Comments Add Comment

कालीगण्डकी खुलाउन सुरक्षाकर्मी परिचालन : प्रधानमन्त्री

१० जेठ, काठडमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिएका छन् ।  सकेसम्म आजै पानी खोल्ने प्रधानमन्त्रीले बताएका छन् ।
Kaligandaki-news

  • पहिरो खसेको स्थानमा प्रहरी र स्थानीय । पहिरो झर्दा उडेको धूलोले हेलिकोप्टर अवतरण गर्नसमेत सकेको थिएन । तस्वीर : सन्तोष गौतम

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सकेसम्म आजै नदी खोलेर जनजीवन सामान्य पार्ने प्रयास गरिने बताए ।

जोखिम क्षेत्रमा रहेका जनतालाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेको भन्दै प्रधानमन्त्रीले जनतालाई धैर्यधारण गर्न आग्रहसमेत गरे ।

‘भूकम्पपछि हावाहुरीले पनि क्षति गरेको छ, प्रधानमन्त्रीले भने, सकेसम्म आजै कालीगण्डकी नदी खोल्ने प्रयास गरिने छ, यस्तो बेलामा सबै जनताले धैर्य गरौं ।’

सात जिल्लामा उच्च सतर्कता अपनाउन गृहको आग्रह

म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, गुल्मी, पाल्पा र नवलपरासीको गण्डकी नदी आसपासका बस्ती सार्न र उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले आग्रह गरेको छ

सुख्खा पहिरोले काली गण्डकी थुनिएपछि म्याग्दीसहितका सात जिल्लामा उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले स्थानीय प्रशासनमार्फत् निर्देशन दिएको छ ।

म्याग्दीको राम्चे गाविस-९ बैसरीमा आइतवार विहान माथिबाट खसेको सुख्खा पहिरोले नदी थुनिएपछि नदी आसपासका सात जिल्लालाई उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले निर्देशन दिएको हो ।

म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, गुल्मी, पाल्पा र नवलपरासीको गण्डकी नदी आसपासका बस्ती सार्न र उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले आग्रह गरेको छ ।

नवलपरासी प्रशासनको अर्को सूचना

यसैवीच गृहको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले सार्वजनिक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन नदी किनाराका नागरिकहरुलाई अपिल गरिएको छ ।

म्याग्दीको राम्चे गाविसको काफलडाँडामा पहिरो जाँदा कालीगण्डकी नदी थुनिन गई जलाशय बन्न गएकाले जलाशय जुनसुकै समयमा पनि फुट्न गई नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट कालीगण्डकी र नारायणी आसपासका वस्तीहरुमा जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई नदी किनारमा नजान, व्यवसायजन्य अन्य क्रियाकलापहरु नगर्न र नदी किनारका वस्तीहरुका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा सम्बद्ध निकायहरुसँग समन्वय गरी जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाई सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखिएको पनि प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment