Comments Add Comment

भाडामा राहत दिँदै घरबेटी

१३ जेठ, काठमाडौं । काठमाडौं बौद्धका दुर्गानाथ दाहालको घरमा ६ परिवार बहालमा बस्छन्। घर बहालबापत दाहालले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन्। तर, विनाशकारी भूकम्पपछि दाहालले आफ्नो घरमा बस्ने सबै परिवारको वैशाख महिनाको घर भाडावापतको रकम मिनाहा गरेका छन्।

‘भूकम्पका कारण सबैजना त्रिपालमा आएका समयमा मैले कसरी उहाँहरुसँग भाडा लिन सक्छु!’ दाहालले मंगलबार भने, ‘यस्तो विपत्तको समयमा उहाँहरुलाई त्यो रकमले धेरै फाइदा गर्न सक्छ। त्यसकारण मनैदेखि सहयोग गर्न भाडा नलिने निर्णय गरेको हुँ।’

काठमाडौं मनमैजुकी भवानी खतिवडाले पनि आफ्नो घरमा बस्दै आएका पाँच परिवारको एक महिनाको घरभाडा पूर्ण रुपमा छुट दिएकी छन्। भन्छिन्, ‘पैसाभन्दा ठूलो कुरा मन हो। भूकम्पले सबै जनाको ज्यान पनि जान सक्थ्यो। त्यसैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्छु भनेर भित्र आत्मादेखि नै भाडा नलिने निर्णयमा पुगेकी हुँ।’ उनले आफूजस्तै अरुले पनि बहालमा बस्ने परिवारको भाडा मिनाहा गर्न आग्रह गरेको नागरिकमा खबर छ ।

बौद्धका दाहाल र मनमैजुकी खतिवडा मात्र होइनन्, यतिबेला काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका घरबेटीले घरबहालमा बस्नेको घरभाडा मिनाहा गर्न थालेका छन्।
घरबेटीले धमाधम भाडा छुट दिने मात्र नभई आगामी एक वर्षसम्म भाडा नबढाउने तथा कतिपयले छुटसँगै आगामी महिनादेखि एक वर्षका लागि भएको भाडामा समेत केही हजार रुपैयाँ छुट दिन सुरु गरेका छन्।

पीडित परिवारको भाडा छुट गर्नुपर्ने माग राख्दै आएको डेरावाल उपभोक्ता मञ्चले यो बीचमा धेरै परिवारले धमाधम भाडा छुट दिएको खबर आइरहेको जनाएको छ। मञ्चका कोषाध्यक्ष भुवन थापाले उपत्यकाका धेरैजसो स्थानबाट भाडा छुट भएका जानकारी दैनिकजसो आउन थालेको बताए। ‘पीडित परिवारको पीडामा भाडा छुट दिएर केही घरबेटीले मलम लगाउने काम गरिरहेका छन्,’ उनले भने, ‘सबै परिवारलाई छुट दिन नसक्ने घरबेटीले प्रभावित जिल्लाका परिवारको भाडा छुट दिएर भए पनि सहयोग गरिरहनुभएको छ।’

काभ्रे, सिन्धुपाल्चोक, दोलखा जस्ता बढी प्रभावित जिल्लाका बासिन्दाको बढी बाहुल्य रहेको बौद्ध क्षेत्रको व्यापार संघले त भाडा छुट गर्नुपर्ने अभियान नै सञ्चालन गरेको छ। संघले सोमबार बुरु गरेको अभियानपश्चात सात जनाभन्दा बढी परिवारले घरभाडा छुट गरेको र एक वर्षसम्म भाडा नबढाउने निर्णयसमेत गरिसकेका छन्। संघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष दुर्गानाथ दाहालका अनुसार बौद्ध क्षेत्रमा भाडा छुट गर्छु भन्नेहरुको संख्या बढिरहेको छ।

उपत्यकाका केही घरबेटीले भाडा छुट दिइरहेका समयमा केही घरबेटीले घरभाडा बढाएको तथा बहालमा बस्नेलाई घर छाड्न धम्की दिएका गुनासासमेत आइरहेको मञ्चका कोषाध्यक्ष थापाले जानकारी दिए। उनले त्यस्ता घरबेटीलाई प्रहरीको सहयोगमा कारबाही गरिने तयारी भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment