Comments Add Comment

यी हुन् भूइँचालोले नहल्लाएका प्रमुख ‘ट्रेकिङ रुट’

great-himalayan-trail

१२ जेठ, काठमाडौं । अन्नपूर्ण क्षेत्र विश्वकै सबैभन्दा उत्कृष्ट पदयात्रा मार्गमा पर्छ । अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प लगायतका दर्जन बढी रुटहरु रहेको यस क्षेत्रमा ६० प्रतिशत बढी विदेशी पदयात्री पुग्ने गरेका छन् ।

नेपाल आउने पर्यटकमध्ये खुम्बु क्षेत्रमा २० प्रतिशतको हाराहारीमा पदायात्रीहरु पुग्ने गरेका छन् । बाँकी २० प्रतिशत पदयात्री लाङटाङ, मनास्लु, गौरीशंकर, धौलागिरी लगायतका अन्य रुटमा जाने गरेका छन् ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पले प्रमुख पदमार्ग अन्नपूर्ण र खुम्बु क्षेत्रमा खासै क्षति पुर्‍याएको छैन । मध्य तथा सुदूरपश्चिम क्षेत्रका दर्जनौं पदमार्गमा भूकम्पको कुनै पनि प्रभाव नपरेको बताइन्छ ।

भूकम्पले क्षति पुर्‍याउने गन्तव्यहरुमा सीमित पदयात्री पुग्ने लाङटाङ, मनास्लु, गौरीशंकर, लामाबगर, रोल्वालिङ लगायतका क्षेत्रहरु छन् । नेपालमा पदयात्रा गरिने प्रमुख गन्तव्यहरु सुरक्षित रहेको हुँदा पदयात्रा पर्यटन जिवितै रहेको व्यवसायीहरु बताउँछन् ।

‘नेपालमा पदयात्राका लागि अनगिन्ती सुरक्षित गन्तव्य छन्,’ पर्यटनविद् प्रचण्डमान श्रेष्ठले भने, ‘भूकम्पले क्षति पुगेका पदयात्रा मार्ग पनि एक महिनाभित्र मर्मत गरेर सुचारु गर्न सकिन्छ ।’

annapurna-circuit-trek-draft

तर, भूकम्पपछि विश्वभरका मिडियाबाट नेपाली ट्रेकिङ रुटहरु असुरक्षित भएको, जानै नसकिने भनेर गलत प्रचार भइरहेको छ । त्यो गलत प्रचारलाई चिर्नको लागि सरकार तथा निजी क्षेत्रले तत्कालै यथार्थ सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने श्रेष्ठको सुझाव छ ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख समेत रहेका श्रेष्ठले भूकम्पले पदयात्रा मार्गमा प्रचार गरिएजति धेरै क्षति नपुगेको दाबी गर्छन् । ‘पहिरो गएर बाटोलाई धेरै क्षति पुगेको छैन, जति क्षति त्यहाँको सुन्दर गाउँबस्तीमा पुगेको छ,’ उनले भने, ‘पदयात्राको प्रमुख आकर्षण भनेकै सुन्दर गाउँबस्ती हो, जुन तत्काल निर्माण असम्भव छ ।’

नेपालमा सुन्दर पहाडी तथा हिमाली दृश्यावलोकन गर्दै स्थानीय समाजसँग खुशी साटासाट गरी पदयात्रा गर्न पाइन्छ । दर्जनौं आकर्षक पदयात्रा गन्तव्यहरु रहेको नेपालमा आउने अधिकांश विदेशी पर्यटकको पहिलो रोजाइ पदयात्रा हुने गरेको छ ।

दूर्भाग्य, भूकम्पपछि नेपालमा पर्यटकको संख्या शून्यमा झरेको छ । पदयात्राको सिजनमा गएको भूकम्पले सेप्टेम्बरदेखि सुरु हुने आगामी सिजनलाई समेत प्रभाव पारेको प्यासिफिक एशिया ट्राभल एजेन्टस् (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् ।

‘भूकम्पले नेपाली ट्रेकिङ रुटमा खासै क्षति पुर्‍याएको छैन,’ अध्यक्ष पाण्डेले भने, ‘विदेशी मिडियामा कभरेज भएका समाचारले पर्यटक त्रसित छन्, उनीहरुको विश्वास जितेर नेपाल ल्याउनुपर्ने चुनौती थपिएको छ ।’

नेपालको ट्रेकिङ रुटहरु मानव निर्मित नभइ मानव बस्तीले प्रयोग गर्दा आफै निर्माण भएका हुन् । एक ठाउँमा पहिरो गएर रुट बिग्रिएमा अर्को ठाउँमा खुलाउन सकिन्छ । पर्यटकलाई भूकम्प प्रभावित क्षेत्रमा जान डर लागेमा विकल्पस्वरुप अनगिन्ती सुरक्षित ठाउँ छन् ।

भूकम्पले होमस्टे र लजहरु भत्किए पनि सुन्दर दृश्यहरु यथावत छन् । त्यस्ता ठाउँमा टेन्टेड क्याम्प ट्रेकिङ सुरु गर्न सकिने पर्यटनविद् श्रेष्ठ बताउँछन् । उनका अनुसार नेपालमा टेन्टेड क्याम्प ट्रेकिङबाट सुरु भएको पदयात्रा भिलेज लज बेष्ड ट्रेकिङमा परिणत भएको हो ।

विदेशमा गलत हल्ला

map-rolwaling-khumbu-trek

नेपालमा केही नभए पनि कतिपय देशले ‘ट्राभल एडभाइजरी’ जारी गरिदिएकाले पनि पर्यटकहरु नेपालमा आउन डराइरहेको पर्यटन व्यवसायी बताउँछन् ।

‘नेपालको तेस्रो मार्केट यूकेले ट्राभल एडभाइजरी जारी गरिदिएको छ । यस्तो अवस्थामा केही भैहाल्यो भने इन्स्योरेन्स हुँदैन भनेर टुरिष्टहरु आउन डराउँछन्,’ पर्यटन व्यवसायी तथा मकालु एडभेन्चरका प्रवन्धक संचालक मोहन लम्साल भन्छन्, ‘नेपालका ट्रेकिङ रुट सुरक्षित भए पनि गलत म्यासेज गैरहेको छ । कतिपय देशमा त त्रिभुवन विमानस्थल नै बाँकी छैन भनेर हल्ला फैलिएको रहेछ ।’

टानका पूर्वमहासचिवसमेत रहेका लम्सालले लाङटाङ भ्यालीबाट घोडेतबला हुँदै क्यान्जिन जाने रुट बाहेक अरु सबै सुरक्षित रहेको जानकारी दिए । ‘यो रुटमा स्थानीय लज (टी हाउस) भत्किएका छन् तर क्याम्पिङ गरेर जान सकिन्छ,’ उनले भने, ‘पहिले पहिले टी हाउस नखुल्दै क्याम्पिङ गरेर टुरिष्टहरुलाई लगेकै हो ।’

धेरै छन् विकल्प

नेपाल ट्रेकिङ एजेन्टस् एशोसियसन अफ नेपाल (टान) प्रमुख कार्यकारी अधिकृत जिआर पन्तका अनुसार नेपालमा सयभन्दा बढी ट्रेकिङ रुटहरु रहेका छन् । अहिले भूकम्पले क्षति पुर्‍याएका ट्रेकिङ रुटहरु पछिल्लो समय विकास भएका गन्तव्यहरु भएको उनको भनाइ छ ।

प्राकृतिक सुन्दरताको राजधानी मानिने मध्य तथा सुदूरपश्चिम क्षेत्रमा रहेका डोल्पा, मुगुको रारा, बडिमालिका, खप्तड, रोल्पा/रुकुममा पर्ने गुरिल्ला ट्रेलमा पदयात्रा गराउन सकिन्छ । टानले पहिचान गरेका तीन दर्जन बढी नयाँ पदयात्रा गन्तव्यलाई पनि यही बेलामा प्रवर्द्धन गरेर पर्यटक भित्राउन सकिने पन्तको भनाइ छ ।

routemap73

लाङटाङ राजधानीबाट नजिक भएको हुँदा पदयात्रीको रोजाइमा पर्न सफल भएको बताइन्छ । यद्यपी यो क्षेत्र पनि पदयात्राका लागि निकै सुन्दर गन्तव्य हो। मनास्लु क्षेत्र पर्यटकका लागि धेरै पछि खुल्ला गरिएको हो ।

‘अन्नपूर्ण र खुम्बु क्षेत्रमा भूकम्पले लज तथा रेष्टुरेन्टमा सामान्य क्षति पुगे पनि अन्य ठूलो क्षति पुगेको सुन्नमा आएको छैन,’ पन्तले भने, ‘यदि पर्यटक नेपाल आएमा सुरक्षित पदयात्रा गराउन सकिन्छ ।’

पदयात्रा यसै पनि जोखिमयुक्त यात्रा हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने पदयात्रामा कुनै पनि बेला समस्या आउन सक्छ । यसका लागि सरकारले तत्काल उद्दार गर्न रेस्क्यू टोली हाई अलर्टमा राख्नुपर्ने पर्यटन व्यवसायी कृष्ण अर्याल बताउँछन् ।

विदेशमा पनि पदयात्रा तथा हिमाल आरोहणका बेलामा ठूला-ठूला प्राकृतिक विपत्ती तथा अन्य समस्याहरु आउने गर्छन्, तर त्यहाँ समस्या आउने वित्तिकै रेस्क्यू गरिन्छ,’ अर्यालले भने, ‘नेपालमा पनि सुविधा सम्पन्न रेस्क्यू टोली बनाउनुपर्छ ।’

सरकारी प्रयास

map_4-12

त्यसो त सरकारले पनि पर्यटकका लागि निषेधित गरेका क्षेत्रहरु पनि खुल्ला गर्ने तयारी गरिरहेको छ । पर्यटन पुनरुत्थानका लागि सार्वजनिक निजी अवधारणामा गठन गरिएको ‘पर्यटन पुनरुत्था समिटि (टिआरसी)ले ट्रेकिङ रुटमा भएको क्षतिको विवरण खोज्न टानलाई जिम्मा दिएको छ ।

पर्यटन विभागले ट्रेकिङ रुट मर्मत गर्न तथा पाँच जिल्लाका पाँच गाउँलाई पर्यटक गाउँ बनाउने प्रस्ताव योजना आयोगमा पेश गरेको छ । भूकम्प प्रभावित चार जिल्लाका चार पर्यटकीय गाउँमा पूर्वाधार विकास गर्न ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यसैगरी, ग्रेट हिमालय ट्रेल अन्तर्गत अरुण नदीदेखि पश्चिम मुस्ताङसम्म पर्यटकीय मार्ग सर्वेक्षण, पुनर्निर्माण तथा नवनिर्माणका लागि १० करोड र मनास्लु, लाङटाङ, हेलम्बु, च्छोरोल्पा क्षेत्रका होटल, रेष्टुरेन्ट, होमस्टे, टि-कफी हाउस निर्माण तथा मर्मतका लागि २ करोड अनुदानको प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment