Comments Add Comment

जनताका लागि सरकारको ढुकुटी खुल्ला गर्न प्रचण्डको आग्रह

९ जेठ, सिन्धुपाल्चोक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावित जनतालाई पुनर्वास र राहतका लागि ढुकुटी खुल्ला गर्न सरकारलाई सुझाव दिएका छन् ।

prachanda

आपत विपतमा आफूहरुलाई सहयोग होस् भनेर नै जनताले राज्यलाई कर तिरेको भन्दै उनले अब सरकारले गुन तिर्नेबेला आएको बताए ।

सिन्धुपाल्चोकको माङ्खा गाविसस्थित कुपकन्या माविको भवन पुनर्निर्माणको शनिबार सुरुवात गर्दै प्रचण्डले भने, ‘राज्यले चाहने हो भने खर्बौं रकम परिचालन गर्न सक्छ । जनता विपत्तिमा परेका बेला सरकारले मुठ्ठी खोलिदिने बेला यही हो ।’

कर्णालीले लगायो गुन

प्रचण्डसहित एमाओवादी नेता-कार्यकर्ताहरु ठूलोपाखर, डाँडापाखर, थुम्पाखर, फुल्पिङडाँडा, बिन्जेल, माङखा गाविसका बिभिन्न स्थानमा सरसफाइ तथा पुनर्निर्माणको काममा सहभागी भएका छन् । माङ्खा गाविसमा कर्णालीबाट कालीबहादुर मल्लको नेतृत्वमा टोली खटिएको छ ।

त्यो देखेर प्रचण्डले १० वर्षको जनयुद्धको स्मरण गरे । ‘जनयुद्धमा पूर्वबाट पश्चिम पुगेर आन्दोलन गर्दा ठूलो राजनीतिक परिवर्तन आयो । अहिले कर्णालीका साथीहरु सिन्धुपाल्चोकमा आएर काम गर्नुभएको छ । नयाँ नेपाल निर्माणमा यसको ठूलो अर्थ छ,’ प्रचण्डले भने ।

त्यतिबेला नयाँ राजनीतिक परिवर्तनका लागि लडेको भन्दै उनले अहिले प्रकृतिको विपत्तीसँग सबै राजनीतिक दल मिलेर लड्ने समय आएको धारणा राखे ।

अनन्तले भने-मृत्युमाथि व्यापार नगर

कार्यक्रममा एमाओवादी नेता वर्षमान पुन अनन्तले विपत्तिकोबेला राजनीति गर्न सत्तारुढ दल सक्रिय भएको आरोप लगाए । एउटा मन्त्रीले रकम माग्दा अर्को मन्त्रीले नदिने गरेको भन्दै उनले भने, ‘विपत्तिका बेला राजनीति गर्नु भनेको मृत्युमाथिको व्यापार हो ।’

एमाओवादी नेता अग्नि सापकोटाले कर्णालीका जनताले आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकमा गरेको सहयोगले नतमस्तक भएको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा सबैले स्वार्थ नराखि सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी एमाओवादी नेताहरुले भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासको व्यवस्था मिलाउन र तत्काल पर्याप्त खाद्यान्न जोहो गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने प्रचण्डले बताएका थिए ।

पुनर्निर्माणको काममा शुक्रबार सिन्धुपाल्चोक पुगेका प्रचण्ड शनिबार पनि उतै बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment