Comments Add Comment

जाजरकोट जिविसमा तालाबन्दी

बी.बी. गिरी
१२ जेठ, जाजरकोट । स्थानीय विकास अधिकारीले लाखौं रकमको कोटेशन गुपचुपमा बाँडेको भन्दै जिल्ला विकास समिति जाजरकोटमा तालाबन्दी गरिएको छ । कमिशनको खेलमा कोटेशन बाँडेको भन्दै संस्थागत भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियान चलाएका युवाहरुले जिविसमा तालाबन्दी गरेका हुन् ।

JI-BI-SA-JAJARKOT

  • तालाबन्दीलाई रोक्न जिविस परिसरमा प्रहरी पुगेका थिए । तर युवाहरुले तालाबन्दी गरेरै छाडेका छन्

विकेन्द्रिकृत ग्रामिण पूर्वाधार विकास तथा जिबिकोपार्जन सुधार (ड्रीलिप) कार्यक्रम अन्तर्गत खलंगा-रिम्ना र मोर्क-बालुवा सडकको मर्मत संभार तथा स्तरउन्नतिका लागि सार्बजनिक निर्माण शिर्षकको ७३ लाख रुपैयाँ स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले केही ब्यक्तिलाई गोप्यरुपमा कोटेशन दिएको आरोप लागेको छ ।

सार्बजनिक सूचना गरेर सूचिकृत फाराम संकलन गरी कोटेशन वितरण गर्ने प्रावधान भए पनि स्थानीय विकास अधिकारी पोखरेलले त्यसो नगरी जेठ ७ गते कार्यालय समयपछि रातारात केही ब्यक्तिसंग कमिशन लिएर सम्झौता गरेको संस्थागत भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियानका संयोजक सि.पि. घर्तिले बताए । यस्तो नियम बिपरित र कमिशनको लेनदेनमा काम गरेको बिरुद्धमा तालाबन्दी गरिएको संयोजक घर्तिको भनाई छ ।

स्थानीय विकास अधिकारी पोखरेलले जनसहभागिता शिर्षकको ८२ लाख बजेट उपप्रधान तथा स्थानीय विकास मन्त्रीको आदेश भन्दै मनोमानी बाँडेका थिए । केही दिनको अन्तरालमा ड्रीलिप कार्यक्रमको लाखौं रकम कोटेशन बाँडेको भन्दै जिल्लास्तरमा बिरोध भएको छ । कोटेशन बाँडेर सम्पर्कविहीन भएका स्थानीय विकास अधिकारी जिविसमा तालाबन्दीपछि मंगलबार जिल्ला फर्किएका छन् ।

कालीकोट र रोल्पामा स्थानीयका विकास अधिकारी रहँदा पनि बिभिन्न काममा विवादित बनेका पोखरेलले जाजरकोटमा पनि बिबादमा मुछिएका छन् । स्थानीय विकास अधिकारीले गरेको अनियमित कामको जाजरकोटका बिभिन्न संघ संस्थाले बिरोध गरेका छन् ।

सर्बपक्षिय बैठक गरेर ताला खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment