Comments Add Comment

भूकम्पले पर्यटन क्षेत्र प्रभावित, साहसिक खेलकुद शून्य

Pokhara from Ultra Flight_650 (2)

सन्देश श्रेष्ठ
९ जेठ, पोखरा । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका पराकम्पनले पोखराको साहसिक खेलकुदमा नकारात्मक असर परेको छ । पोखराको पर्यटन क्षेत्रमा करिब/करिब बर्चस्व जमाउँदै आएको साहसिक खेलकुद अहिले लगभग शून्य जस्तै छ ।

एक दिनमै ३ सय बढी प्याराग्लाईडिङ हुने गरेको सराङकोट डाँडाबाट अहिले ब्यवसायीक रुपमा एउटा पनि फ्लाईट नभएको नेपाल हवाइ खेलकुद संस्था ‘ना’का महासचिव वसन्तराज दवाडीले बताए । उनका अनुसार अहिले सोलो पाइलट १-२ जनाले मात्र प्याराग्लाईडिङ गर्ने गरेका छन् ।

पहिले भिडभाड, अहिले सुनसान

साहसिक खेल प्याराग्लाईडिङ, अल्ट्रालाईट, जिप फ्लायर र बञ्जिजम्प गर्नकै लागि पर्यटकहरु ताँती लागेर देश/विदेशबाट पोखरा आउने गर्दथे । तर, भूकम्प पछिको करीब एक महिनामा साहसिक खेलकुद लगभग शून्यमा झरेको पर्यटन व्यवसायीको भनाइ छ ।

नेपाल आउन चाहने पर्यटकहरुले भूकम्पपछि टिकट क्यान्सिल गरेका छन् । नेपालमा रहेकाहरु पनि बसाईं छोट्याएर फर्किएका छन् । भूकम्पको प्रभाव पोखरामा खासै नपरेपनि पर्यटकहरु त्रसित छन् ।

पोखराको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पार्ने पुतलीजहाज -अल्ट्रालाईट)मा उड्ने संख्या पनि अहिले शून्यमा झरेको छ । दैनिक एक सय बढी फ्लाईट हुने अल्ट्रालाईटमा अहिले उड्न चाहने मान्छे नै पाईंदैन । एभिया क्लव, पोखरा अल्ट्रालाईट र फिष्टेल अल्ट्रालाईटले उडान गर्दै आएको भएपनि भूकम्प पछि व्यवसायीक रुपमा एकपटक पनि उडान नभएको ‘ना’का महासचिव दवाडीले बताए ।

पछिल्लो क्रममा पर्यटकलाई लोभ्याएर पोखरा आउन बाध्य पार्ने जिप फ्लायर र बञ्जिजम्पमा पनि अहिले चहलपहल शून्य छ । भूकम्प अघि जिप फ्लायर गर्न दैनिक ६०/७० जना र बञ्जिजम्प गर्न दैनिक करीब ५० जना आउने गरेपनि भूकम्प पछि एकजना पनि नआएको हाइग्राउण्ड एडभेन्चर्स प्रालिका अप्रेसन म्यानेजर दिनेश महर्जनले जानकारी दिए ।

Pokhara paraglaiding (1)

‘मूडमा छैनन् पर्यटक’

पोखराको पर्यटनमा आन्तरिक पर्यटकको महत्वपूर्ण भूमिका भएपनि भूकम्पले नेपालका प्रायः सबै क्षेत्रमा घर भत्काउनुका साथै ज्यान जानु र भूकम्पको त्रास अझैपनि रहिरहेका कारण साहसिक खेलकुदमा त्यसको प्रभाव देखिएको छ । त्यस्तै देश दुःखीरहेका बेला रमाईलो गर्ने मूड नहुँदा पनि साहसिक खेलकुदमा रमाउन नआएको व्यवसायीहरुको अनुमान छ ।

पोखरामा ५६ वटा प्याराग्लाईडिङ कम्पनी दर्ता छन् भने ती मध्ये ४६ वटा कम्पनीले सेवा दिइरहेका छन् । एउटा कम्पनीले ६ वटा ग्लाईडरसम्म राख्ने गरेका छन् भने एउटा ग्लाईडरले दैनिक ३ पटकसम्म उडान गर्न पाउँछ ।

पुनरुत्थान गर्न १५ प्रतिशत छुट

भूकम्पबाट प्रभावित भएको पोखराको साहसिक खेल पर्यटन व्यवसायलाई पहिलाकै अवस्थामा फर्काउन सम्बन्धित कम्पनीहरुले १५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

पोखरा पर्यटन पुनरुत्थान समिति (पिटीआरसी)को नेतृत्वमा पोखराका साहसिक खेल पर्यटन व्यवसायीहरुले छुट दिने घोषणा गरेको समितिका संयोजक गणेशबहादुर भट्टराइले बताए ।

उनका अनुसार प्याराग्लाईडिङ, अल्ट्रालाईट, जिप फ्लायर र बञ्जिजम्पले सेप्टेम्बरसम्म १५ प्रतिशत छुट दिनेछन् । छुटसँगै खेल पर्यटनमा पुनर्जागरण हुने र त्यसले समग्र पोखराको पर्यटनलाई नै माथी उठाउने अपेक्षा गरिएको खेल पर्यटन व्यवसायी तथा पोखरा अल्ट्रालाईटका सञ्चालक बिप्लव पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment