Comments Add Comment

कालीगण्डकीको पहिरो सुरुवात हो, अरु हेर्न बाँकी छ : विज्ञ

१२ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले बढी क्षति पुर्‍याएका क्षेत्रमा पहिरोको अर्को संकट आउने खतरा देखिएको छ । विज्ञहरुको टोलीले त्यस्ता खतराको सम्भावना देखिएका कतिपय स्थानको निक्र्योलसमेत गरेको छ ।
affected district map
भूकम्पले ठाउँठाउँमा जमीन चिराचिरा परेका छन् भने अधिकांश ठाउँमा जमीन कमजोर बनेको छ । अब वर्षायाम सुरु हुनासाथ धेरै ठाउँमा पहिरोको खतरा बढी हुने विज्ञले बताएका छन् ।

विज्ञहरुले पहिरोको जोखिमको अध्ययन गरिरहेका छन् । खानी तथा भूगर्भ विभाग नेतृत्वको टोलीले पनि स्थलगत अध्ययन गरिरहेको छ ।

गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा भूकम्पीय पहिरोको जोखिम रहेको भूगर्भविद् रञ्जनकुमार दाहालले अनलाइनखबरलाई बताए । उनले भने- ‘जमीन कति हल्लियो, पहाडको स्लोप कस्तो छ भन्ने आधारमा विश्लेषण गरेको हो ।’

वर्षायाममा आउने पहिरोको पूर्वसंकेतका रुपमा कालीगण्डकी नदी थुन्ने गरी म्याग्दीको राम्चेमा आएको पहिरोलाई लिइएको छ । ‘अबको तीन महिना हाम्रा लागि निकै गाह्रो छ’ उनले भने-’कालीगण्डकीको पहिरो यो सुरुवात हो । पहिलो सिन सुरु भयो । अरु हेर्न बाँकी छ ।’

पृथ्वी राजमार्गमा पर्ने मलेखुबाट मुग्लिन नारायणघाटसम्मको सडक पनि पहिरोले कमजोर बनाएको छ । डुम्रे, बन्दीपुरसम्मको भागमा बढी प्रभावित हुने सम्भावना देखिन्छ

दाहालका अनुसार गोरखाको माथिल्लो भागसम्मको जमिन भूकम्पले निकै कमजोर बनेको पाइएको छ । गोरखाको मुख्य बजारदेखि पूर्वको गाउँ पनि र बुढीगण्डकीको किनारमा पहिरोको जोखिम छ ।

यस्तै लाप्राक र माथिका गाउँहरु भूकम्पीय पहिरोको जोखिम छ । स्थानीय दैवी प्रकोप उद्धार समितिले समेत लाप्राकसहितका २२ वस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रालयलाई सिफारिस गरिसकेको छ ।

रसुवामा त्रिशुली नदीको किनारै किनार प्रसस्त मात्रमा समस्या देखिएको छ । रसुवामाथिको चिनियाँ भागहरुमा पनि भूकम्पीय पहिरोले सताउन सक्छ । ‘पहिरोले माथिल्लो भागमा त्रिशुली नदी थुनिन सक्छ’ दाहालले भने ।

सिन्धुपाल्चोकको लामोसाँघुभन्दा माथि प्रशस्त पहिरो जान सक्ने ठाउँहरु देखिएको छ । गाउँको पनि समस्या छ । सडकलाई पनि समस्या छ ।

दोलखाको सुनखानी क्षेत्र, जहाँ पराकम्पनका केन्द्रहरु धेरै रहृयो । सुनखानी र आसपासका क्षेत्रहरुमा पनि पहिरो जाने सम्भावना देखिएको छ । लामाबगरका माथिल्ला बस्तीहरुलाई पनि भूकम्पले कमजोर बनाएको छ ।

मनाङको चामे जाने बाटोमा धेरै ठाउँमा पहिरोको खतरा छ । लमजुङको बेसीशहरबाट माथि लागेपछि तालगाउँ र त्यसमाथिका गाउँहरुमा पहिरोको जोखिम रहेको भूगर्भविद दाहालले बताए । उनका अनुसार विषेश गरेर सडक आसपासका क्षेत्रमा नै पहिरोको जोखिम छ ।

यसैगरी काठमाडौं प्रवेश गर्ने नाकाकारुपमा रहेको पृथ्वी राजमार्गमा पर्ने मलेखुबाट मुग्लिन नारायणघाटसम्मको सडक पनि पहिरोले कमजोर बनाएको छ । पृथ्वी राजमार्गमा डुम्रे, बन्दीपुरसम्मको भागमा बढी प्रभावित हुने सम्भावना देखिन्छ ।

राजमार्गहरुमा पहिरोको जोखिम बढी

सडक विभागले पनि भूकम्पका कारण राजमार्गहरुमा पहिरोको जोखिम बढेको बताएको छ । पासाङल्हामु राजमार्गको वेत्रावती, धुन्चे, स्याप्रुबेसी हुँदै रसुवागढी पुग्ने सडकमा पहिरोको जोखिम छ ।
Highway
कोदारी राजमार्गमा बाह्रबीसे कोदारी क्षेत्रमा पनि पहिरो जान सक्ने आंकलन गरिएको छ । गोरखामा पर्ने ११ किलो-छेपेटार सडकमा बालुवादेखि बार्पाक र लाप्राक सडक पनि पहिरोको उच्च जोखिममा छ ।

मुग्लिन नारायणगढ सडक खण्डमा पनि यो वर्ष पहिरोको जोखिम बढी छ । ‘हामीले अहिले जोखिमको अध्ययन गरिरहेका छौं’ सडक विभागका प्रवक्ता उमेश झाले अनलाइनखबरसँग भने-‘अहिले नै विभिन्न गाउँमा सुख्खा पहिरो गएको छ भने वर्षादको समयमा योपटक बढी पहिरो जाने सहजै अनुमान गर्न सकिन्छ ।’

 पहिरोबाट कसरी सुरक्षित रहने ?

पहिरोलाई रोक्न सम्भव छैन । त्यसैले यसबारे जोगिनलाई सतर्कता अपनाउनको विकल्प रहँदैन । विज्ञहरुका अनुसार भूकम्पका कारण धाँजा फाटिएको जमिन छ भने वर्षातमा बग्ने सम्भावना धेरै हुन्छ ।

दाहालले भने-जोखिममा रहेका बस्तीहरुलाई सार्नु नै अहिलेको विकल्प हो ।’ उनका अनुसार भूकम्पले जमीनहरुमा चिराचिरा परेको छ भने त्यसको गहिराइ हेर्नुपर्छ । साना-साना धाँजा परेका छन् भने त्यसलाई टालिदिनुपर्छ । यसले वर्षा हुँदा त्यो धाँजा फाटिएको ठाउँमा पानी पस्न दिँदैन । तर, ठूला ठूला चिराहरु छन् भने सम्वन्धित निकायलाई भन्ने र त्यहाँ नबस्नु नै उत्तम हुन्छ ।

वर्षादको समयमा पृथ्वी राजमार्गसहितका राजमार्गहरु अरु बेलासमेत पहिरोले अवरुद्ध हुँदै आएका छन् । यो क्रम यो वर्ष बढ्ने अनुमान गरिएको छ ।

त्यसैले राजमार्गहरुमा पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने विज्ञहरुको सुझाव छ । उनीहरुका अनुसार राजमार्गमा वर्षा नाप्ने यन्त्रहरु राख्नुपर्छ ।

पानी कति पर्‍यो भन्ने आधारमा यात्रा गर्नु हुन्छ कि हुँदैन भनेर सूचना दिनुपर्छ । वर्षा निश्चित लेभलमा पुगेपछि यो बाटोमा पहिरो जान सक्छ भनेर चेतावनी दिने र रातिको समयमा बाटो बन्द गर्ने हो भने मानवीय क्षति कम गर्न सकिन्छ ।
सडक विभागको तयारी

विभागका प्रवक्ता झाका अनुसार पहिरोले सडक अवरुद्ध भए तत्काल खुलाउन सक्ने गरी उपकरणहरु तयारी अवस्थामा राखिनेछ । आवश्यक उपकरण खरिदका लागि रकम समेत माग गरिएको छ ।

तर, पूर्वसूचना केन्द्रहरु स्थापनाबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment