Comments Add Comment

लिपु लेकबारे भारत-चीन सम्झौताप्रति एमाओवादी नेताको आपत्ति

१२ जेठ, काठमाडौं । चीन र भारतले लिपु लेकका सम्बन्धमा दुईपक्षीय सहमति गरेर नेपाल र नेपालीको अपमान गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आरोप लगाएका छन् ।

Narayan kaji Shresthaनेपाल-भारतवीच विवाद रहेको उक्त भूमिबारे गरिएको सहमति सच्याउन श्रेष्ठले आग्रह गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो साता गरेको चीन भ्रमणका क्रममा ४१ बूँदे सहमति सार्वजनिक गरिएको थियो । सो सहमतिको २८ औं नम्बर बुँदामा लिपु लेकको प्रशंग उल्लेख छ ।

लिपुलेक कालापानी क्षेत्रको भूमि हो, जुन भूमि नेपालको रहेको र त्यसमा भारतले अतिक्रमण गरेको नेपाली पक्षबाट आरोप लाग्दै आएको छ ।

नेपाल भारत सीमा सम्बन्धी विवादमा नवलपरासीको सुस्ता र दार्चुलाको कालापानी एवं लिम्पियाधुराको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन । यही विवादका कारण अहिलेसम्म नेपाल-भारतवीच सीमा सम्झौतामा हस्ताक्षर हुन बाँकी छ ।

दुई देशवीचको सो सहमतिको विरोध गर्दै पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भनेका छन्- ‘लिपु लेक नेपाली भूमि हो, यसलाई भारतले अतिक्रमण गरिराखेको छ । यो तथ्य चीनलाई पनि राम्रोसँग थाहा छ । भारतले समेत यसलाई विवादको विषयका रुपमा स्वीकारेको छ ।’

लिपु लेकबारे नेपाल र भारतवीच भएको सहमतिबाट आफू आश्चर्यचकित र दुःखी भएको बताउँदै श्रेष्ठले भनेका छन्-‘यस्तो अवस्थामा नेपालसँगको परामर्श र अनुमतिविना चीन र भारतले कसरी लिपु लेकसँग सम्बन्धित सम्झौता गर्न सके ? यसप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।’

श्रेष्ठले भनेका छन्-‘यसले नेपालको राष्ट्रिय सार्वभौमिकताको अवमूल्यन र नेपालीहरुको अपमान गरेको छ, लिपु लेकलाई लिएर नेपालको सहमति र संलग्नता विना कुनै सम्झौता हुन सक्दैन, चीन र भारतले उक्त सम्झौतालाई तत्काल सच्याउनुपर्छ ।’

भारतले अतिक्रमणलाई सच्याएन भने पनि चीनले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने श्रेष्ठको आग्रह छ । साथै नेपाल सरकारले पनि यसबारे तत्काल कूटनीतिक पहल गर्नुपर्ने पूर्व परराष्ट्रमन्त्री श्रेष्ठले सुझाव दिएका छन् ।

भारत र चीनले मे १५ मा सार्वजनिक गरेको सहमतिमा भारत र चीनको सीमानामा पर्ने नाथुला पास, शीपकी ला पास, लिपु लेक र खियाङ ला पासमा व्यापार विस्तार गर्न दुई देश सहमत रहेको उल्लेख छ ।

भारत र चीनवीच भएको सहमतिमा सीमा व्यापार धार्मिक पर्यटनका माध्यमबाट सम्बन्ध विस्तार गर्ने बताइएको छ । दक्षिण एशियाले अब विश्वको नेतृत्व गर्नुपर्छ भन्दै भारत र चीन मिलेर अघि बढ्न सहमत रहेको दुबै देशका प्रधानमन्त्रीले मे १५ मा प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment