Comments Add Comment

भूकम्पपीडितलाई सघाउन बेलायतमा खेलौना बिक्री

११ जेठ, काठमाडौं । भूकम्पपीडितको सहयोगका लागि बेलायतका दुई बालिकाले खेलौना बेचेर र माल्दिभ्सका सांसदले फुटबल खेलेर रकम जुटाएका छन्। विपत्तमा परेका नेपालीको सहयोगका लागि विदेशीबाट विदेशी भूमिमा भएका यी प्रयासको सबै क्षेत्रबाट प्रशंसा भएको छ।
Earthquake Nepal 2015 (27)
सात समुद्रपारि रहेको बेलायतमा त्यहाँका नौ वर्षीया सोफिया जोन्स र आठ वर्षीया सोफिया लियोन्स आफ्ना खेलौना बेचेर सहयोग रकम जुटाउने अभियानमा सक्रिय छन्। उनीहरू मिल्ने साथी हुन्।

जोन्स र लियोन्स बेलायतको प्ले माउथस्थित सेन्ट एड्वार्ड स्कुलमा चार कक्षामा पढ्छन्। उनीहरूले भूकम्पपीडितलाई सहयोग रकम जुटाउन विभिन्न अवसरमा आफ्ना अभिभावक र इष्टमित्रबाट पाएका खेलौना बेच्ने जुक्ति निकालेका हुन्। यसरी संकलन गरेको रकम उनीहरूले नेपालका भूकम्पपीडित बालबालिकालाई उपलब्ध गराउने योजना बनाएको अन्न्पूर्ण पोस्टमा खबर छ ।

हरेक बालबालिकालाई खेलौना प्रिय हुन्छ नै तर यी दुई बालिका प्राकृतिक विपत्तिको मारमा परेका नेपाली बालबालिकालाई आफ्ना खेलौना बेचेर सहयोग गर्न आतुर छन्।

खेलौना बेचेर पहिलो दिन शनिबार यी दुई बालिकाले एक सय ७५ पाउन्ड जम्मा गरेको जानकारी लियोन्सकी आमा हेलेनले दिएको समाचार प्लेमाउथ हेराल्डले छापेको छ।

जोन्सकी आमा सोफीले पनि छोरीहरूको उदाहरणीय कार्यबाट आफू गौरवान्वित भएको बताएकी छन्। ‘कलिला बालबालिकाले गरेको यस्तो उदाहरणीय कार्यबाट हामी गौरवान्वित छौं। यसबाट अरूले पनि शिक्षा लिनुपर्छ’, सोफीले भनिन्।

नेपालका लागि माल्दसभ्‍सका सांसदको फुटबल
भूकम्पपीडितको सहयोगका लागि रकम जुटाउन माल्दिभ्सका सांसदले शनिबार साँझ मैत्रीपूर्ण फुटबल खेलेका छन्। सांसदले माल्दिभ्सका भेट्रान्स खेलाडीसँग खेल खेलेका हुन्।

त्यहाँको राष्ट्रिय रंगशालामा भएको फुटबल खेलबाट एक लाख अमेरिकी डलर संकलन भएको छ।खेलको नाम ‘नेपाललाई माल्दिभ्सको साथ’ राखिएको थियो।

माल्दि स रेडक्रिसेन्ट र माल्दिभ्स मेडिकल एसोसिएसनले संयुक्त रूपमा फुटबल खेल आयोजना गरेका हुन्। उक्त खेलबाट उठेको रकम माल्दिभ्स रेडक्रिसेन्टमार्फत नेपालको प्रधानमन्त्री राहत कोषलाई उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment