Comments Add Comment

अवैध काठ काटेका ब्यापारीलाई छाड्न माग गर्दै डण्डा बजार बन्द

रामकुमार श्रेष्ठ

९ जेठ, नवलपरासी । अवैधरुपमा काठ काटेको आरोपमा पक्राउ परेका बजार व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारीहरुलाई छाड्नु पर्ने माग गर्दै स्थानीय व्यवसायीहरुले बन्द गराएकाे नवलपरासीको कावासोती नगरपालिका १६ डण्डाको डण्डा बजार दिउँसो ३ बजेबाट खुलेको छ ।

शुक्रबार राति प्रस्तावित अंकुर सामुदायक वनमा गएर काठ काटि रहेको अवस्थामा पक्राउ परेका डण्डा बजार विकास तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर केसी, सचिव होमनाथ सुवेदी र कामदार विष्णु विकलाई छुटाउनका लागि समितिको नामबाट बिहानबाट बजार बन्द गरिएका थिए । उनीहरुलाई सेक्टर वन कार्यालय त्रिभुवनटारले रङ्गेहात पक्राउ गरेको थियो ।

पक्राउ परेका पदाधिकारीहरुलाई आइतबारसम्म नछाडे थप आन्दोलन गर्ने चेतावनी दिइएको छ । सालको रुख काटेर ल्याउन ल्याएको अवस्थामा पक्राउ परेको जिल्ला वन कार्यालयका सहायक जिल्ला वन अधिकृत लालबहादुर कुर्मीले बताए ।

पक्राउ परेका व्यक्तिहरुले साप्ताहिक हाट बजार स्थलमा निर्माण हुन लागेको सार्वजनिक शौचालय र प्रहरी चौकीका लागी भन्दै अवैध रुख काटेको बताउँदै आएको वन कार्यालयले जनाएको छ । स्थानीयले भने काठ तस्कर भईरहेको थाहा पाएपछि जाँदा उल्टै वन कर्मचारीले पक्राउ गरेको जनाएको छ ।

अनुमतिविना रातको समयमा अवैधरुपमा काठ चोरी गर्ने तीनै जनालाई आवश्यक कारबाहीका लागी वन कार्यालयको बडेरास्थित बेस क्याम्पमा राखिएको सहायक जिल्ला वन अधिकृत कुर्मीले बताए ।

उनीहरु सबैलाई आइतबार वन ऐन अन्र्तगत मुद्दा दायर गरेर थप कारबाही प्रकृया अगाडी बढाईने कुर्मीले जानकारी दिए । इलाका वन कार्यालय कावासोतीका सहायक वन अधिकृत कृष्ण देवकोटाका अनुसार सेक्टर वन कार्यालय त्रिभुवनटारले तीन जनालाई शुक्रवारराति काठ काटिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेकालाई राति नै बडेरा चलान गरेको वन कार्यालय त्रिभुवनटारका गणेश ढुंगानाले बताए । डण्डा बजारमा शौचालय निर्माणका विषयलाई लिएर विगत केही समयदेखि विवाद शुरु हुँदै आएको छ । वातावरण मैत्री सुशासन कार्यक्रम अन्तरगत डण्डामा सार्वजनिक शौचालय निर्माणका लागि कावासोती नगरपालिकाले दुई करोडबाट बजेट छुट्याएको हो ।

हाट बजार लाग्ने उक्त बजार क्षेत्र भित्र शौचालय निर्माण गर्दा बजार दुर्गन्धित हुने भन्दै हाट बजार व्यवसायीहरुले पनि त्यसको विरोध गरेका छन् । हाट बजार व्यवसायीहरुले भने शौचालय निर्माण नरोकिए हाट बजार नै लाग्न नदिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment