Comments Add Comment

चीनसँगको व्यापारिक नाकामा थप समस्या

Tato-pani-sadak-3
फाइल तस्वीर/तातोपनी सडक ।

नविन अर्याल

११ जेठ, काठमाडौं । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँग लामो समय व्यापार अवरुद्ध हुने देखिएको छ । भूकम्पले दुबै मुलुकको  सीमा नाका तातोपानी-खासा र रसुवागढी-केरूङ क्षत विक्षत भएपछि व्यापार अवरुद्ध हुने देखिएको हो ।

नेपाल सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी हुँदै सडक मार्गमार्फत चीनसँग जोडिएको छ ।  भूकम्पका कारण अहिले दुबै नाकाहरु क्षतविक्षत भएको व्यवसायीहरुको भनाइ छ । यसै पनि धुले पहिरो गइरहने यी क्षेत्रमा वर्षामा थप पहिरो जाने सम्भावना बढेको छ ।

‘भूकम्पले दुबै नाकाको भन्सार कार्यालय र सडक भत्किएर ध्वस्त भएको छ’ रसुवागढी भन्सार कार्यालयका प्रमुख सम्भु खड्काले अनलाइनखबरसँग भने- ‘पहाड चिरिएर जीर्ण भएको हुँदा अब ठूलो पहिरो गइरहने सम्भावना निकै बढेको छ ।’

खड्काका अनुसार दुबै नाकाको सडक तत्काल सामान्य मर्मत गरेर सुचारु गरिए पनि वर्षामा पुनः बिगि्रएर दुःख दिने सम्भावना रहेको छ । अहिले दुबै भन्सार कार्यालयमा रहेका कर्मचारीहरु सुरक्षित ठाउँमा सरिसकेका छन् ।

नाकाहरु जिर्ण भएका कारण वर्षा नसकिएसम्म तातोपानी र रसुवागढीबाट हुने चीनसँगको व्यापार अवरुद्ध हुने देखिन्छ । यदि यसो भएमा नेपाली बजार महंगो हुने देखिएको छ । नेपालमा लुगाफाटादेखि इलेक्ट्रोनिक्स समानसम्म अधिकांश चीनबाट आयात गरिन्छ ।

चीनसँग जोडिएको तातोपानी नेपालको दोस्रो ठूलो व्यापारीक नाका हो । भूकम्पपछि बाटो सामान्य मर्मत गरेर तातोपानीमा अडि्कएका कन्टेनर काठमाडौं ल्याइएको छ । कन्टेनरमा सिल लगाएर तातापानीबाट ल्याइएको समानको भन्सार मूल्यांकन काठमाडौंमा गरिएको थियो ।

तर, रसुवागढीमा अडि्कएका कन्टेनर सुरक्षित ठाउँमा ल्याउन समेत कठिनाइ भइरहेको व्यवसायीको भनाई छ । रसुवागढीमा अडि्कएका केही कन्टेनरहरु पहिरोमा पुरिएका छन् । भूकम्पको पराकम्पन आइरहेको हुँदा पहिरोको डरले नाकासम्म पुग्न नसकेको भन्सार प्रमुख खड्काले बताए ।

चीनद्वारा खासा बन्द

तातोपानीको सडक सामान्य मर्मत गरेर खुलाइए पनि चीन सरकारले खासा बजार पुरै बन्द गरेको छ । भूकम्पपछि खासा भन्सार कार्यालय बन्द गरेर चिनियाँ कर्मचारी सुरक्षित ठाउँमा गएर बसेको स्थानियको भनाई छ ।

‘भूकम्पले खासा क्षेत्र चिरिएपछि त्यहाँको बाटो करिव ३ महिनालाई बन्द गरिएको छ’ स्थानिय व्यवसायी ज्याङ्बु शेर्पाले भने- ‘अहिले तातोपानी क्षेत्रमा अडि्कएका कन्टेनरमात्र काठमाडौं ल्याउने काम भइरहेको छ ।’

Tatopani (16)
तातोपानी सडक खुलाउँदै नेपाली तथा चिनियाँ सुरक्षाकर्मी । फाइल तस्बीर ।

चीनले भूकम्पको क्षतिग्रस्त सडक तथा अन्य भौतिक संरचना पुनर्निर्माण नगरी खासा नखुलाउने बताएको छ । पाखोमा रहेको खासा बजारमा भूकम्पले ठूलो क्षति पुर्‍याएको बताइन्छ । त्यहाँ रहेका केही घरहरु भत्किएका छन् भने सडक चिरिएको छ ।

व्यवसायीका अनुसार ठूला गाडी गुडाउँदा झनै जोखिम बढ्ने हुँदा चीनले सडक बन्द गरेको हो । चीनले खासा भन्सार कार्यालय समेत बन्द गरेको छ । व्यापारीहरु पनि पसल बन्द गरेर सुरक्षित स्थान सिघर्टेमा गएर बसेको नेपाल चाइना चेम्बर अफर कमर्स तातोपानी च्याप्टरका अध्यक्षसमेत रहेका शेर्पाले बताए ।

‘व्यापारी तथा कर्मचारीलाई न्यालम भन्दा तल आउन दिइएको छैन, खासामा प्रहरीमात्र देखिन्छन्’ शेर्पाले भने- ‘जबसम्म खासा बस्न लायक हुँदैन्, तबसम्म कसैलाई पनि र्झन दिँदैन रे ।’

यही कारण चीनबाट तत्काल नेपालमा सामान नआउने शेर्पाको भनाई छ । त्यसो त अहिले सामान्य मर्मत सम्भार गरेर खोलिएका सडक पनि वषर्ामा पुनः विगि्रने उनी बताउँछन् ।

दैनिक सयौं ट्रक तथा कन्टेनरहरु आवात-जावत गर्ने यो नाका भूकम्पपछि सुनसान रहेको छ । चिनियाँ टोलीले हेलिकप्टरबाट अनुगमन गरेर नेपालको लिपिङ क्षेत्र धेरै ठाउँमा चिरिएको बताउँदै वर्षामा ठूलो पहिरो जाने सम्भावना रहेको हुँदा बसाई सार्न स्थानीयलाई आग्रह गरिसकेको शेर्पा बताउँछन् ।

रसुवागढी पनि जोखिममा

भूकम्पले रसुवागढी भन्सार कार्यालयको भौतिक पूर्वाधार ध्वस्त भएको खड्काले बताए । कम्प्यूटर सिष्टमदेखि बिजुली, टेलिफोन, गोदाम घर, अफिस, क्वाटर सबै क्षतविक्षत भएका छन् ।

यहाँ अझै भन्सारका केही कर्मचारी पुरिएको बताउँदै भन्सार प्रमुख खड्काले ५ वटा ट्रकसमेत पहिरोमा परेको गुनासो गरे । चिनियाँ टोलीले रसुवागढी देखि केरुङसम्मको सडक सामान्य मर्मत गरेर खोलेपनि भन्सार क्षेत्रमा भत्किएका संरचना पन्छाउन डराएको उनले बताए ।

‘भूकम्पको  पराकम्पन आइरहँदा पुनः पहिरो खस्ने डरले भत्किएका संरचना पन्छाउन उनीहरु डराए’ खड्काले भने- ‘यस क्षेत्रमा धेरै बाटो बिगि्रएको थियो, नेपालबाट डोजर ल्याएर खुलाउन सम्भवन नभएपछि चिनियाँ टोलीले बाटोसम्म खुलाउने काम गरेको छ ।’

Rasuwagadhi
रसुवागढी-केरूङ नाका/फाइल तस्वीर ।

यहाँबाट औषत दैनिक २०/२५ कन्टेनर डिँड्न गर्थे । पोहोर साल सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा तातोपानी नाका अवरुद्ध भएपछि धेरै कन्टेनरहरु हिँडेका थिए । रसुवातिरको पहाड धेरै चिरा परेको हुँदा वर्षा सुरु हुँदा वित्तिकै पहिरो खस्ने सम्भावना रहेको खड्काले बताए ।

‘हामीले यहाँ बसेर बढी काम गरेमा एक महिना हो, त्यसपछि काम गर्न सकिदैन भन्ने लाग्छ’ उनले भने- ‘एक महिनाको समय पनि टिमुरे वा स्याफ्रुबेसीमा बसेर काम गर्ने तयारीमा छौं ।’

भूकम्पपछि सडक सामान्य मर्मत गरेपनि अहिलेसम्म व्यववसायीले समान हाल्न डराएका छन् । समान हालेपछि भूकम्प वा पहिरो गएर सडक बिगि्रएमा समान नष्ट हुने डरले तत्काल समान हाल्न डराएको बताइन्छ ।

कोलकाता हुँदै समान ल्याउँदा महंगो

वर्षामा तातोपानी र रसुवागढीको बाटो अवरुद्ध भएपनि भारतको कलकत्ता सुख्खा बन्दरगाह हुँदै चिनियाँ समान ल्याउने विकल्प भने रहेको छ । चीनबाट कोलकातासम्म पानी जहाजमा समान ल्याई त्यहाँबाट गाडीमा लोड गरेर समान नेपाल ल्याउन सकिन्छ ।

तर, यसरी सामान ल्याउँदा निकै महंगो पर्ने खड्का बताउँछन् । ‘यताबाट अर्डर गरेको १५/२० दिनमा समान काठमाडौं आइपुग्थ्यो भने कलकत्ता हुँदै ल्याउनु परेमा ४५/५० दिनसम्म लाग्छ’ उनले भने- ‘यसले ढुवानी कष्ट पक्कै बढाउँछ ।’

pasal haru (7)

नेपालमा प्रयोग गरिने अधिकांश लुगाफाटा, इलेक्ट्रोनिक्स समान, दूरसञ्चारका सामान, कस्मेटिक्स, मेडिक इक्विपमेन्ट, सोलार प्यानल, जुत्ता-चप्पल, मेटल तथा काठका फर्निचर, ब्याट्री रासायनिक मल, मोबाइल, चार्जर, मोबाइल कभर लगायत चीनबाट आयात गरिन्छ ।

बजारमा अभाव सुरु

चीनबाट एक महिना सामान नआउँदा अहिले बजारमा नयाँ सामानको अभाव हुन थालिसकेको छ । होलसेलरहरु आफुहरुसँग स्टक सामानमात्र रहेको जानकारी दिँदै नयाँ सामान ल्याउन नसकेको बताउन थालिसकेका छन् ।

यही अवस्था लम्बिएमा बजारमा सस्ता सामानको अभाव चुलिने व्यवसायीहरु बताउँछन् । चिनियाँ सामानकै कारण अहिले सबै नेपालीले आधुनिक सभ्यता पछ्याउन पाइरहेका छन् ।

नेपालमा चीनको अलवा भारत, थाइल्यान्ड, कोरिया लगायतका मुलुकबाट पनि लुगाफाटा आउने गर्छन । तर, यी मुलुकबाट आउने लुगाहरु महंगो हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment