Comments Add Comment

ओलीले कार्यकर्तालाई भने- पीडितको घरमा पाहुना नबन्नुस्

KP-Oli

१० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा पाहुना नबन्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

राहत तथा पुनर्स्थापना अभियान लिएर भूकम्प प्रभावितहरुको क्षेत्रमा जान लागेका आफ्ना कार्याकर्ताहरुलाई आइतबार भृकुटीमण्डपबाट विदाइ गर्दै ओलीले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।

‘एक महिना जनताकहाँ पाहुना बन्न जाने होइन, मेहजमान गर्न जाने होइन,’ ओलीले भने, ‘तपाईँहरु जनताको काम गर्न जाने हो ।’

पार्टीको शाख गिर्ने चिन्ता

ओलीले जनताको सेवा गर्न गाउँ जान लागेका कार्यकर्ताहरुबाट पार्टीको शाख गिर्नेमा पनि चिन्ता ब्यक्त गरे । एमाले राजनीति गर्ने संगठन मात्र नभइ देश निर्माण गर्ने अभिभारा बोकेको पार्टी भएको भन्दै पार्टीको शाख नगिर्ने गरी काम गर्न उनले निर्देशन दिए ।

एमालेको इज्जत जोगाउने काम गर्न कार्यकर्ताहरुलाई सचेत गराउँदै जनताले कुनै कमेन्ट गर्ने अवस्था आउन नहुने कुरा दोहोर्‍याए ।

‘काम गर्दा पसिना बग्छ, पसिना बगेर मात्रै काम गरेको हुँदैन, हरेकको हातमा ठेला उठोस्’, ओलीले भने, ‘हरेकको लेखाजोखा र मूल्यांकन गर्दै प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।’

एमाले कर्मी मौरी

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी कामचोर नभई काम गर्ने पार्टी भएको दावी गरे । ‘मौरी दुई प्रकारको हुन्छ, एउटा कर्मी मौरी अर्को मह खाने मौरी’, ओलीले भने, ‘एमाले मह खाने मौरी होइन, कर्मी मौरी हो ।’

उनले जनतासँग मिठो बोल्न पनि कार्यकर्ताहरुलाई निर्देश गरे । ‘भोलिन्टियरहरुलाई काम गर्दा थकाइ लाग्न सक्छ, भोक लाग्न सक्छ’, उनले भने, ‘भोक लागे पनि थकाइ लागे पनि जनतासँग मृदुभाषी हुनुपर्छ ।’

उनले जनताको सेवामा जाने स्वयंसेवकमा अनुशासन र प्रतिवद्धता चाहिने बताए ।

यस्तै, एमाले बरिष्ठ नेता माधव नेपालले पहाड र तराईले एकअर्कालाई सहयोग गर्नुपर्ने बताए । नेता नेपालले पहाडलाई आवश्यक पर्ने बाँस तराईबाट पठाउने ब्यवस्था मिलाउन आग्रह गरे । यो पार्टीर्को मूल्यांकन जनताले गर्नेबेला भएको उल्लेख गर्दै उनले जनताको मूल्यांकन अनुसार पार्टीले कार्यकर्ताको मूल्यांकन गर्ने बताए ।

देशका विभिन्न १७ जिल्लाको ५१ क्षेत्रबाट कार्यकर्ता परिचालन गरिएको भए पनि काठमाडौंबाट ११ जिल्लाका ३३ क्षेत्रका कार्यकर्ताहरुलाई आइतवार एकमहिने अभियानमा पठाइएको एमालेले जनाएको छ ।

कार्यक्रममा ओलीले अभियानमा जाने कार्यकर्ताहरुलाई मन, बचन र कर्मले पीडितको सेवा गर्ने सपथ समेत खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment