Comments Add Comment

कालीगण्डकी थुनिएपछि गण्डकका सबै ढोका खुला

१० जेठ, कावासोती । पहिरोले कालीगण्डकी थुनेपछि गण्डक नहरका सबै ढोका खुला गरिएको छ । जुनसुकै बेला थुनिएको स्थान फुट्न सक्नेहुदा गण्डकका ढोका खुला राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए। म्याग्दी राम्चेको काफलडाँडामा गएको पहिरोले कालीगण्डकी थुनेको छ ।

कालीगण्डकी नदी फुट्दा पहाडी गाविस रकुवा, डेढगाउँ, मिथुकरम, भारतीपुर, बुलिङ्टार ,डाँडाझेरी, कोटथर र रतनपुरका तटीय बस्ती जोखिममा परेको भन्दै सुरक्षित हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए । कालीगण्डकी नदी देवघाटमा मिसिँदा नारायणी नदी उर्लन सक्ने भएकाले गैँडाकोटदेखि त्रिवेणी सुस्तासम्मका २० गाविसका बासिन्दालाई सर्तक हुन आग्रह गरिएको छ ।

नारायणी नदी आसपासका बासिन्दाका साथै भारतको विहार र उत्तर प्रदेशमा पनि यसको असर पर्नसक्ने भएकाले भारतलाई समेत जानकारी गराइएको उनले उल्लेख गरे । गण्डक नहरका ढोका बन्दहुँदा ताल बन्नसक्ने र त्यसले पक्लिहवा, त्रिवेणीसुस्ता, कोल्हुवा, नारायणी, पिठौलीमा असर पार्ने भएको ३६ वटै ढोका खुला गरिएको छ ।

अहिले नदी किनारका बासिन्दालाई सर्तक रहन आग्रह गर्दै नदी किनारमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार अहिले विभिन्न टोली नदी किनारमा पुगेर स्थानीयलाई सर्तक रहन आग्रहसहित माइकिङ गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानीय सञ्चारमाध्यममार्फत सूचनासमेत जारी गरेर सर्तक रहन आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment