Comments Add Comment

अष्ट्रेलियाका स्वास्थ्यकर्मी भन्छन्-मानसिक स्वास्थ्यलाई ध्यान दिऔं

९ जेठ, काठमाडौ । अष्ट्रेलियाबाट भूकम्पपीडितहरुको सहयोगका लागि नेपाल आएका स्वास्थ्यकर्मीले भूकम्प प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्यको समस्या जटिल रहेको बताएका छन् ।

bharat-nepal-(1)

अष्ट्रेलियाबाट रोटरी क्लवको समन्वयमा नेपाल आएका स्वास्थ्यकर्मी भरत नेपालले भूकम्प प्रभावित क्षेत्रहरुका बालबालिकादेखि वृद्धासम्म नै मानसिक तनाव मुख्य समस्याको रुपमा देखिएको बताए ।

अष्ट्रेलियाको सिड्नीस्थित साउथ वेष्टर्न सिड्नी लोकल हेल्थ डिष्ट्रिक्टको डिभिजन अफ पपुलेसन हेल्थ एण्ड प्लानिङमा कार्यरत नेपालले रोटरी क्लवकै तर्फबाट नुवाकोट, काभ्रे, भक्तपुर तथा काठमाडौका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

‘प्रभावित क्षेत्रका मानसिक तनाव नै मुख्य समस्याको रुपमा देखिएको छ’, उनले भने, ‘मानसिक स्वास्थ्यलाई नै फोकस गरौं ।’

भूकम्पको पराकम्पन अझै रोकिएको छैन । भूकम्पले घर भत्किएर र पराकम्पनको त्रासदीले खुला चौरमा त्रिपालमुनी बसेकाहरु पनि भूकम्पको झड्का आउँदा भाग्ने गरेका छन् । ‘त्रिपालमुनी बसेका मान्छेहरु भूकम्प आउँदा किन दौडिन्छन्,’ उनले भने ‘यी सबै मानसिक तनावकै असर हुन् ।’

मानसिक रोग स्वीकार्न नसक्ने नेपालीहरुको समस्या रहेको उनले बताए । ‘मानसिक समस्या जो कसैलाई पनि हुन सक्छ,’ उनले भने, ‘अष्टे्रलिया पुगेका नेपालीले समेत मानसिक समस्या लुकाउने गरेका छन् ।’
‘पीटीएसडी’ अभियान आवश्यक

भूकम्पको मुख्य प्रभावित क्षेत्रहरुमा पीटीएसडी (पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर) अभियान चलाउनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । पीटीएसडी तालिम खासगरी युद्धबाट फर्किएकाहरुलाई दिइने परामर्श हो ।

भूकम्प प्रभावितहरुलाई सामान्यीकरण गर्न पनि यस्तो तालिम आवश्यक रहेको स्वास्थ्यकर्मी नेपालले बताए । अष्ट्रेलिया लगायतका कतिपय देशहरुमा ‘ड्राइभर्सन अफ थेरापी’ कोर्ष कलेजहरुमा कोर्ष नै हुने गरेको पनि उनले बताए ।

‘माइक्रो न्यूट्रोन डेफिसियन्सी’ हुन सक्ने

भूकम्पबाट प्रभावित सवै क्षेत्रमा राहत वितरण कार्य भई रहेको छ । तर राहतका नाममा चाउचाउ र विस्कुट वितरण अधिक छन् ।

नेपालका अनुसार पीडित मान्छेहरु खानाको सट्टा चाउचाउ खाएर जीवन धानिरहेको अवस्था रहेको छ । त्यसैले चाउचाउ मात्रै खाँदा शरिरलाई आवश्यक पर्ने पोषण प्राप्त हुँन सक्दैन, त्यसैले अधिकंशलाई माइक्रो न्यूट्रोन डेफिसियन्सी’ (सुक्ष्म पोषण अभाव) हुन सक्छ ।

मोडेल भिलेजको तयारी

रोटरी क्लवले भूकम्प प्रभावित १४ जिल्लाहरुमा घर निर्माण गरिदिने घोषणा गरिसकेको छ । प्रभावित क्षेत्रमध्ये एक ठाउँमा रोटरी मोडेल भिलेजको अवधारणा अघि सारिएको पनि नेपालले जानकारी दिए । तर मोडल भिलेजको लागि स्थान भने तय भइनसकेको पनि उनले जानकारी दिए ।

रोटरी क्लव अफ काठमाडौ र रोट्रयाक्ट क्लव आफ काठमाडौको सहकार्यमा नुवाकोटको कुमारी चौघारा, भक्तपुरको सिरुटार, काठमाडौको बाडस्थली लगायतका ठाउँमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment