति गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बैसरीका १६ र राम्चे औलका १० घरपरिवारलाई सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको हो ।

निर्णयलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म मुडभरि, रेडक्रस सभापति लेखबहादुर हमाल, सदस्य सुरज केसी, भगवतीका सचिव भोला आचार्य र राम्चेका सचिव कृष्ण विकमार्फत जोखिममा रहेका घरपरिवारलाई आवासका लागि एक एक थान पाल उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रहरी नायब उपरीक्षक हीरा गिरी, जिल्ला भूसंरक्षण अधिकृत दीवाकर पौडेललगायतको टोलीले पहिरो खस्ने ठाउँको स्थलगत अनुगमन गरेका थिए ।

बैसरीदेखि पाँच सय मिटरभन्दा बढी अग्लो अक्करे पहाडको धेरै ठाउँमा चिरा परेको र निरन्तर पहिरो खसेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment