Comments Add Comment

घर गुमाउनेलाई सरकारले वर्षाअघि नै जस्तापाता दिन्छ : उर्जामन्त्री

Urja-mantri१० जेठ, धादिङ । ऊर्जामन्त्री राधा कुमारी ज्ञवालीले भूकम्पबाट घर क्षति भएका नागरिकलाई राज्यले वर्षायाम अगाडि नै जस्तापाताको व्यवस्था गर्ने बताएकी छन ।

नेपालमा जस्तापाता उत्पादन गर्ने चारवटै कम्पनीलाई गत बैशाख ११ गतेकै मूल्यमा जस्तापाता उपलब्ध गराउन सरकारले निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्री ज्ञवालीले ती उद्योगलाई राज्यले २४ सैं घन्टा विद्युत् उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन ।

‘वषर्षा लाग्न लागिसकेको कारण अबको प्राथमिकता भनेको घर भत्किएका नागरिकलाई छिटो ढंगले जस्तापाता उपलब्ध गराउनु हो’, भूकम्प अति प्रभावित धादिङको क्षेत्र नम्बर १ अन्तर्गतको सल्यानटार गाविसमा भेला भएका भूकम्प पीडितहरुलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भनिन- ‘नागरिकलाई परेको दुःखप्रति राज्य अत्यन्त चिन्तित छ, अति दुर्गम गाउँमा सरकारले हेलिकोप्टरबाट भए पनि जस्तापाता पुर्‍याउने छ ।’

भूकम्प प्रभावित क्षेत्रहरुमा राज्यको उपस्थिति छैन भनेर गरिएको प्रचारप्रति पूर्णरुपमा असहमति व्यक्त गरिन । ‘भूकम्प प्रभावित क्षेत्रहरुमा राज्यको राम्रो उपस्थिति छ । सेना, प्रहरी लगायत सरकारी कर्मचारी गएर आफ्नो काम गरिरहेका छन् भने विभिन्न गैरसरकारी संस्थाले भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्दा पनि राज्यको अनुमति लिएर राज्यकै अंगसँग समन्वय गरेर काम गरेको कारण सबै ठाउँमा राज्यको उपस्थिति छ ।’ उनले भनिन ।

राज्यको सहमति बिना कुनै पनि व्यक्ति तथा संस्थाहरु गाउँमा नआएको बताउँदै राज्यको उपस्थिति छैन भनेर गरिएको भ्रमपूर्ण प्रचारमा नलाग्न उनले आग्रह गरिन ।

मन्त्री ज्ञवालीले भूकम्पले झन्डै ४७ जिल्लालाई प्रभाव पारे पनि धादिङलगायतका १४ जिल्ला अति प्रभावित भएकाले यी जिल्लाको शिक्षा र स्वास्थ्य सेवा सूचारु पार्न सरकारले पहल गरिसकेको जानकारी दिइन ।

भूकम्प पीडितहरुका लागि राज्यले प्रत्येक गाउँमा सामुदायिक भवन बनाउने कार्य पनि तत्काल सुरु गर्ने उनको भनाई थियो । ज्ञवालीले यस्ता सामुदायिक भवनले ठूला विपत्ति आएको बेला नागरिकलाई बस्नका लागि मात्र नभई राज्यलाई सेवा प्रदान गर्न समेत सजिलो हुने भएकाले गाउँ र जनसंख्या हेरेर आवश्यकता अनुसार प्रत्येक गाउँमा दुई/तीनवटा सम्म भवन बनाउने जानकारी दिइन ।

उनले राहतको कार्यक्रम एक चरणमा पूरा भएकाले अब सबैको ध्यान पुनर्निर्माणमा जानुपर्ने समेत बताइन । ‘अब तपाईहरु सबै पुनर्निर्माणमा लाग्नुहोस्, सरकारले केन्द्रबाट पूर्णत सहयोग गर्ने छ ।’ ज्ञवालीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment