Comments Add Comment

एउटा पार्टीले अर्को पार्टीको घर बनाउँ

बसन्त रानाभाट
वैशाख १२ गते गएको बिनाशकारी महाभूकम्प पछि देशको अबस्था यस्तो बनिदियो न कसैले सोचेंको थियो,न कि कहिल्यै कल्पना समेत गरियो। देशमा भएको लुछाँचुडी र राजनीतिक भाँगबण्ड़ाले हैरानी खेपेका नेपाली जनताहरुले धेरै सोचेका भए,”लौ फेरि पनि नेताहरुले संबिधान बनाउने भएनन् देश बर्बाद भयो।” बस् यति मात्र कल्पना गर्न भ्याएका थिए होलान्। तर समयले फरक मोड लियो। संबिधानको आशा बोकेको देशमा सैतान नै बनेर भूकम्प आयो,जसले पटक पटक तर्साइरहेको छ।

वसन्त रानाभाट
वसन्त रानाभाट

करिब १ महिना अगाडि त हामी नेपालीहरु धेरै सुखी पो रहेछौं जस्तो लाग्छ। कम्तिमा बस्नलाई बास थियो, जसरी तसरी गुजारा चलेकै थियो। हुनेले मीठो चोखो खाएका थिए, नहुनेले एक छाक भए पनि सन्तुष्टिले। माग्नेहरुले पनि पेट भरेकै थिए, दिनेहरु पनि भेटिन्थे। तर आज समयले फरक मोडमा ल्याइदियो। पेट भर्नकै लागि धेरैलाई माग्ने बनाइदियो। घरबारविहीन बनाइदियो।मनमा पीडा र चोटको भारी बोकाइदियो। नियतिको खेल धेरैलाई टुहुराटुहुरी बनाइदियो।

मानसिक रुपमा त सबैलाई भूकम्पका बिरामी बनाईदियो, मोवाइलमा भाइब्रेसन हुँदा पनि भुइँचालो गए जस्तो भ्रममा पुग्नुपर्ने अवस्थामा ल्याइदियो।

प्राकृतिक प्रकोपको, जो कसैले, जहाँ जहिले, जस्तोसुकै अवस्थामा पनि सामना गर्नुपर्ने हुन्छ। जापान जस्तो बिकसित मुलुकले पनि यसको पटक पटक सामाना गर्दै आएको छ। होला विपत्तिको घडीमा अपनाउने संयन्त्रले धेरै छिटो त्यहाँका जनताहरुले राहत पाएका थिए  होलान्। तर, दुखको पीडा उस्तै हो। घरका सदस्यहरु, आफन्त गुमाउँदाको पीडा कम गर्ने संयन्त्र त्यता पनि सायदै छैन होला। आखिर दर्द, घाउ, चोट बेदना सबैलाई उस्तै उस्तै।

निराशाले झन् अवस्था कहालीलाग्दो बन्न सक्छ, त्यसैले दुखलाई शक्तिमा बदल्ने समय अबको समय हो। सकारात्मक सोच राख्दै अगाडि बढ्ने समय हो। तपाई, हामी नै बिचलित भयौं भने हाम्रा साना बालबालिकामा भूकम्पले पारेको मनोबैज्ञानिक असरलाई कसरी चिर्न सक्छौं र ? तसर्थ अबका बेला मुटु दरो पार्दै देश पुनर्निमाणमा जुट्ने बेला हो।

हिजो होस् वा आज देश बनाउने वा बिगार्ने सबै जिम्मेबारी राजनीतिक दलहरुकै छ । अहिले मात्र हैन यो विपत्ति अगाडि पनि नेपाल र नेपाली जनताका सम्पूर्ण जिम्मेबार यिनै दलहरु थिएँ। झन् विपत्तिको अहिलेको यो समयमा त दलहरुलाई काँधमा थेग्नै नसक्ने जिम्मेबारी आएको छ। भोलि हाम्रा पुस्ताहरुले देशलाई हाइटीसँग दाज्लान् वा भारतको गुजरातसँग यसको भविष्य पनि यिनै दलहरुले कोर्ने छन्।

बर्षौदेखि सत्तामा राज गर्दै आएका पनि यिनै दलहरु हुन्। अहिलेको दुखको यो घडीमा, सत्तामा छदाँ यसले यस्तो गरेन, काम गरेन, सिन्को भाँचेन भन्दै दलहरुको आलोचनातर्फ जान उपयुक्त देखिन। तर, बस् यत्तिचाहिँ भन्न मन लाग्यो, थोरै धेरै सत्ताको अवसर सबैले पाएँ । तर, जनताको मन कहिँल्यै र कसैले जितेनन्।”

देशमा भुइँचालो जाने बित्तिकै देशका राजनीतिक दलहरुको भूमिका अपेक्षा अनुरुप देखिएन। बन्द र आन्दोलन गर्न हजारौं कार्यकर्ता सडकमा उतार्ने क्षमता भएका उनीहरु दुई -तीनदिन सम्म त मौनजस्तै बसे। हरेक दलहरुले स्वयंसेवक परिचालन गर्न सकेको भएँ, केहीलाई बचाउन सकिन्थ्यो होला । तर, अब त्यतातिर फर्कनु पनि कुनै अर्थ रहेन।

तर, पनि महाविपत्तिको घडीमा पीडितहरुलाई राहत वितरण गर्न र घर टहरा बनाउन मुख्य दलहरुले पीडितका बस्तीहरुमा स्वंयसेवक परिचालन गरेका छन्।

माओवादीले एमालेका छाप्रा वनाउँ, कांग्रेसले माओवादी, मधेसवादी दलले काँग्रेसका पनि घर बनाउँ, यसरी छाप्रा बनिरहेका छन् भने मात्र हामीलाई लाग्नेछ गाउँगाउँमा नेपालीका छाप्रा बनिरहेका छन्

जुन अत्यन्तै स्वागत योग्य छ। जनताले छानो र मानो पाउलान् नपाउलान् ? किसानको ऋण र व्यापारीको ब्याज मिनाह होला नहोला ?

तराई मधेसका कार्यकर्ताले पहाडमा छाप्रा बनाएर दुखेको घाउँमा मल्हम लगाउलान् न लगाउलान् ? दलहरुका ल्याएका योजना नीतिहरु सधैँ जस्तै अहिले पनि मन छुने र राम्रा छन् । तर, अपसोच लागु हुँदैनन्। तर, आशा गरौ, देश दुखेका बेला बोलेका बचनहरु कम्तिमा पूरा गर्न सकुन् यी सबै समयले बताउँला।

भूकम्प प्रभावित जिल्लामा शीर्षनेताहरु नै खटिएर जानुलाई सकारात्मक नै सोच्नुपर्छ। तर, पुनर्निर्माण र पुनर्वासमा खटिएका नेताहरुका तस्बिर देख्दा फेरि त्यही उद्घाटन र रिबन काटेको झझल्को दिइरहेको छ। गाउँ पसेको धेरै दिन भएको छैन, कतै ढुंगा उचालेको, कतै चामलको बोरा दिँदै गरेको, कतै त्रिपाल, कतै के कतै के । तस्बिर हेर्दा यस्तो पनि लाग्छ राहत थाप्दै  गरेको पीडितले केही समय त बिचरा अडिएर नै बस्नुपर्छ होला, किनकि फोटो निकाल्न अलि समय लाग्छ।

आज भोलि नेताहरुका फेसबुकका पन्नाहरु राहत वितरणले नै रंगिएका छन्। पीडितको साहारा बनेर दुख सुख साट्नु राम्रो हो । तर, यसले त झन् प्रचार बाजी मात्र भयो कि भन्ने भ्रम सृजना गरेको छ।

दलहरुका विचार र सिद्धान्तप्रति आस्था राख्नु स्वभाविक हो । तर, अब पनि हाम्रो चेत खुलेन भने कहिले खुल्ने ? देशभन्दा पनि पार्टी वा दलको नाममा सधैं अन्धभक्त हुनाले पनि राष्ट्रले ठुलो नोक्सानी  व्यहोरिरहेको छ । चाहे देशमा होस् वा प्रवासमा नेताले राहत दिँदै गरेको एउटा मात्र तस्बिर पाएँ पनि पार्टीले यसो र उसो गर्यो भन्दै प्रचार बाजी गरिदिन्छौ।

कमसेकम एउटा गाउँ नै बन्न त दिऊ। सिन्धुपाल्चोक, गोरखा, दोलखाजस्ता भूकम्पले सखाप पारेका जिल्लामध्ये कुनै एक जिल्ला नै किन नहोस्, बस्ती नछोडी भत्केका सबै घर वा पुनर्वासका लागि टहरा वा छाप्रा बनाएर कुनै दल वा नेताले सेल्फी लिउन्, त्यहीबेला ३ करोड नेपालीले सेयर गर्ने छन्, प्रचार गर्ने छन्। अहिले सस्तो लोकप्रियता हैन, देशलाई कामको खाँचो छ, श्रमको खाँचो छ। सच्चा मनले श्रमदान गरिरहेका केही नेताहरुलाई पनि झन् यो प्रचारको शैलीले नोक्सान पुर्याएको छ।

विकसित मुलुकहरुमा फरक–फरक नीति भएका, सिद्दान्त बोकेका फरक दलहरुले सत्ताको बागडोर समालेका छन्। देशलाई दिन प्रतिदिन अरुभन्दा फरक र अलग बनाउँदै बिकासको डोरीले तानिरहेका छन्।

हाम्रो देशका राजनीतिक दलहरुले पनि आफुमाथि लागेको असक्षमताको ट्यागलाई आजबाट नै हटाउने कोशिस गर्नुपर्छ।  देशलाई हाइटी बन्नबाट रोक्नका लागि भए पनि आँखा खुलाउनैपर्छ।

अहिले समग्र देशलाई परेको बिपत्ति हो। योबेला पार्टीलाई मजबुत बनाउँछु भनेर हैन कि राष्ट्रलाई  पुनर्निमाण गर्ने नियतले गाउँ पस्न सक्नुपर्छ । पुनर्निर्माण र पुनर्वासका लागि कुनै दलका कार्यकर्ताहरु गाउँ पसेका छन् भने त्यहाँ सबैका छाप्राहरु बन्नुपर्छ न कि कुनै दल बिशेषका।

अत: माओवादीले एमालेका छाप्रा वनाउँ, कांग्रेसले माओवादी, मधेसवादी दलले काँग्रेसका पनि घर बनाउँ, यसरी छाप्रा बनिरहेका छन् भने मात्र हामीलाई लाग्नेछ गाउँगाउँमा नेपालीका छाप्रा बनिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment