Comments Add Comment

भूकम्पपछि बियर खपतमा कमी

bear

९ जेठ, चितवन । भूकम्पपछि आर्थिक क्षेत्रमा परेको प्रभावका कारण राजस्व सङ्कलनमा झन्डै आधा कमी आएको छ ।मदिराजन्य पदार्थको ठूलो हिस्सा ओगटेको आन्तरिक राजस्व कार्यालय भरतपुर गएको वैशाख महिनामा ५९.०८ प्रतिशतमात्र राजस्व उठाउन सफल भएको छ ।

यस क्षेत्रमा देशको कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी बियर उत्पादन हुन्छ । भूकम्पपछि बियर खपतमा कमी आएसँगै राजस्व असुलीमा निकै कमी आएको प्रमुख कर अधिकृत टीकाराम भुसालले बताए ।

गत वैशाखमा रु ९४ करोड ६६ हजार लक्ष्य लिइएकामा रु ५५ करोड ५४ लाख ३४ हजार मात्र राजस्व सङ्कलन भएको छ । यो कुल लक्ष्यको ५९.०८ प्रतिशत मात्र हो ।

प्रमुख भुसालका अनुसार वैशाखमा ८७ करोड ३० लाख ३७ हजार अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य लिइएकामा ५० करोड २२ लाख ५४ हजार रूपैयाँ मात्र राजस्व सङ्कलन भएको छ, जुन लक्ष्यको ५७.५३ प्रतिशतमात्र हो ।

अन्तःशुल्कमा मात्र ३७ करोड रूपैयाँभन्दा बढी नोक्सान भएको छ । अन्य आयकरमा लक्ष्यभन्दा बढी ११७.५३ प्रतिशत तथा शिक्षामा ५४९ दशमलब ६६ प्रतिशत राजस्व उठेको छ । घरबहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर र स्वास्थ्यसेवा करमा पनि लक्ष्यभन्दा निकै कममात्र राजस्व उठेको प्रमुख भुसालले बताए ।

आन्तरिक राजस्व कार्यालय भरतपुरले चितवन र नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र हेर्छ । नवलपरासीमा दुई र चितवनमा एउटा बियर उद्योग रहेको र तिनको उत्पादन देशभरको बियरको कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी हुने कर अधिकृत केशव ओलीले बताए ।

गत वर्ष वैशाख महिनामा बढ्दो गर्मी, विवाह र पार्टीलगायत कारण अन्य महिनामा भन्दा मदिराजन्य पदार्थको खपत बढी हुने भए पनि यस वर्ष भूकम्पका कारण सबै उत्पादन उद्योगमै थन्किएको उत्पादक कम्पनीले जनाएका छन् । यस क्षेत्रको नवलपरासीको मुकुन्दपुरमा गोरखा ब्रुअरीले टुबोर्ग, काल्सबर्ग, गोरखा र सानमिगल बियर तथा नवलपरासीकै चौधरी ग्रुपले नेपाल आइस, नेचुरा र चितवनको एभरेस्ट ब्रुअरीले टाइगर र एभरेस्ट बियर उत्पादन गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment