Comments Add Comment

मानसिक रोग बढाउँदै सामाजिक सञ्जाल

Laxman-Adhikariलक्ष्मण अधिकारी

गत २९ वैशाखमा भूकम्प गए लगत्तै लामा थरकि एक महिलाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो पोष्ट गरिन्-वारिपारि पहिरो रोकिएन, हामी बीच सडक दोलखाको बोज भन्ने ठाउँमा छौँ । निस्कन सक्ने अवस्था छैन । कृपया बचाऊ । यो सन्देश धेरैले शेयर गरे, उद्धार पनि पक्कै भयो होला ।

बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप, ठूला दुर्घटना आदि घटनाको सूचना दिन, उद्धार र राहत कार्य गर्न फेसबुक, ट्वीटर, माईस्पेस, लिंक्डइन, मिटअप, आदि जस्ता सामाजिक सञ्जालहरु संसारमै निकै उपयोगी सावित भइरहेका छन् । यति मात्र होइन राजनीतिक आन्दोलन तथा प्रजातान्त्रिकरण सफल पार्न, मानवीय भावना आदन प्रदान गर्न, शिक्षा र चेतना अभिबृद्धि गर्नसमेत सामाजिक सञ्जालले ठूलो मद्दत्त पुर्‍याइरहेका छन् ।

तर अहिले सामाजिक सञ्जालको दुरुपयोग पनि त्यति नै हुँदै गएकाले सुरक्षा, सामाजिक अमनचयन कायम गर्ने जस्ता कार्यमा सामाजिक सञ्जालहरु घाँडो बनेको अनुभव गरिदैछ । बर्तमान परिवेसमा नेपालमा सामाजिक सञ्जालका कारण अनेक समस्याहरु सिर्जना हुन थालेकाले यसलाई कसरी रोक्न सकिन्छ भनेर सुरक्षासम्बद्ध अधिकारीहरुले सेवाप्रदायकहरुसँग जिज्ञासा राखेको बुझिएको छ ।

गत हप्ता देखि ट्वीटरमा भूकम्प आउने निराधार हल्ला फैलाउने टि्वटेहरुलाई प्रहरीले निगरानी गरेर त्यस्ता पोष्टहरु हटाउन लगाउनुका साथै यस्ता तथ्यहिन सामग्रीहरु पोष्ट नगर्न प्रहरीले आग्रह पनि गरिसकेको छ ।

अफवाह फैलाउने मात्र होइन, सामाजिक सञ्जालहरुमा अहिले रक्ताम्य र क्षतविक्षत भएका घाइतेहरु, मानिस किचिदै गरेका, कहालिएर भाग्दै गरेका, अंगालोमै च्यापिएर प्राण त्यागेका जस्ता हृदयविदारक एवं भत्किएर विभत्स भएका, ढल्दै गरेका संरचनाहरु र त्रासदिपूर्ण दृश्य तथा फुटेजहरु राख्ने गरिएको छ । यसले ठूलो भूकम्प पछि अर्धमूच्छिर्त भएर बौरिदै गरेको मनलाई अझ गम्भिर आघात पुर्‍याइरहेको छ । यस्तो अवस्थामा थप आघात पुर्‍याउने दृश्यहरुले मानसिक रोग हुने मात्र होइन डिप्रेसन बढेर आत्महत्या नै गर्ने स्थिति पनि आउनसक्छ ।

भूकम्प आउँदा भागेर ज्यान जोगाउन सफल भए पनि भूकम्पबाट भएको क्षतिले पुर्‍याएको आघात सहन नसक्दा नुवाकोटमा दुई जनाले आत्महत्या गरेका छन् । गत बैशाख २९ गते गएको भूकम्पको त्रासका कारण हृदयघात भएर ४ जनाको मृत्यु भएको कुरा प्रकाशमा आएको छ । यस्तै गत हप्ता नै सप्तरी जिल्लाको एउटा स्कुलमा पढ्ने १० वर्षीय बालक पोखरीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भई शव तैरिरहेको देख्दा स्थानीय ५५ वर्षीय एक महिला वेहोस भइन् र केही क्षणमै मृत्युबरण गर्न पुगिन् । भयानक घटना भोगेका र प्रत्यक्ष अनुभव गरेका मानिसहरुलाई कतिसम्म आघात पर्नसक्छ भन्ने हालैका यी केही उदाहरण मात्र हुन् । सद्धे मानिसहरुलाई नै यस्तो हुन्छ भने मानसिक आघात परिरहेका मानिसहरुलाई त्यस्तै घटनाहरु दोहर्‍याएर देखाउँदा कतिसम्म आघात पर्नसक्ला ? सामाजिक सञ्जालका प्रयोगकर्ताहरु यसतर्फ गम्भिरतापूर्वक विचार गर्न आवश्यक छ ।

यस्तै घटनाका कारण अहिले मानसिक रोग विशेषज्ञहरुकहाँ विरामीको संख्या बढ्न थालेको बरिष्ठ मानसिक रोग विशेषज्ञ डा विश्व बन्धु शर्मा बताउनु हुन्छ । डा शर्मा भन्नुहुन्छ, अहिले मानिसहरुमा भूकम्प आउने डर छ । भत्केका, मरेको, बिभत्स भएको, लासहरुको थुप्रो देखेकाहरुमा डरको भाव धेरै देखिन्छ । उनीहरुमा डरलाग्दो सपना देख्ने, निद्रामै तर्सिने, झस्किने समस्या छ । कुनै चिज हल्लिएको देख्दा, ढोका ढ्वाङग गर्दा, ठूलो स्वरले बोल्दा पनि तर्सिने समस्या छ । यस्ता मानिसहरुलाई सामाजिक सञ्जाल, टेलिभिजनलगायत अन्य माध्यमबाट त्यस्तै दृश्यहरु दोहर्‍याएर देखाउन थालियो भने मानसिक समस्या अझ बढेर जान्छ ।

विश्वव्यापी सामाजिक सञ्जालहरुलाई कतिपय देशले नियन्त्रण गर्ने प्रयास गरेता पनि कुनै न कुनै रुपमा प्रयोगमा आइरहेको छ । ब्लग एवं सामाजिक सञ्जालहरु प्रयोग गरी व्यक्तिहरुले स्वच्छन्द रुपमा आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने कार्यलाई सिटिजन जर्नालिजमको नाम दिएर यसलाई मूलधारको पत्रकारिताको विकल्पको रुपमा पनि हेर्न थालिएको छ । तर यसमा कुनै व्यावसायिक आचार संहिता, नियन्त्रण, सम्पादन जस्ता कार्य नहुने र ब्यक्तिहरु आफूखुसी आक्रमक रुपमा प्रस्तुत हुने हुँदा यो कतिपय अवस्थामा सामाजिक चुनौति पनि बनिरहेको छ ।

अहिले भूकम्पले सिर्जना गरेका भयानक दृश्यहरुले पार्नसक्ने प्रभावलाई वास्ता नगरी सामाजिक सञ्जालहरुमा गरिएको स्वच्छन्द प्रयोगले भूकम्पले भन्दा अझ बढी मानसिक प्रभाव पारिरहेको विज्ञहरुको भनाइ छ । डा विश्वबन्धु शर्मा भन्नुहुन्छ, अहिले धेरै भूकम्प पीडितहरु अरु पीडा भुलेर कसरी बाँच्ने भन्ने खोजीमा छन् । खाने, बस्ने, पुरिएका सामान निकाल्ने जस्ता तत्काल गर्नुपर्ने काममा केन्दि्रत छन् । यीे सवै व्यवस्था भएपछि धेरै मानिसहरुमा पिटिएसडि (पोस्ट ट्रम्याटिक स्टे्रस डिस अर्डर) नामक मानसिक समस्या देखिन थाल्छ ।

यस्ता मानिसहरुमा राम्रो म्युजिक सुन्दा, राम्रा दृश्य देख्दा, मीठो खाँदा पनि कुनै कुराको स्वाद नआउने हुन्छ । अर्थात इन्दि्रयहरुले प्रक्रिया पूरा गरे पनि सन्तुष्टि हुँदैन । जे देखे पनि भूकम्पलाई स्मरण गर्ने, डर लाग्ने, कहालिने समस्या पछिसम्म रहन सक्छ । त्यस्कारण त्यस्ता घटनालाई स्मरण गराउने किसिमका दृश्य र आवाजको सट्टा आत्मबल बृद्धि गर्ने, जीवनको भविष्य देखाउने, उत्साह दिने, धैर्य गर्न सिकाउने, केटाकेटी मुस्कुराएको, हाँसेका जस्ता सामग्रीहरु समाजिक सञ्जालमा पोष्ट गर्नु लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment