Comments Add Comment

चार घण्टामा ६० हजारको सुरक्षित घर !

Surachhit-Ghar

१० जेठ, काठमाडौं । भूकम्प पीडित परिवारलाई कस्ता घरहरु बनाउने भनेर छलफल चलिरहेका बेलामा हिमालय क्लाइमेट इनिसिएटिभ (एचसीआई)ले ६० हजार रुपैयाँमा सुरक्षित घर बनाइदिने दाबी गरेको छ ।

परिवारका सदस्यले हातैले चार घण्टामा बनाउन सक्ने यो घर भूकम्प पीडित परिवारको तत्काल पुर्नवासका लागि डिजाइन गरेको हो । मनसुन सुरु हुनै लागेको बेलामा अस्थाई बसोबासका लागि यो घर उपयूक्त हुने एचसीआईको विश्वास छ ।

सुरक्षित घर परियोजना भूकम्प प्रभावित दुर्गम ठाउँहरुमा लक्षित रहने नेपाल उद्योग परिसंघले राजधानीमा गरेको पत्रकार सम्मेलनमा दाबा शेर्पाले बताए । परियोजनाले तीब्र गतिको हावापानी र भूकम्प प्रतिरोधात्मक घर बनाउने दक्षता तथा सामाग्री प्रदान गर्ने छ ।

सुरक्षित घर बनाउनका लागि चाहिने सामाग्रीहरु भरपर्दो र किफायती आपूर्तिका लागि नेपाल उद्योग परिसंघले सहयोग गर्ने भएको छ । परियोजनाका लागि सहयोग रकम दाताहरुबाट विश्वव्यापी रुपमा संकलन गरिने बताइएको छ ।

विशेषताहरु

सुरक्षित घरको डिजाइन भूकम्प प्रतिरोधात्मक रहेको एचसीआईको दाबी छ । संस्थाका अनुसार परिवारका सदस्यहरुले यो घर चार घण्टामा हातैले निर्माण गर्न सक्नेछन् ।

घरलाई सुरक्षित र सहजतापूर्वक परिवर्तन गर्न सकिने बनाउनका लागि घरको फ्रेमलाई तारको जालीले बेरिने बताइएको छ । त्रिपाल, प्लाष्टिक पाता वा जस्तापातालाई भित्ताको रुपमा प्रयोग गरेर तुरुन्तै प्रयोगमा ल्याउन सकिने छ । पछि उपयूक्त समयमा स्थायी पर्खालहरु निर्माण गरेपनि हुन्छ ।

घरको डिजाइनमा बारदली/वरन्डा पनि समावेश गरेको संस्थाले बताएको छ । अस्थायी प्रयोजनका लागि घर बनाउन सिमेन्ट आवश्यक नपर्ने बताउँदै संस्थाले स्थायी प्रयोगमा ल्याउने भए सिमेन्ट प्रयोग गर्न सकिने बताएको छ ।

घरको भित्ता र भुइँ बनाउन स्थानीय स्तरमै उपलब्ध सामाग्रीहरु प्रयोग गरिने छ । घरको डिजाइन चट्याङ प्रतिरोधात्मक भएको संस्थाको दाबी छ । पछि यो घरलाई स्थायी घरसँग जोडर गोदामको रुपमा समेत प्रयोग गर्न मिल्ने छ ।

सजिलैसँग भत्काएर अर्को ठाउँमा सार्न सकिने यो घर ऋण लिनका लागि आफ्नो सम्पत्तिको रुपमा धितोसमेत राख्न सकिने दाबी गरिएको छ । आकासे पानी संकलन गर्ने प्रणाली पनि सहज रुपमा राख्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment