Comments Add Comment

व्यापार घाटा बढ्यो, निर्यात ६४ अर्ब, आयात ५७७ अर्ब

९ जेठ, काठमाडौं । आर्थिक वर्षको सुरुवातसँगै ओरालो लागेको निर्यात व्यापारले चैतसम्म पनि निरन्तरता पाएको छ । यस अवधिमा विभिन्न मुलुकमा हुने नेपाली वस्तुको निर्यात ५.६ प्रतिशतले घटेको छ । तर, विदेशी वस्तुको आयात भने १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Byapar mela (21)

साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा जम्मा ६४ अर्ब रुपैयाँ बराबरको वस्तुहरु निर्यात गर्न सकिएको छ । जबकि यही अवधिमा विभिन्न मुलुकबाट ५ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तुहरु आयात गरिएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यस अवधिमा ६८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो भने ५ खर्ब २२ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि चैतसम्म मुलुकको व्यापार घाटा १२.९ प्रतिशतले वृद्धि भई ५ खर्ब १२ अर्ब नाघेको छ ।

यस वर्ष व्यापार घाटाको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा व्यापार घाटा २९.१ प्रतिशतले बढेको थियो ।

भारतसँगको व्यापार घाटा ६.५ प्रतिशतले बढेको छ भने चीनसँगको ५३.५ प्रतिशत र अन्य मुलुकसँगको ११.८ प्रतिशतले घटेको छ ।

भारततर्फ निर्यात घट्यो

यस वर्ष भारततर्फको निर्यात निर्यात घटेको देखिन्छ । अघिल्लो वर्षको चैत महिनासम्म २०.६ प्रतिशतले बढेको भारततर्फको निर्यात यस वर्ष ८.२ प्रतिशतले घटेको छ । चीनतर्फको निर्यात ८.१ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको निर्यात १.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

भारतमा अलैंची, जिंक शीट, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा ह्रास आएको छ भने चीनमा प्रशोधित छाला, हस्तकलाका सामान, तयारी पोशाक, चाउचाउ लगायतका वस्तुहरुको निर्यात बढेको छ । अन्य मुलुकमा दाल, प्रशोधित छाला, उनी गलैंचा, नेपाली कागज र कागजका सामानको निर्यात घटेको देखिन्छ ।

चीनको आयात वृद्धिदर उच्च

समीक्षा अवधिमा चीनबाट हुने वस्तुको आयात वृद्धिदर उच्च रहेको छ । भारत र अन्य मुलुकबाट भएको आयात बढे पनि वृद्धिदर भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चैत महिनासम्म चीनतर्फको आयात वृद्धिदर अघिल्लो वर्षको १४ प्रतिशतको तुलनामा यस वर्ष ५१.९ प्रतिशतले बढेको छ । भारतबाट हुने आयात ४.६ प्रतिशतले बढेको छ ।

भारतबाट यातायातका साधन तथा पार्टपुर्जा, चामल, एमएस ब्लेड, मेशिनरी तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको छ भने चीनबाट मेशिनरी तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, बिजुलीका सामान, रसायनिक मल लगायतको आयात बढेको छ । अन्य मुलुकबाट चाँदी, जहाजका पार्टपूर्जा, खाने तेल लगायतका वस्तुहरुको आयात बढेको देखिन्छ ।

अन्य मुलुकतर्फको आयात अघिल्लो वर्षको ३०.५ प्रतिशतको तुलनामा यस वर्ष ९.५ प्रतिशतले मात्र बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment