Comments Add Comment

कास्कीमा राष्ट्रपति रनिङ शिल्ड जेठ १४ देखि

Jilla-khelkud-Kaski

सन्देश श्रेष्ठ

११ जेठ, पोखरा । भूकम्पका कारण कास्कीमा स्थगित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि जेठ १४ गतेदेखि हुने भएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि आएका पराकम्पनका कारण स्थगित प्रतियोगिता यहि जेठ १४, १५, १६ र १७ गते हुने भएको हो ।

पराकम्पन आउने क्रम कम हुन थालेकाले प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक जिल्ला खेलकुद विकास समिति कास्कीले जानकारी दिएको हो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा हुने सातौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र/छात्राको लागि भलिवल र एथ्लेटिक्सका विभिन्न ईभेण्ट्समा प्रतिष्पर्धा हुने समितिका अध्यक्ष सुमन देवकोटाले बताए । पत्रकार सम्मेलनमा उनले भूकम्पको त्रास हटाउन प्रतियोगिता चाँडो गरिएको स्पष्ट पारे ।

उनले भने, ‘खेलकुद जीवनसँग सम्बन्धित हुन्छ अनि जीवन दैनिकीसँग, त्यसैले भूकम्पको त्रासदीपूर्ण दैनिकीलाई भुल्नको लागि खेलकुद महत्वपूर्ण हुने ठानेर प्रतियोगिता गर्न लागेका हौं, आशा छ यसले त्रासदी हटाउन मद्दत गर्नेछ ।’

जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले भूकम्पबाट त्रसित बालबालिकालाई पहिलेकै अवस्थामा फर्काउन खेलकुद प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘शिक्षा र खेलकुद एक अर्काका परिपूरक हुन्, शान्ति र अनुशासनका लागि पनि खेलकुद महत्वपूर्ण हुन्छ साथै खेल गतिविधिले व्यक्तिको शारिरिक तथा मानसिक विकास गराउँछ ।’

प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले भूकम्पले प्रभावित भएको अबस्थामा निरास भएका विद्यार्थीहरुको मनलाई पुनर्जागरण गर्न पनि खेल गतिविधीले सघाउने बताए ।

२ सय विद्यालयका करीब ३ हजार विद्यार्थी सहभागि हुने प्रतियोगितामा भर्खरै प्रवेशिका परिक्षा दिएर बसेका बिद्यार्थीहरुले समेत सहभागिता जनाउन पाउने भएका छन् ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा कास्कीका ४ वटै निर्वाचन क्षेत्रका छुट्टाछुट्टै प्रतिष्पर्धा गराइने छ । प्रत्येक निर्वाचन क्षेत्रबाट प्रथम र द्वितीय भएका टिम तथा खेलाडीहरुलाई जिल्लास्तरमा प्रतिष्पर्धा गराइने जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष देवकोटाले जानकारी दिए ।

प्रतियोगितामा एथलेटिक्स तर्फ एक सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ४ गुणा एक सय मिटर, ४ गुणा ४ सय मिटर रिले दौड हुने छ । यस्तै हाईजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटफुट तर्फ छात्र/छात्राको प्रतिष्पर्धा पनि हुने समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने जिल्ला खेलकुद विकास समिति कास्कीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment