Comments Add Comment

भूकम्पका कारण नेपालीहरु पूर्ण साक्षर हुन पाएनन्

Janajagriti School Sindhupalchok

  • भूकम्पले क्षतिग्रस्त रामेछापको जनजागृति उच्च मावि । तस्वीर : श्रीधर पौडेल

ईश्वरी अधिकारी

९ जेठ, काठमाडौं । सन् २०१५ भित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने सरकारको लक्ष्य भूकम्पका कारण पूरा नहुने भएको छ । पूरै देशलाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्यअनुसार अनौपचारिक शिक्षा केन्द्रले ६८ जिल्लामा ‘राष्ट्रिय साक्षरता अभियान’ सञ्चालन गर्दै आएको थियो ।

साक्षरता अभियानअन्तर्गत हालसम्म ६ वटा जिल्ला पूर्ण साक्षर भैसकेका छन् । १० वटा जिल्ला घोषणाको अन्तिम तयारीमा थिए । ‘भूकम्पले हाम्रो अभियान पूरै ठप्प भयो,’ अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भने, ‘यसै वर्ष पूरै देश पूर्ण साक्षर बनाउने हाम्रो लक्ष्य पूरा नहुने भयो ।’

बजेट फिर्ता गर्ने तयारी

साक्षरता अभियानका लागि चालु आर्थिक वर्षमा १ अर्ब ५ करोड ७० लाख १५ हजार रुपैयाँविनियोजन गरिएको थियो । अभियान चलेका ६८ जिल्लामध्ये १७ जिल्लामा सघन कार्यक्रम चलाइएको थियो ।

सघन कार्यक्रम चलाइएका १७ जिल्लामध्ये नुवाकोट सबैभन्दा धेरै प्रभावित भएको छ । नुवाकोटमा १ करोड ९८ लाख ७७ हजार ३२६ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । साक्षरता अभियान रोकिएपछि त्यसका लागि विनियोजित बजेट भूकम्प पीडितको राहत तथा उद्धारका लागि फिर्ता गर्ने तयारी भैरहेको छ ।

‘नुवाकोटको कार्यक्रम निकै प्रभावकारी भैरहेको थियो । तर बिचमै रोक्नु पर्‍यो,’ महानिर्देशक पौडेलले भने, ‘निरक्षर नागरीकहरु साक्षरता कक्षामा सहभागी हुन मानसिकरुपमै तयार हुन केही समय लाग्ने देखिएको छ ।’

पूर्णसाक्षरको कार्यक्रम चल्दै आएका गोरखा, लमजुङ, दोलखा, रामेछाप, नुवाकोट, रसुवालगायतका जिल्ला अति प्रभावित भएका छन् ।

भूकम्पले साक्षरता अभियानलाई पारेको प्रभावबारे अनुगमन गरिरहेका केन्द्रका डेपुटी डाइरेक्टर विष्णु मिश्रले भूकम्प प्रभावित जिल्लामा तत्काल कक्षा सन्चालन गर्न सकिने अवस्था नरहेको बताए ।

सकेसम्म सन् २०१५ भित्रै पूर्ण साक्षर घोषणा अभियानलाई सफल बनाउनका लागि सबै प्रकारका प्रयास गरिने मिश्रले बताए । तर, सफल हुने सम्भावना भने कम रहेको उनको ठम्याइ छ ।

‘भूकम्पले कक्षा सञ्चालन हुन नसके पनि ०७२ असार मसान्तभित्र राष्ट्रिय साक्षरता अभियानलाई टुंग्याइने तयारी भैरहेको छ,’ मिश्रले भने, ‘साउन पछि निरक्षरलाई साक्षर बनाउन पूरै कोशिस गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment