Comments Add Comment

राजधानीका अधिकांश तारे होटलमा हरियो स्टिकर, ९० प्रतिशत होटल सुरक्षित

१२ जेठ, काठमाडौं । राजधानीमा सञ्चालित अधिकांश तारे होटलहरु सुरक्षित रहेको भेटिएको छ । पर्यटन विभागद्धारा गठित अनुगमन टोलीले होटलहरु निरिक्षण गर्दा यस्तो भेटिएको हो । अहिलेसम्म टोलीले राजधानीका १५ वटाको हाराहारीमा तारे होटलहरू अनुगमन गरिसकेको छ ।

Five Star Hotel (2)

अनुगमन गरिएका होटलमध्ये धेरैजसो सुरक्षित भेटिएको पर्यटन विभागका सिनियर डिभिजन इञ्जिनियर पोषनाथ अधिकारी बताउँछन् । ‘अनुगमन गरिएका होटलमध्ये करिव ९० प्रतिशत सुरक्षित पाइयो’ उनले भने- ‘एकाध दुई होटलमात्र बन्द गर्नुपर्ने अवस्थामा भेटिएका छन् ।’

नयाँ बानेश्वरमा सञ्चालित एभरेष्ट होटलले रातो स्टिकर पाएको छ । वैशाख २९ गते गएको दोस्रो भूकम्पले तीनवटा पिलरमा धेरै क्षति पुगेपछि होटलमा रातो स्टिकर टाँसिएको हो । मंगलबार रातो स्टिकर टाँसेर होटल तत्काल बन्द गर्न टोलीले निर्देशन समेत दिएको छ ।

सरकारी अनुगमन टोलीले बस्न असुरक्षित देखिएका होटलका भवनमा रातो स्टिकर टाँस्दै आएको छ । आंशिक रुपमा क्षतिग्रस्त भवनमा पँहेलो र सुरक्षित भवनमा हरियो स्टिकर टाँसेको छ ।

अहिले राजधानीमा ८ वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् । एभरेष्ट बाहेक सबै होटलमा भूकम्पको क्षति निकै कम पुगेको इञ्जिनियर अधिकारीको भनाई छ ।

पाँचतारे होटल सोल्टी क्राउन प्लाजा, र्‍याडिसन, सांग्रिला, अन्नपूर्ण, हायत होटलमा हरियो स्टिकर टाँसिएको छ । ‘लैनचौरमा रहेको होटल मल्लमा वैशाख १२ को भूकम्पछि हरियो स्टिकर टाँसिएको छ’ अधिकारीले भने- ‘वैशाख २९ गतेको भूकम्पले के-कति क्षति पुर्‍याएको छ, अनुगमन गर्न बाँकी छ ।’

Five Star Hotel (1)अन्नपूर्ण होटलमा रहेको अन्ना क्यासिनोमा भने रातो स्टिकर टाँसिएको छ । यो भवनमा भूकम्पले ठूलो क्षति पुर्‍याएको हुँदा असुरक्षित देखिएको छ । हायत होटलमा रहेको क्यासिनो ताराको भवन चर्किएपछि पँहेलो स्टिकर टाँसिएको छ ।

ठमेलमा रहेको तीनतारे होटल मनाङमा हरियो स्टिक टाँसिएको छ । त्यस्तै, ताहाचलमा रहेका ग्रान्ड होटल, प्लाटिनम होटल र राजधानीकै अर्को अमर होटलले हरियो स्टिकर पाएका छन् ।

ठमेलमा रहेको चर्चित काठमाडौं गेष्ट हाउसका ५ ब्लकमध्ये हेरिटेज ब्लकले रातो स्टिकर पाएको छ । जस्तापाताले छाएको ब्लकले पँहेलो स्टिकर पाएको छ भने बाँकी तीन ब्लकले हरियो स्टिकर पाएका छन् ।

धुलीखेलस्थित धुलीखेल लज रिसोर्टको एउटा ब्लकमा रातो स्टिकर टाँसेको इञ्जिनियर अधिकारीले जानकारी दिए । रिसोर्टका बाँकी तीन ब्लक सुरक्षित भएको हुँदा हरियो स्टिकर टाँसिएको छ ।

ठमेलमा रहेको बजेट होटल, गोर्कण रिर्सोटको हन्टर बिल्डिङले पनि रेड स्टिकर पाएका छन् । वैशाख १२ गतेको भूकम्प यो होटल भत्किँदा धेरै जनाले ज्यान गुमाउनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment