Comments Add Comment

भूकम्पको केन्द्रबिन्दु बारपाकमा पानीको मुहान सुक्यो

९ जेठ, गोरखा । वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस–१ पोखरी गाउँको पूर्व र पश्चिम भएर बग्ने दुईवटा खोलामा पानी सुकेको छ ।

बारपाक र सौरपानीको सिमाना भएर बग्ने हर्स्याङ्खोला र सम्लेडाँडाबाट आउने खोला सुकेको स्थानीय बुधमाया गुरुङले जानकारी दिइन् ।
‘हाम्रो गाउँमा ल्याएको खानेपानीको दुइटै मुहान सुकेको छ, अहिले गाउँका मान्छे पानी लिन सौरपानी गाविसको कुलगाउँतिर जान्छन् ।’

कुलगाउँ पुग्न आधा घन्टा लाग्ने उनले बताइन् । ‘गाउँमा पानी ल्याएको एउटा मुहान सम्लेडाँडामा छ । अर्को हस्र्याङ्खोलाको मुहानमा छ’ उनले भनिन्, ‘मुहान थुनिएको होला भनेर गाउँले सबै मिलेर मर्मत गर्न जाँदा दुवै मुहान टपक्कै सुकेको भेटियो ।’  पोखरी गाउँमा एकसय घरधुरीको बसोबास छ ।

बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पका कारण सबैघर भत्केर पूर्ण क्षति भएको छ । पोखरीगाउँका छ जनाको मृत्यु भएको थियो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले खानेपानीको समस्या समाधान गर्ने प्रयास सुरु गरिएको बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment