Comments Add Comment

नेपाल भत्किदा चीनमा दुखेको एउटा प्रोफेसरको मन

RajibKumar Jha
प्राध्यापक डा. राजीवकुमार झा

काठमाण्डौ । मातृभूमीलाई दुःख पर्दा बिदेशलाई कर्मभूमी बनाएका थुप्रै नेपालीहरु आफ्ना दाजुभाईको सहयोग अभियानमा जुटे ।

यस्तो दुःखका बेला कसको हैसियत कति भनेर हेरिएन, एक डलरमात्र किन नहोस् सवैले आफ्नो खल्ती खुला गरिदिए ।
नेपाललाई सहयोग गर्न बिदेशमा ठूलो धन दौलत आर्जन गरिरहनु पर्दैन । मातृभूमीको दर्दलाई महसुस गर्ने हो भने जस्तो आ-आफ्नो ठाउँबाट धेरै गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् चीनमा कार्यरत एक नेपाली प्राध्यापकले ।

चीनको सान्सी प्रान्तको सियान बिश्वविद्यालयमा क्यान्सर रोगबारे अनुसन्धान र प्राध्यापन गरिरहेका प्राध्यापक डा. राजीवकुमार झाले यस्तै उदाहरण दिएका छन् आफ्नो साढे ९ महिनाको तलव भूकम्प पिडीतलाई दिएर ।

बिश्वबिद्यालयले दिने तलवबाट आफ्नो जिविका चलाउनुपर्ने यी प्राध्यापकले आफ्नो बचत काटेर भूकम्पपिडीतका लागि झण्डै १८ लाख रुपैयाँ प्रदान गरे ।

‘बर्षमा केही महिना अनुसन्धानका लागि नेपाल पनि बस्छु, तीन महिनाको तलव भयो भने मलाई ७-८ महिना चीनमा जीविका चलाउन पुगिहाल्छ’- झा ले भने-‘त्यही हिसाव निकालेर साढे ९ महिनाको तलव भूकम्प पिडीतलाई दिएको हुँ ।’
नेपालमा भूकम्प गएपछि उनी कार्यरत चिनियाँ बिश्वबिद्यालयमा सहकर्मीहरुले राजीवलाई भेटेर नेपालप्रति सहानुभूति जनाए । उनले यही मौकामा नेपालका लागि केही गर्न आफ्ना सहकर्मीलाई उत्प्रेरित गरे ।

भूकम्पपछि त्रिपालमा बस्न विवस दाजुभाइले शुद्ध पिउने पानीको अभावमा ज्यान गुमाउनुपर्ला भन्ने डर थियो राजिवलाई । त्यसैले उनले बिश्वबिद्यालय नेतृत्व र सहकर्मीवीच ठूलो स्केलका पानी सुद्धिकरण मेसिन पठाउने योजना सुनाए । जसमा सवै सहमत भए ।

उनकै पहलमा एक साताभित्रै नेपालमा दुईवटा ठूलो आकारका पानी शुद्धिकरण मेसिन आइपुगे । साथमा बिश्वबिद्यालयका केही इन्जिनियर पनि मेसिन जडान गर्न आए ।

दिनमा चार हजार लिटर पानी सुद्धिकरण गर्ने क्षमता भएका यी दुई मेसिनमध्ये एउटा भक्तपुरमा र एउटा ललितपुरमा जडान भएको झाले जानकारी दिए ।

‘यस्तो बिषम परिस्थीतिमा मजस्तो प्राध्यापकले गर्न सक्ने धेरै ठाउँ थिएन’ १७ बर्षदेखि चीनमा बस्दै आएका झाले टेलिफोनमा अनलाइनखबरसँग भने- ‘नेपालका भूकम्पका तस्वीर र समाचार हेर्दा मन थाम्न सकिन, त्यसपछि बिश्वबिद्यालयसँग मिलेर पानी शुद्धिकरण गर्ने मेसिन प्रदान गर्ने तारतम्य मिलाएँ ।’

झा को अग्रसरतामा भक्तपुरमा जडित मेसिनबाट शुद्द बनाइएको पानी खुवाउँदै चिनियाँ प्राबिधिक
झा को अग्रसरतामा भक्तपुरमा जडित मेसिनबाट शुद्द बनाइएको पानी खुवाउँदै चिनियाँ प्राबिधिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment