Comments Add Comment

अस्पताल नै थला पर्‍यो, विरामीको उपचार कहाँ गर्ने ?

नवराज पथिक
११ जेठ, रामेछाप । अस्पताल विरामीहरुको उपचार गर्ने थलो हो । तर त्यही विरामीको उपचार गर्ने अस्पताल नै विरामीसरह थला परेपछि अवस्था के होला ? अहिले रामेछापका विरामीहरुको उपचार गर्ने स्वास्थ्य संस्थाहरुको हालत यस्तै छ । जिल्लाका ५६ स्वास्थ्य संस्थामध्ये आधा भन्दा धेरै भूकम्पले क्षतिग्रस्त भएका छन् ।

Ramechhap-Hospital

‘विनाशकारी भूकम्पबाट रामेछाप जिल्ला अस्पतालको भवन भत्किएपछि विरामीको उपचारमा समस्या भएको छ,’ जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रणयकुमार उपाध्यायले भने, ‘आफै विरामी भएजस्तो स्थिति छ ।’

अस्पतालको विरामी राख्ने वार्ड पूरै भत्किएपछि जिल्ला अस्पताल टेण्टमा राखेर सञ्चालन गरिएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको १५ शैयाको रामेछाप जिल्ला अस्पतालको विरामी राख्ने भवन पुरै भत्किएको छ । ल्यावटेष्ट गर्ने कक्षहरु पनि भत्किएका छन् । कार्यालयको प्रशासनिक भवन बाहेक अन्य सबै भनवहरु काम नलाग्ने गरी ढलेका छन् ।

गर्मिको समयमा विरामीलाई टेन्टमा राखेर उपचार गर्दा निकै समस्या भएको उपाध्यायको भनाइ छ । तर अस्पतालसँग यसको विकल्प छैन ।

जिल्ला अस्पताल रामेछाप मात्र हैन विनाशकारी भूकम्पबाट रामेछापका अधिकांस स्वास्थ्य संस्थाहरु क्षतिग्रस्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख उपाध्यायका अनुसार जिल्लामा रहेका ५६ वटा स्वास्थ्य संस्थ्ााहरु मध्ये २५ स्वास्थ्य संस्थाहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जसमा जिल्ला अस्पताल रामेछाप, खिम्ति हेल्थपोष्ट र २३ वटा स्वास्थ्य चौकीहरु परेका छन् ।

त्यसैगरी २५ स्वास्थ्य केन्द्रहरुमा आंशिक क्षति पुगेको छ । ६ स्वास्थ्य केन्द्रमा कुनै क्षति नभएको उनले बताए । जिल्लामा रहेका ८ वटा वर्थिङ सेन्टरहरु पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यसले गर्दा सुत्केरी गराउन समेत समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment