Comments Add Comment

भूकम्पपछि देशमा २२ अर्ब रेमिटान्स भित्रियो

commercial-bank-in-Nepal१२ जेठ, काठमाडौं । विनासकारी भूकम्प आएको आज ठ्याक्कै एक महिना पुगेको छ । भूकम्पयता विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरुले मुलुकमा २२ अर्ब रुपैयाँ बढी रेमिटान्स पठाएका छन् ।

‘रेमिटान्सको वृद्धिदर बढेको छ, जसले हामीलाई यो संकटको घडीमा पैसाको अभाव हुनबाट केही हदसम्म  भएपनि मुक्त बनाएको छ’ केहीदिन अघिको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भनेका थिए- भूकम्पपछि मुलुकमा करिब २२ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

फागुनमा ४ प्रतिशतले बढेको रेमिटान्स चैतमा ७ प्रतिशतले बढेको थियो । बैशाख महिनामा १० देखि १२ प्रतिशतको वृद्धिदर हुने राष्ट्र बैंकका अधिकारीहरुको आँकलन छ ।

बैशाख महिनामा कति रेमिटान्स आयो भनेर ठ्याक्कै तथ्यांक त छैन । तर, बैंकहरुले राष्ट्र बैंकलाई बिक्री गरेको विदेशी मुद्रालाई आधार मानेर गभर्नरले २२ अर्ब रुपैयाँ रेमिटान भित्रिएको बताएका हुन ।

बैंकहरुले राष्ट्र बैंकलाई फागुनमा ३० अर्ब र चैतमा ३१ अर्ब रुपैयाँ बराबरका विदेशी मुद्रा बिक्री गरेका थिए भने बैशाखमा ५३ अर्ब रुपैयाँ बिक्री गरेको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘बैंकहरुले राष्ट्र बैंकलाई बिक्री गरेको विदेशी मुद्रामध्ये अधिकांस रेमिटान्समार्फत आएको वैदेशिक मुद्रा हो’ प्रवक्ता श्रेष्ठले भने- केही रकम भने कुटनीतिक खातामा आएको रकम हो ।’

फागुन र चैत महिनाको तुलनामा बैशाख र जेठ महिनामा रेमिटान्सको वृद्धिदर उच्च रहने राष्ट्र बैंकको आँकलन छ । चालू आर्थिक वर्षको चैत महिनामा ४ खर्ब २६ अर्ब १९ करोड रुपैयाँ रेमिटान्स आएको तथ्यांक राष्ट्र बैंकले सार्वजानिक गरिसकेको छ । गत आवको चैतमा ३१ प्रतिशतले बढेको रेमिटान्स यो आवको चैतमा ७ प्रतिशतले मात्रै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment