Comments Add Comment

भूइँचालोले यस कारण फुटाएन हिमताल !

११ जेठ, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पले पहाडको महाभारत श्रृंखलालाई नराम्ररी हल्लायो ।  मानिसहरुमा डर थियो कि अब च्छो रोल्पालगायतका हिमतालहरु फुट्ने छन् र नदी आसपासका बस्ती जोखिममा पर्नेछन् । तर, कुनै पनि हिमताल फुटेनन् ।

भूकम्पपछि स्याटलाइटबाट लिइएको च्छो रोल्पा हिमतालको तस्वीर । तस्वीर सौजन्यः इसिमोड
भूकम्पपछि स्याटलाइटबाट लिइएको च्छो रोल्पा हिमतालको तस्वीर । तस्वीर सौजन्यः इसिमोड

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएको गएको ७.८ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको लगातारको पराकम्पनले ५ लाखभन्दा बढी परिवारका घरहरु भत्किए । भण्डै ९ हजार मानिसको मृत्यु भयो । सगरमाथा आधार शिविर र लाङटाङ क्षेत्रमा मानवीयसहितको ठूलो क्षति भयो । पहाडमा ठूला ठूला पहिरो गएपछि हिमतालहरु फुट्ने हो कि भन्ने डर थियो ।

भूकम्प प्रभावित जिल्लाहरुमा धेरैवटा हिमताल भएता पनि मुख्य हिमताल तीनवटा छन् । तीमध्ये च्छो रोल्पा दोलखामा पर्छ भने इम्जा सोलुखुम्बुमा र ठूलाकी हिमताल मनाङमा पर्छ । यीमध्ये च्छो रोल्पा र इम्जा पहिलेदेखि नै खतराको सूचीमा थिए ।

यसरी बढ्दैछ इम्जा हिमताल

Imja lake
भूकम्पपछि स्याटलाइटबाट लिइएको इम्जा हिमतालको तस्वीर । तस्वीर सौजन्यः इसिमोड

सोलखुम्बुमा पर्ने इम्जा हिमताल ५ हजार ५० मिटर उचाइमा छ । हिमाली क्षेत्रमा कसरी हिमतालको जन्म हुन्छ भन्ने अध्ययन गर्न इम्जाको इतिहास देर्हा रोचक तथ्य प्राप्त हुन्छ ।

सन् १९६२ मा सानो पोखरीजस्तो मात्र रहेको इम्जाको अहिलेको लम्बाइ २ किलोमिटरभन्दा बढी छ भने ५/६ सय मिटर चौडा छ । ४६ मिटरभन्दा बढी गहिरो यो तालमा ४ करोड घनमिटरभन्दा बढी पानी छ ।

दोलखामा रहेको च्छो रोल्पा हिमतालमा केही वर्ष पहिला नै ७ करोड ६० लाख घनमिटर पानी जमेको थियो । तर, भूकम्पपछि मे १७ मा प्राप्त स्याटेलाइट तस्वीरमा च्छो रोल्पा पनि सुरक्षित देखिएको छ । यद्यपि च्छो रोल्पालाई यसअघि नै विज्ञहरुले फुट्ने खतरामा रहेको हिमतालका रुपमा लिँदै आएका थिए ।

भूकम्पलगत्तै हेलिकोप्टरमा गएका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले समेत च्छो रोल्पा सुरक्षित रहेको बताएका थिए ।

मनाङ जिल्लामा पर्ने ठूलाकी हिमतालको स्याटलाइट तस्वीर मे ३ मा प्राप्त भएको छ । विज्ञ बज्राचार्यका अनुसार ठूलाकी तालमा माथिबाट साना साना पहिरो आएका छन् । तर, ताल भने फुटेको छैन ।

तर, भूकम्पपछि प्राप्त स्याटलाइट तस्वीरहरुले यी तीनवटै हिमताल सुरक्षित रहेको देखिएको छ । ‘भूकम्प आउनासाथ ल अब के भयो भन्ने भएको थियो’ हिमतालबारे लामो समयदेखि अध्ययनरत इसिमोडका विशेषज्ञ सम्ज्वल बज्राचार्यले अनलाइनखबरसँग भने-अप्रिल २८ मा तस्वीर पाउँदा इम्जा इन्ट्याक्ट (यथावत) छ । केही भएको छैन भन्ने थाहा पाएपछि ह्वी आर हृयापी ।’

यस कारण फुटेनन् हिमताल

विनाशकारी भूकम्प आएको समयमा हिमतालहरुको हिउँ पग्लिएको थिएन । धेरै हिउँ नपग्लिएका कारण भूकम्पले यी हिमतालमा कम क्षति पुर्‍याएको विज्ञहरुको तर्क छ ।

भूकम्पपछि स्याटलाइटबाट लिइएको ठूलाकी हिमतालको तस्वीर । तस्वीर सौजन्यः इसिमोड
भूकम्पपछि स्याटलाइटबाट लिइएको ठूलाकी हिमतालको तस्वीर । तस्वीर सौजन्यः इसिमोड

सामान्यतया तापक्रम बढेर मार्च अन्तिमबाटै हिमतालहरुको हिउँ पग्लन सुरु हुन्थ्यो । तर, यो वर्ष अप्रिल अन्तिमसम्म पनि हिउँ पग्लिएको छैन । यसको कारण हो, हिमालय क्षेत्रको तापक्रम वृद्धिमा ढिलाइ हुनु ।

गत अक्टोबरमा हुदहुद आँधी आयो, जसले उच्च हिमाली क्षेत्रमा हिमपात भयो र तापक्रम बढ्न पाएन । त्यस्तै नोभेम्बर र डिसेम्बरमा पनि पानी पर्‍यो र अहिले पनि पानी परिरहेको छ, जसका कारण तापक्रम बढ्न पाएन र हिमतालमा पानीको मात्रा बढ्न पाएन ।

‘यदि हिउँ पग्लिएर हिमतालमा पानी भरिएको भए छचल्किएर बाहिर जान सक्थ्यो र ताल फुट्न सक्थ्यो, तर, तालमा हिउँ नै भएकाले छचल्किन पाएन’ बज्राचार्यले भने ।

तर, केही हिमतालहरु छेक्ने ‘मोरेन’हरुमा पहिरो आएर छेकेको उनले बताए ।

खतरा सरेको मात्रै हो, टरेको होइन

भूकम्पले तीन ठूला हिमाताल फुटेनन् । तर, यसले खतरा भने टरेको छैन । स्याटलाइट तस्वीरहरुमा ताल सुरक्षित देखिएको छ । तर, ताललाई छेक्ने मोरेनहरुको अवस्था कस्तो छ भन्ने अझै प्रष्ट भएको छैन ।

‘इम्जासहितका हिमताल सेभ छन् भनेर हामीले स्याटेलाइट तस्वीरका आधारमा भनेको हो’ बज्राचार्यले अनलाइनखबरसँग भने-हाम्रो समस्या भनेको बाहिरबाट हेर्दा ठीक छ । तर, मोरेनको वास्तविक अवस्था कस्तो छ भन्ने फिल्डमा गएर हेर्न आवश्यक छ ।’

विज्ञका अनुसार वर्षायाममा हिमतालमा पानी बढ्ने भएकाले भूकम्पपछि मोरेनहरुमा चिरा परेको छ कि छैन भन्ने वर्षायाम अगावै अध्ययन गर्नुपर्छ । अन्यथा वर्षायाममा पानी बढेपछि पहिलेको सेगमेन्टले धान्छ कि धान्दैन भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment