Comments Add Comment

ओखलढुंगाबासीको गुनासो : प्राविधिकले भत्केको घरमा बस्न भने

९ जेठ, काठमाडौं । ओखलढुंगा जिल्लामा भूकम्पीय क्षतिको विवरण संकलन गर्न गएका सभासदहरु जिल्लामा ६४ प्रतिशत घर भत्किएको रिपोर्ट लिएर काठमाण्डौं फर्किएका छन् ।

जिल्लाका केही वस्तीहरु पहिरोको जोखिममा परेकाले तत्कालै अन्यत्र सार्नुपर्ने र वर्षायाममा यातायात अवरुद्ध हुने बस्तीहरुमा तत्कालै खाद्यान्नको जोहो गरिनुपर्ने सभासदको प्रतिवेदनमा सुझाव दिइएको छ ।

सभासद गोकुलप्रसाद घर्ती, गोपाल दहित, दूर्गा पौडेल, सञ्जयकुमार गौतम र संसद सचिवालयका शाखा अधिकृत सञ्जय दाहालले मिलेर तयार पारेको जिल्लाको प्रतिवेदनमा केही निश्कर्ष यस्ता छन् :

-प्राविधिकहरुले बस्न नहुने घरलाई बस्न लायक र बस्न हुने घरहरुलाई भत्काउनुपर्ने सूचीमा पारेको स्थानीयको गुनासो छ ।

-वर्षायाम अगावै पहिरोको जोखिममा परेका स्थानको पहिचान गरी त्यहाँका बस्ती सार्नुपर्ने देखिएको छ ।

-राहतमा पक्षपात भएको छ, सबैले समानरुपमा पाउनुपर्छ । राहतका विषयमा स्थानीयवीच द्वन्द्व बढेको छ ।

-सरकारले प्रदान गरेको राहत अपर्याप्त छ । क्षतिको विवरण र राहतको विवरणमा तालमेल छैन ।

-तरकारी खेती प्रभावित भएको छ । टनेलका प्लाष्टिक भूकम्प पीडितले प्रयोग गरेका छन् ।

-प्रहरीका हतियार पालमा राख्नु परेकाले असुरक्षित भएका छन् । जेलमा महिला र पुरुष बन्दीलाई छुट्याइएको गाह्रो भत्किएको छ ।

-जिल्लाका ५० गाविसमध्ये ३० वटामा मात्रै सचिवहरु छन्, बाँकी सचिवविहीन छन् ।

-जैन समाजले पाल बाँडेपछि स्थानीय प्रशासनले फिर्ता मागेको छ ।

-केही स्वास्थ्य चौकीमा औषधि पुरिएका छन् ।

-सोलार ध्वस्त भयो, ढिकी जाँतो पुरिँदा समस्या भयो ।

-टार केराबारीमा जमिन फुटेको छ, हर्कपुर, बेलम्बु, प्राप्चा लगायतका गाविसका केही वस्तीहरु पहिरोको जोखिममा छन् ।

-ओखलढुंगामा २२ को मृत्यु भएको छ भने २१ जना हराएका छन् । १२९ घाइते छन् । कूल घरमध्ये ६४ प्रतिशत अर्थात २० हजा ६ सय ९८ घरमा क्षति पुगेको छ ।

-कुल ३३२ मध्ये ५२ विद्यालयमा क्षति भएको छ । २४१ विद्यालयमा आंशिक क्षति पुगेको छ । ५६ वटा स्वास्थ्य संस्थामध्ये ३३ वटामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment