Comments Add Comment

काली थुनिएपछि १२३ जनालाई सुरक्षित स्थानमा सारियो

kali-10सन्देश श्रेष्ठ

१० जेठ, पोखरा । म्याग्दीको ७ किलोमिटर उत्तर क्षेत्रमा पर्ने बैसेरीमा भीषण पहिरो खस्दा कालिगण्डकी नदी थुनिएको छ । शनिबार अपरान्हदेखि परेको भीषण वर्षापछि झरेको पहिरोले आइतबार विहान २ बजेदेखि कालिगण्डकी नदी थुनिएको हो ।

राम्चे-९ काफलडाँडा नजिकैको चट्टानी पहाड खस्दा भगवती-२ स्थित बैसेरीमा नदी थुनिएको प्रहरी नायब महानिरिक्षक (डिआईजी) पंकज श्रेष्ठले जानकारी दिए । पहिरो १ किलोमिटर लम्बाई, १ सय मिटर चौडाई र १५० मिटर गहिराई भएर थुनिएको उनले बताए ।

उनका अनुसार नदी थुनिएपछि राती नै उक्त क्षेत्रमा बसोबास गर्दै आएका कालिगण्डकी नदी किनारस्थित राम्चे गाविस ९ र भगवती-२ का २६ परिवारका १२३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला कारागार म्याग्दीका कैदी बन्दीलाई जिल्ला विकास समितिको हलमा सारिएको डिआईजी श्रेष्ठले जानकारी दिए । बेनीबजारका स्थानीय अहिले अग्लो स्थान खोज्दै अर्थुङ्गे पुगेर बसेको बुझिएको छ

त्यस्तै गलेश्वर, बेनी बजार, तातोपानी र दाना गाविसका तल्लो क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरिएपछि उनीहरु पनि सुरक्षित स्थानतर्फ गएको उनले बताए । थुनिएको कालिगण्डकीको बाँध फुटेर बाढी आउने खतरा बढेको भन्दै प्रहरीले माईकिङ गरेर बेनीबजार बासिलाई सतर्क र सचेत रहन आह्वान गरेको थियो ।

डिआइजी श्रेष्ठले थुनिएको पहिरो खुलाउन त्यत्ति सजिलो नभएको बताए । खुलाउनको लागि बिस्तारै पानी खोल्नु पर्ने भएकाले केन्द्रबाट उपकरणसहित सेनासहितको सुरक्षाकर्मी ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए । पहिरो आफै एक्कासी फुट्यो वा ह्वात्तै खुलाइएमा तल्लो क्षेत्र डुबानमा पर्ने खतरा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment