Comments Add Comment

सोलारले गाउँ झिलिमिली

१० जेठ, धनगढी । कर्णाली नदीको बीच भागमा रहेको कैलाली जिल्लाको धनसिंपुर गाविस–१ श्रीलङ्का गाउँका सबै घरपरिवारलाई सोलार वितरण गरिएपछि गाउँ झिलिमिली भएको छ ।

‘श्रीलङ्का टापु’ भनेर चिनिने यो गाउँमा रहेका सबै ३० घरधुरीलाई करिब रु चार लाख ५० हजार मूल्यबराबरका ३० थान सोलार वितरण गरिएकामा रु दुई लाख १० हजार नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले र बाँकी रकम सरकारले व्यहोरेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका संयोजक शिव अधिकारीले बताए ।

सोलारबाट पुग्ने उज्यालोले उक्त क्षेत्रका बासिन्दालाई जलवायु परिवर्तनबाट हुने असर अनुकूलन गर्न सहयोग पुग्ने अधिकारीले बताए ।

व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिका सभापति एवम् कैलाली क्षेत्र नं १ का सभासद् जनकराज चौधरीले हालै एक कार्यक्रमका बीच स्थानीयवासीलाई सोलार वितरण गरेका थिए ।

नदी मार्गको बीच भागमा रहेको श्रीलङ्का टापुमा बसोबास गर्ने बासिन्दा बिजुलीबत्तीको अभावमा अध्याँरोमा बस्दै आएका थिए । यसबाहेक उक्त गाउँमा सडक, सञ्चारलगायतका आधारभूत सुविधा अहिलेसम्म पुग्न सकेका छैनन् ।

यो गाउँसम्म पुग्न नदीमा पुल नहुँदा स्थानीयले ठूलो समस्या झेल्दै आएका छन् । वर्षायामको समयमा कर्णाली नदीमा आउने ठूलो बाढीका कारण यो गाउँ कैलाली जिल्लाका बाँकी क्षेत्रसँग सम्पर्कविहीनसमेत हुने गरेको छ ।

जलवायु परिवर्तनका कारण हुने असरबाट कैलाली जिल्लाको टीकापुर र भजनी नगरपालिकाका साथै नारायणपुर, धनसिंपुर, लालबोझी, पवेरा, उदासीपुर र सुगरखाल गाविस बढी जोखिममा रहेका छन् ।

यी क्षेत्रमा जलवायु परिवर्तनबाट पुग्ने असरलाई अनुकूलन गर्न नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत कृषि, पशुस्वास्थ्य, र खाद्य सुरक्षा, वन तथा जैविक विविधता संरक्षण, वैकल्पिक ऊर्जा, जलवायुजन्य प्रकोपबाट बचाउन अग्ला भौतिक संरचना निर्माणलगायतका क्रियाकलाप सञ्चालन हुँदै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment