Comments Add Comment

म्याग्दीमा कालीगण्डकी थुनिँदा ८ जिल्लामा सतर्कता

१० जेठ, काठमाडौं । कालीगण्डकी नदी थुनिएपछि ८ जिल्लामा उच्च सतर्कता अपनाइएको छ । कृत्रिम बाँध फुटेर थप क्षति हुनसक्ने भएकाले म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, गुल्मी, पाल्पा, तनहुँ र नवलपरासीमा उच्च सतर्कता अपनाइएको हो । ति जिल्लाका बढी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

650_gandaki
स्थानीय प्रशासनले माइकिङ गरेर, स्थानीय एफएमहरुबाट सूचना प्रसारण गरेर र राजनीतिक दलहरुसँग समन्वय गरेर सुरक्षित तरिकाले बस्न भनेको छ ।

म्याग्दीको राम्चे गाविस-९ बैसरीमा आइतवार विहान माथिबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको छ । नदी थुनिएर बैसरीका २ वटा झोलुङ्गे पुल डुबेका छन् । विजुलीका पोल समेत डुबेको स्थानीयले बताएका छन् । बेनी-जोमसोम सडक पनि अबरुद्ध भएको छ । नदी थुनिएर एक किलोमिटर भन्दा लामो ताल बनेको छ । पानी थुनिएको भन्दा तलतिरको क्षेत्रमा नदी सुकेको छ ।

घटनास्थल पुगेका उद्धारकर्मी पर्ख र हेरको अवस्थामा छन् । बाँध माथिबाट पानी बगेर जाने र कुनै समस्या नल्याउने उनीहरुको विश्वास छ ।

राम्चे गाविस ९ र भगवती गाविस २ का २६ घरका १२३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । काफलडाँडाको पहिरो चट्टानसँगै खसेको छ । सो स्थानमा भूकम्प गएपछि सुक्खा पहिरो खस्दै आएको थियो । सुक्खापहिरो जान थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।

त्यसैले आइतबारको पहिरोले बस्ती पुरिए पनि मानवीय क्षति नभएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले अनलाइनखबरलाई जानकारी दिए ।

घटनास्थलभन्दा १ किलोमिटर माथि हेलिप्याड 

आइतबार दिउँसो हावाहुरी चलेपछि पहिरो खसेको स्थान र वरपरको क्षेत्र धुलाम्य भएको छ । कुइरीमण्डल धुलो उडेपछि नजिकैका मान्छे पनि चिन्न नसकिने अवस्था छ ।

पहिरो खसेको स्थान अवलोकनका लागि हेलिकोप्टरबाट काठमाडौंबाट गएको सेना र भूगर्भविदको टोली पनि केहीबेर अवतरण गर्न सकेको थिएन । ६ जनाको उद्धारटोलीसहित गएको हेलिकोप्टरका लागि घटनास्थलभन्दा १ किलोमिटर माथि हेलिप्याड निर्माण गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

यसरी खस्यो पहिरो र थुनियो काली (फोटो फिचर)

पहिरोले कालीगण्डकी नदी थुनियो, बेनीसहित दर्जनौं बस्ती जोखिममा

सेनाका अधिकारी भन्छन्- अझै केही समय कुर्नपर्छ

कालीगण्डकीको बहाव सुरक्षित तरिकाले खुलाउन प्रधानमन्त्रीको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment