Comments Add Comment

भुकम्पपीडितका लागि बाँकेमा मुठ्ठीदान अभियान

आरपी सुवेदी

१२ जेठ, नेपालगन्ज  । वैशाख १२ गते गएको भूकम्पमा परी पीडित बनेका नेपालीलाई राहत सहयोग गर्न बाँकेमा मुठ्ठीदान अभियानको थालनी गरिने भएको छ ।

बाँकेका प्रत्येक घरधुरीबाट कम्तीमा पनि एक मुठ्ठी दाल, चामल, गहुँ वा नगदै संकलन गरी भूकम्प प्रभावित क्षेत्रमा सर्वसाधारणलाई वितरण गर्न ‘मुठ्ठीदान अभियान’को थालनी गर्न लागिको हो ।

जिल्लाबाट संकलन गरिने राहत खाद्य सामाग्री व्यवस्थापनको लागि नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय ‘राहत व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ । यो समितिलाई जिल्लाका प्रत्यक वडा तहसम्म पुर्‍याई मुठ्ठीदान संकलन गर्ने समितिका संयोजक श्रेठले जानकारी दिए ।

सो समितिको सदस्यहरुमा गैर सरकारी संस्था बाँकेका प्रभात सिंह ठकुरी, पत्रकार महासंघ बाँकेका रुद्र सुवेदी, नेपाली कांग्रेसका विजय यादव, एमालेका रत्न खत्री/दत्त आचार्य, राजमोबाट कृष्णराज पाण्डे, एनेकपा माओवादीका पार्वती पुनमगर, नेकपा-माओवादीका नविन घिमिरे शर्मा, फोरम लोकतान्त्रिकका हिरालाल लोनियाँ, व्यावसायी नन्दलाल बैश्य र सदस्य सचिव अशोक कर्माचार्यलाई तोकिएको छ ।

दुई नगरपालिका र ३४ गाविसमा रहेका घरधुरीका बासिन्दाबाट संकलन गरिएको सो मुठ्ठीदान राहत सम्बन्धित गाविसले नै जिल्लामा बुझाउनु पर्ने र गाविस, नगरपालिका तथा उप-महानगरपालिकामा रहेका वडा नागरिक मञ्चका संयोजक तथा सदस्यहरु, सामाजिक परिचालकहरुलाई परिचालन गरी राहत संकलन गर्ने भएकोले सो समितिले हरेक घरधुरीबाट दलहन, गहुँ चामल मुठ्ठीदान गर्नको लागि आव्हान पनि गरेको छ । नगद दिन चाहनेले नगद पनि दान गर्न सक्ने व्यवस्था मिलाईएको संयोजक श्रेष्ठले जानकारी दिए ।

उनले भने-‘आज मंगलबार सबै संकलन केन्द्रहरु तोकी तयारी गर्ने र भोली बुधबारदेखि संकलन सुरु गर्ने लक्ष्य लिएका छौ । केन्द्रमा आएर दिन नसक्नेका लागि घरदैलो पनि गरिनेछ ।’

यसैबीच नेपालगन्ज उप-महानगरपालिकामा रहेका सम्पूर्ण वडा सचिवहरुको संयोजकत्वमा वडास्तरीय समिति निर्माण गर्नुको साथै सो समितिमा वडानागरिक मञ्चका पदाधिकारी, सामाजिक परिचालक, तथा नागरिक समाजलाई परिचालन गर्ने र मंगलबारदेखि सबै वडाहरुले अनिवार्य रुपमा  मुठ्ठीदान संकलन गर्नको लागि कार्ययोजना बनाउने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment