लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गरेका नायक निखिल उप्रेती अभिनित दुई चलचित्रका प्रदर्शन मिति भूकम्पका कारण पछाडि धकेलिएको छ । जसका कारण, निखिल उप्रेतीसँग तिहारको समयमा आउने चलचित्रले भिडन्त गर्नुपर्नेछ ।
जेठको २२ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘भैरव’ अब भदौको ११ गते पुगेको छ । निखिलले आफै निर्माण तथा निर्देशन गरेको यो चलचित्रको ट्रेलर पनि तयार छ । तर, भूकम्प आएपछि चलचित्रको ट्रेलर सार्वजनिक मात्र हुन सकेन, प्रदर्शन मिति पनि पछाडि धकेलियो ।
यस्तै, भदौ ११ मा प्रदर्शन मिति तोकिएको निखिल अभिनित चलचित्र ‘लुटेरा’ भने अब तिहारमा आउने भएको छ । हुनत, अहिलेसम्म तिहारमा कुनै पनि चलचित्रका निर्माताले औपचारिक रुपमा प्रदर्शन मिति तोकेका छैनन् । ‘लुटेरा’ कात्तिक २५ मा काठमाण्डौ बाहिर र कात्तिक २७ मा काठमाण्डौमा लाग्नेछ ।
निर्माता छविराज ओझाको चलचित्र ‘किस्मत २’ आउने भनिएपनि यो चलचित्रको छायांकन नै सुरु भएको छैन । जसका कारण तिहारमा ‘लुटेरा’सँग भिडन्त गर्न कुन चलचित्र आउँछ अहिले नै पक्का छैन । निर्माता गोपाल कायस्थले छविराज ओझासँग छलफल गरेरै चलचित्रको मिति तोकेको बताए ।
यो बर्ष निखिलका लागि विशेष बर्ष हो । तर, भूकम्पका कारण नेपाली चलचित्रको माहोल नै अस्तव्यस्त भएपछि निखिललाई पनि आफ्नो भविष्य हेर्नका लागि अझै केही समय कुर्नु पर्नेछ ।