Comments Add Comment

चलचित्र त चलाउने तर, ‘विरालाेको घाटीमा कसले पहिला घन्टी झुन्ड्याउने ?’

nepali-film-ka-kalakar
विजय आवाज

नयाँ बर्षसँगै सुखद सुरुवात गरेको नेपाली चलचित्र क्षेत्र वैशाख १२ गते आएको भूकम्पपछि एकाएक थचक्क बसेको छ । देश नै विपत्तमा परेको समयमा राज्यको एउटा सानो पाटोको रुपमा रहेको चलचित्र क्षेत्र चल्न सक्ने त कुरै भएन । यसैले पनि वैशाख १२ गतेबाट रोकिएको चलचित्र क्षेत्र जेठ १२ सम्म आउँदा खासै चलायमान भएको छैन ।

केही चलचित्रले छायांकन सुरु गरेका छन् भने केही पोष्ट प्रोडक्शनको काम थालनीमा लागेका छन् । तर, चलचित्र प्रदर्शन नभएसम्म अरु कामको चर्चा कम हुन्छ । चलचित्र निर्माण भनेकै हलसम्म ल्याएर दर्शकलाई देखाउन हो, तर हलमा नै चलचित्र नलागेपछि बनाएर मात्र के अर्थ ?

एक महिनासम्म शुन्य जस्तै रहेको नेपाली चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउन सकिएला ? चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई छायांकन र पोष्ट प्रोडक्शनको काम सुरु भैसकेको बताउँछन् । उनले भने-‘मुख्य समस्या हलमा गएर रोकिएको छ । काठमाण्डौका अधिकांश हल भूकम्पका कारण क्षतीग्रस्त छन् । यिनीहरुको पूननिर्माणको काम पनि भैसकेको छैन ।

हामी त चलचित्र चलाउन तयार छौ । भलै सुरुमा ठूला चलचित्र चलाउन गाह्रो होला । तर, साना चलचित्र चलाएर भएपनि माहोल बनाउन जरुरी छ ।’ अहिलेको मुख्य समस्या, ‘विरालाको घाटीमा कसले पहिला घन्टी झुण्ड्याउने’ भन्ने नै हो । कोही पनि निर्माता यो समयमा जोखिम मोल्न चाहदैनन् । तर, कुनै न कुनै चलचित्र नचली चलचित्र क्षेत्र चलायमान हुन सक्दैन ।

चलचित्र वितरक प्रदिप उदय अहिले नै चलचित्र नचल्दा पछि अप्ठ्यारो पर्ने र जुध्ने अवस्था नभएको बताउँछन् । तर, अबको एक महिना पनि हलमा चलचित्र नलागेको खण्डमा यो समस्या सुरु हुनसक्ने उनको भनाई छ । अब विस्तारै हल खुल्न थालेकाले पनि चलचित्र क्षेत्र चलायमान हुन्छ भन्ने उनको विश्वास छ ।
हलहरुको छाता संगठन चलचित्र संघका महासचिव मधुसुदन प्रधान भन्छन्-‘काठमाण्डौ बाहिरका हलमा खासै समस्या नभएकाले चलिरहेका छन् ।

तर, काठमाण्डौका ८० प्रतिशत हलहरुमा चलचित्र चलाउन समस्या छ ।’ उनका अनुसार हल भनेरै निर्माण भएका भवनहरु चलचित्र चलाउन सक्ने अवस्थामा छन्, तर सपिङ मल भनेर खोलिएका भवनमा रहेका मल्टिप्लेक्सहरुमा चलचित्र चलाउन अहिले नै सकिदैन । हलहरु केही नभएपनि मलहरु चर्किएकाले समस्या आएको मधुसुदनले बताए । उनले अहिले नयाँ चलचित्र प्रदर्शन नगर्न निर्माताहरुलाई सुझाव पनि दिएका छन् ।

यस्तो समयमा अब के गर्न सकिएला त ? नेपाली चलचित्रका नायक जीवन लुइटेल भन्छन्-‘सबैभन्दा पहिला सबै संघ संस्थाका प्रतिनिधी मिलेर गोलमेच सम्मेलन गर्नुपर्छ । राहतलाई पनि निरन्तरता दिएर चलचित्र क्षेत्रलाई अगाडि बढाउने बिषयमा सोच्नुपर्छ ।’

उनले हजारौ मानिस काम गर्ने चलचित्र क्षेत्रलाई लामो समयसम्म शुन्य बनाउन पनि नहुने बताउँदै भने-‘तर, यतिबेला मानिसले मनोरञ्जन खोजिरहेका छैनन् । यसैले जर्बजस्ती हलमा चलचित्र चलाउनुको पनि कुनै अर्थ छैन ।’ जीवनले दशै अगाडिसम्म नयाँ चलचित्र प्रदर्शन नगर्न सुझाव दिए । अहिलेको स्थिती भयावह भएकाले पनि यस बारेमा सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

यो अवस्था चुनौतीपूर्ण छ । अहिलेको मुख्य समस्या, नयाँ चलचित्र कसरी प्रदर्शन गर्ने भन्ने नै हो । निर्माता संघका अध्यक्ष राजकुमार राईले भने-‘हामीसँग केही चलचित्र छन्, जसका निर्माता प्रदर्शन गर्न तयार छन् । तर, काठमाण्डौमा खोल्न मिल्ने हल सुरु गरेर वातावरण बनाउने काम हल संचालकहरुको हो ।’

उनले बरु सरकारसँग भूकम्पका कारण भत्किएका र बिगि्रएका हललाई कसरी राहत दिन सकिन्छ भन्ने बिषयमा छलफल गर्न सकिने बताए । सुरुवातमा थोरै कलेक्शन भएपनि चलचित्र चलाएर वातावरण बनाउन आवश्यक रहेको उनको भनाई छ ।

राजकुमारले चलचित्र नथुप्रने दाबी पनि गरे । उनका अनुसार करिब ६ महिना चलचित्रको इजाजत प्रक्रिया रोकेर अगाडि बढ्न सकिन्छ । यसैले चलचित्र एक आपसमा जुध्ने समस्या नहुने राजकुमारले बताए ।
आजका दिनसम्म भदौ महिना भन्दा अगाडि नयाँ चलचित्रका कुनै पनि निर्माताले प्रदर्शन मिति तोेकेका छैनन् । वैशाख र जेठमा चल्ने सबैजसो चलचित्र पछाडि सरिसकेका छन् ।

असार र साउनमा प्रदर्शन गर्ने तयारीमा रहेका निर्माताले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । यसैले पनि नयाँ चलचित्र चल्नका लागि अझै केही समय लाग्ने देखिएको छ । काठमाण्डौमा केही हलहरु संचालनमा आइसकेका छन् ।

जसमा नयाँ हिन्दी चलचित्र र पुराना नेपाली चलचित्र लागिरहेका छन् । तर, ती चलचित्र हेर्नका लागि दर्शकको संख्या न्यून रहेको हलसंचालकहरु नै बताउँछन् । यस्तो अवस्थामा सुतेको चलचित्र क्षेत्रलाई कसरी दौडाउन सकिन्छ, सबै मिलेर समस्याको समाधान गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment